काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउन ३१ गतेसम्ममा नेपाल सरकारको कुल राजस्व संकलन लक्ष्यको ५.८४ प्रतिशत पुगेको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको साउन ३१ सम्मको दैनिक बजेटरी विवरण अनुसार सरकारको आय व्यय अवस्था प्रारम्भिक चरणमा देखिएको हो ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउन मसान्तसम्म ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ संकलन गरेको छ ।
यसमध्ये कर राजस्वको हिस्सा ८५ अर्ब १९ करोड ०६ लाख अर्थात् ६.०७ प्रतिशत रहेको छ भने गैर-कर राजस्व ७ अर्ब ३ करोड ४७ लाख अर्थात् ३.९७ संकलन भएको छ ।
यस्तै, वैदेशिक अनुदानतर्फ सरकारले ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँको लक्ष्य राखिएकोमा हालसम्म जम्मा २४ करोड ३ लाख रुपैयाँ मात्र प्राप्त भएको छ, जुन लक्ष्यको न्यून शून्य दशमलव ३९ प्रतिशत हो ।
समग्रमा, समीक्षा अवधिमा अन्य प्राप्ति समेत गरी सरकारको कुल प्राप्ति वार्षिक लक्ष्यको ५.६९ प्रतिशत अर्थात् ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
खर्चतर्फ हेर्दा २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको कुल बजेट सीमामध्ये साउन मसान्तसम्म जम्मा १.९७ प्रतिशत अर्थात् ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ ।
खर्चको प्रकृतिलाई वर्गीकरण गर्दा चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै पछाडि देखिएको छ ।
सरकारको प्रशासनिक तथा साधारण खर्चका लागि वार्षिक १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँको लक्ष्य रहेकोमा साउन मसान्तसम्म २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ अर्थात् १.६८ खर्च भएको छ ।
विकास निर्माणसँग जोडिने पुँजीगत खर्चको अवस्था भने विगतकै जस्तो अत्यन्त कमजोर देखिएको छ । ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँको वार्षिक बजेटमध्ये साउन महिनामा जम्मा १ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन वार्षिक लक्ष्यको जम्मा शून्य दशमलव ३१ प्रतिशत मात्र हो ।
त्यस्तै, ऋणको सावाँ–ब्याज भुक्तानी लगायतका लागि ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा एक महिनामा ४.५३ प्रतिशत अर्थात् १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ ।












प्रतिक्रिया