काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको दाबी गर्दै परेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाइ भइरहेको छ।
बहसका क्रममा वरिष्ठ अधिवक्ताहरूले सामाजिक सञ्जालमा सम्बन्धित व्यक्तिले आफैं सार्वजनिक गरेको तस्बिर वा सामग्रीका आधारमा समाचार लेख्नु अपराध नहुने जिकिर गरेका छन्।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। समाचार लेखेको विषयलाई लिएर राज्यले प्रतिशोध साँध्दै श्रेष्ठलाई पक्राउ गरेको उनको दाबी छ।
रिटमाथि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सोमबार सुनुवाइ भइरहेको हो। खाजा ब्रेकअघिसम्म श्रेष्ठका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र टीकाराम भट्टराईले बहस गरे।
‘समाचार लेख्नु पत्रकारको धर्म हो’
बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले श्रेष्ठले जनआस्था पत्रिकामा प्रकाशित गरेको समाचारका विषयमा राज्यले उनलाई पक्राउ गरेको भन्दै त्यसको कानुनी आधारमाथि प्रश्न उठाए।
उनले सामाजिक सञ्जालमा सम्बन्धित व्यक्तिले आफैं सार्वजनिक गरेको तस्बिरलाई आधार बनाएर समाचार लेख्दा वैयक्तिक अधिकार हनन नहुने तर्क गरे।
‘जनआस्था पत्रिका कसैको घरमा पसेर फोटो खिचेको होइन, उहाँलाई कसैले उपलब्ध गराएको हो,’ थापाले बहसका क्रममा भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र एक युवतीबीचको चुम्बनको तस्बिर श्रेष्ठले आफैं खिचेको नभई सम्बन्धित व्यक्तिहरूले फेसबुकमा सार्वजनिक गरेको उल्लेख गर्दै थापाले सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको सामग्री समाचारका रूपमा प्रकाशन गर्दा कसरी वैयक्तिक अधिकार हनन हुन्छ भन्ने प्रश्न गरे।
थापाले श्रेष्ठले विभिन्न क्षेत्र र व्यक्तिका विषयमा समाचार लेख्दै आएको उल्लेख गर्दै पत्रकारले आफ्नो पेशागत धर्म निर्वाह गरेको जिकिर गरे।
‘किशोरजी समाचारमा हामी कसैलाई छाड्नु हुन्न। हामीलाई पनि छाड्नु हुन्न,’ उनले भने, ‘अदालत, प्रहरी, सेना, डाक्टर, नेता, वकिल र न्यायाधीश कसैलाई छाड्नु हुन्न। उहाँको समाचार लेख्ने धर्म हो, उहाँले धर्म पालना गरेको हो।’
श्रेष्ठले पत्रकारिताको धर्मअनुसार समाचार लेखेकै कारण राज्यले उनलाई पक्राउ गरेको थापाको जिकिर थियो।
बहसका क्रममा न्यायाधीश नहकुल सुवेदीले वरिष्ठ अधिवक्ता थापातर्फ लक्षित गर्दै ‘हामीलाई भनेजस्तो गरेर पत्रकारलाई सुनाउने’ भन्दै ठट्टासमेत गरेका थिए।
‘सार्वजनिक तस्बिरका आधारमा समाचार लेख्नु अपराध होइन’
श्रेष्ठका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पनि सामाजिक सञ्जालमा सम्बन्धित व्यक्तिले आफैं सार्वजनिक गरेको तस्बिर वा भिडियो व्यक्तिगत गोपनीयताको दायरामा मात्र राख्न नमिल्ने तर्क गरे।
‘सम्बन्धित व्यक्तिले आफैंले तस्बिर, भिडियो सार्वजनिक गरेपछि त्यो व्यक्तिगत हुँदैन,’ भट्टराईले बहसका क्रममा भने।
सामाजिक सञ्जालमा सम्बन्धित व्यक्तिले सार्वजनिक गरेको तस्बिरका आधारमा समाचार लेख्नु अपराध नभएको भन्दै उनले पत्रकारलाई त्यसकै आधारमा पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको जिकिर गरे।
के आरोपमा पक्राउ परेका हुन् श्रेष्ठ?
पत्रकार श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार मध्यराति पक्राउ गरेको थियो। उनलाई ललितपुरको नख्खुस्थित घरनजिकैबाट पक्राउ गरिएको हो।
एक सांसद र महिलासँग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरी त्यस विषयमा समाचार लेखेको भन्दै परेको उजुरीका आधारमा श्रेष्ठ पक्राउ परेको बताइएको छ।
श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोप लगाइएको छ।
यही पक्राउविरुद्ध उनकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रिटमाथिको सुनुवाइमा अब सरकारी पक्षको बहसपछि सर्वोच्चले श्रेष्ठको थुनाको वैधानिकताबारे आदेश दिनेछ।












प्रतिक्रिया