संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल « Khabarhub

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्ने बताएका छन् ।

मन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै शिक्षामन्त्रीका रूपमा पदबहाली गरेदेखि नै आफूले शिक्षा क्षेत्रका विषयलाई गम्भीरतापूर्वक बुझ्न ‘सुन्ने र सिक्ने’ शैली अपनाउँदै आएको उनले बताए । 

पहिलो १०० दिनमा तत्कालीन सुधार र सुशासनका लागि आवश्यक केही नियम तथा निर्देशिकामा काम गरिएको र अब मन्त्रालयको प्राथमिकता नयाँ शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन तथा उच्च शिक्षामा समसामयिक सुधारमा केन्द्रित रहेको उनको भनाइ छ ।

यसै क्रममा मन्त्रालयका प्रमुख सल्लाहकार तथा विद्यालय शिक्षा महाशाखा प्रमुखको टोलीले ‘शिक्षा संवाद’ कार्यक्रममार्फत सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाका समस्या, सुझाव र अपेक्षा सङ्कलन गरिरहेको छ ।

संवादमार्फत स्थानीय तह, शिक्षक, शिक्षा कर्मचारी, अभिभावक, विद्यालय तथा विद्यार्थीका सरोकार प्रत्यक्ष रूपमा सुन्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । 

प्रारम्भिक बाल विकास (इसिडी) सहजकर्ता, शिक्षक, विद्यालय व्यवस्थापन, विद्यालय कर्मचारी, अभिभावक तथा विद्यार्थीका समस्या र सरोकारलाई पनि संवादको प्राथमिकतामा राखिएको छ ।

स्थानीय तहको भूमिका, विद्यालय व्यवस्थापनका चुनौती तथा शिक्षा क्षेत्रका विविध नीतिगत समस्याबारे प्राप्त सुझावलाई आगामी सुधारको आधार बनाइने मन्त्री पोखरेलले बताए ।

भौतिक रूपमा संवाद कार्यक्रममा सहभागी हुन नसक्ने सरोकारवालाले ‘शिक्षा संवाद: सुझाव, समस्या तथा अपेक्षा सङ्कलन फारम’ मार्फत आफ्ना सुझाव, समस्या र अपेक्षा पठाउन सक्ने व्यवस्था गरिएको छ । प्राप्त सुझावलाई नीति निर्माणको प्रक्रियामा समेटिने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, शिक्षा विभागले सातै प्रदेशमा स्थानीय सरकारलाई समेत सहभागी गराई शिक्षा विधेयकका विषयमा सुझाव सङ्कलन गर्ने तयारी गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप परिवर्तनका लागि गठित विज्ञ टोलीले समेत आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जनाइएको छ ।

मन्त्री पोखरेलले सबै सरोकारवालाको कुरा सुन्दै, आवश्यक विषयमा विज्ञबाट सिक्दै र तथ्यका आधारमा निर्णय गरी शिक्षा विधेयकको काम शीघ्र टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्न मन्त्रालय स्पष्ट र दृढ रहेको बताए  । ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन ९८५१०१४००६ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ३ : १७ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि