जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप « Khabarhub

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप बढ्न थालेको छ । जटिल प्रसूति अवस्था, आपतकालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन थालेका कारण चाप बढेको हो । 

आधारभूत १५ श्ययाका जिल्ला अस्पतालले दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै सुलभ दरमा भरपर्दो सेवा दिन थालेका कारण अस्पतालप्रति जिल्लावासीको विश्वास बढ्दै गएको छ । 

बाजुरा देशकै दुर्गम हिमाली जिल्ला हो । यसअघि बाजुरावासी शल्यक्रिया गर्न जिल्ला बाहिर जानुपर्दथ्यो । सीमित जनशक्ति, औषधि, उपकरण र स्रोतसाधनका बीच अस्पतालले विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि यहाँ आउने बिरामीको सङ्ख्यासमेत बढ्न थालेको छ ।

जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले प्रभावकारी विशेषज्ञ सेवा दिन सुरु भएदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको बताए। अस्पतालमा हुम्ला, मुगुलगायत छिमेकी जिल्लाबाट दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
  
हाल एमडिजिपी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ।

‘विशेषज्ञ चिकित्सकको अभावमा विभिन्न सेवासँगै शल्यक्रियाका लागि धनगढी, काठमाडौँसम्म जानुपर्ने अवस्थाको अन्त्य भएको छ’, सूचना अधिकारी गिरीले भने, ‘अहिले अधिकांश जटिल शल्यक्रियासमेत यहीँ सफलतापूर्वक भइरहेका छन् ।’

दैनिक ओपिडी तथा शल्यक्रिया सेवासँगै चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ । यहाँ बालरोग, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक, कान, घाँटी, मानसिक स्वास्थ्य तथा अन्य आकस्मिक अवस्थाका बिरामीको उपचार हुने गरेको उनले बताए।

सीमित स्रोतसाधनका बीच जिल्ला अस्पतालले निरन्तर जीवनरक्षक तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिशबहादुर मल्लले बताए। 

सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा अस्पतालमै विशेषज्ञ चिकित्सकसहितका सेवा सञ्चालन भएपछि स्थानीयवासीलाई ठूलो राहत मिलेको बताइन्छ । 

जिल्ला अस्पतालमा एक वर्षमा करिब ३५ हजार बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०८२-८३ मा ३४ हजार ९५५ जना नागरिकको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । सो अवधिमा ३५१ जनालाई  बाहिर रिफर गरिएको थियो । 

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म जिल्ला अस्पतालमा छ हजार ४६१ जना बिरामीले उपचार सेवा पाएका छन् । यहाँ जिल्लाका नौवटै स्थानीय तहसँगै छिमेकी जिल्ला मुगु, कालीकोट र हुम्लाका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् । 

त्यस्तै, चालु आर्थिक वर्षको दुई महिनामा मात्रै १३९ जनाको हाडजोर्नीसम्बन्धी सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

यहाँको जिल्ला अस्पतालमा हाल एक जना मेडिकल सुपरिटेन्डेन्ट (नवौँ तह) र एक जना आठौँ तहको डाक्टरसहित कूल १८ जनाको दरबन्दी छ । तर अहिले निमित्त मेडिकल सुपरिटेन्डेन्ट ९आठौँ तह० सहित जम्मा नौ जनाले काम गर्छन्। 

बाँकी मेडिकल अधिकृतसहित ८९ जना करार सेवाका कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ । 

‘संरचना पर्याप्त छ, ५० श्ययाको अस्पताल हुनुपर्नेमा १५ श्ययाको मात्रै हुँदा कर्मचारी पनि कम छन्,’ उनले भने, ‘केही सेवा थप्यौँ, तर कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ ।’

डाक्टर मल्लले सुदूरपश्चिम प्रदेश सरकारले तत्काल जिल्ला अस्पताललाई ५० श्ययामा स्तरोन्नति गरे दुर्गमका नागरिकलाई ठूलो राहत पुग्ने बताए। 

अस्पतालको भौतिक संरचना र सेवा विस्तारको तुलनामा जनशक्ति तथा दरबन्दी पर्याप्त नहुँदा उपलब्ध स्रोत–साधनबाटै सेवा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

दुई महिनापछि एमडिजिपी सेवा

हालै सुदूरपश्चिम प्रदेश सरकारले एमडिजिपी डाक्टर राहुल श्रेष्ठलाई छात्रवृत्ति करारमा खटाएपछि सेवा प्रवाहमा थप सहजता भएको अस्पतालका प्रमुख डाक्टर मल्लले बताए।

उनका अनुसार अर्थोपेडिक सर्जनको नियमित उपस्थितिले हाडजोर्नी तथा नसा रोगसम्बन्धी उपचार र शल्यक्रिया सेवामा थप सहजता भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेशको बजेट नआउँदा औषधि खरिद प्रक्रिया प्रभावित 

सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आर्थिक वर्षको बजेट नआउँदा औषधि खरिद प्रक्रिया अघि बढाउन समस्या भएको र अहिले जिल्ला अस्पतालमा निःशुल्क औषधिको अभाव हुने अवस्था सिर्जना भएको अस्पताल प्रमुख डा हरिशबहादुर मल्लले जानकारी दिए ।

‘फार्मेसीमा  पर्याप्त औषधि छ,’ उनले भने, ‘९८ प्रकारका निःशुल्क औषधि दिनुपर्नेमा करिब ५० प्रकारका औषधि निःशुल्क दिन्छौँ, खरिद गर्न बजेट नहुँदा समस्या भएको छ ।’

अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि औषधि, उपकरण र जनशक्तिको व्यवस्थापनमा समस्या देखिएको छ । निःशुल्क औषधिको मौज्दातसमेत घट्दै जानथालेको छ । त्यसको प्रत्यक्ष असर दुर्गमका नागरिकमा पर्छ । 

भौतिक संरचना, विशेषज्ञ सेवा र शल्यक्रिया सेवामा क्रमशः सुधार हुँदै गए पनि पर्याप्त जनशक्ति, नियमित औषधि आपूर्ति, अत्याधुनिक उपकरण तथा बजेट व्यवस्थापन जिल्ला अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन् । 

दुर्गमका नागरिकले लाखौँ रुपैयाँ खर्च गरेर सामान्य उपचारदेखि जटिल प्रकृतिका स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अझै कम गर्न सकिने देखिन्छ । 
    
यद्यपि जिल्ला अस्पताल प्रशासन र व्यवस्थापन समितिको लापर्वाहीका कारण बिरामीको उपचारका लागि समयमै डाक्टर नआउने, बिरामीले विभिन्न दुःख भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै पटकपटक अस्पतालको विरोध पनि हुँदै आएको छ । 

विगतको तुलनामा अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिरहेको भए पनि पर्याप्त विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण, नियमित औषधि आपूर्ति तथा व्यवस्थापकीय पक्षलाई थप बलियो बनाउनुपर्ने स्थानीय विष्णु कार्कीले बताए।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ३ : ३० बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा