दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनको तयारी दोलखामा तीव्र बनेको छ। जिल्लाका ९ स्थानीय तहअन्तर्गत ७४ वडामा हुने अधिवेशनलाई लिएर कांग्रेसका दुवै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन्।
केन्द्रीय तहमा संस्थापन र इतर समूहबीच महाधिवेशनको कार्यतालिका र वैधानिकतालाई लिएर विवाद चलिरहेका बेला त्यसको प्रभाव दोलखामा समेत देखिएको छ। वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला तहका नेताहरू अधिवेशनको तयारीमा सक्रिय भएका छन्।
देउवा पक्षनिकट पूर्व केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले १५औँ महाधिवेशनलाई लक्षित गर्दै बिहीबार सदरमुकाम चरिकोटमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेका छन्। काफ्लेले कार्यालय स्थापना गरेसँगै जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि थप चर्चामा आएको छ।
यता, विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज ३ गतेदेखि हुने वडा अधिवेशनलाई वर्तमान जिल्ला कार्यसमिति, वडा तथा पालिका समितिले आधिकारिक अधिवेशनका रूपमा लिएर तयारी अघि बढाएका छन्।
कांग्रेस दोलखामा सक्रिय जिल्लास्तरका अधिकांश नेता संस्थापन पक्षले अघि सारेको अधिवेशनको तयारीमा केन्द्रित देखिएका छन्। पूर्वकेन्द्रीय कार्यसम्पादन समिति सदस्य जिपछिरिङ लामा, केन्दिय सदस्य अजयबाबु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, पूर्व पार्टी सभापति उद्धवराज काफ्ले, जिल्ला कार्यसमितिका उपसभापति छवि लामा र अर्जुनप्रसाद शिवाकोटी, केशवराज चौलागाईं, कांग्रेस नेत्री सिर्जना सुवेदी कल्पना उप्रेती, बिनिता अधिकारी, लेमु दाहाल, लगायतका नेताहरू संस्थापन पक्षको अधिवेशन प्रक्रियामा सक्रिय छन्।
त्यस्तै जिल्ला कार्यसमितिका सचिव तथा सदस्यहरू, दुवै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, ९ पालिका सभापति र ७४ वटै वडा सभापति पनि असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनको तयारीमा केन्द्रित छन्।
दोलखामा केही जिल्लास्तरीय नेताहरू भने अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन्। पूर्व जिल्ला सभापति ताराबहादुर कोइराला, रोचना उप्रेती, भवेन्द्र कार्की, गोपी शिवाकोटी, राजु उप्रेती र सुवास लामा लगायतका नेताहरूको पछिल्लो राजनीतिक धारणा स्पष्ट रूपमा सार्वजनिक भएको छैन।
पूर्व जिल्ला सभापति रुद्रबहादुर खड्का, पूर्व केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, महाधिवेशन प्रतिनिधि कुमार अधिकारी, प्रभुराम श्रेष्ठ र नेता ताराकुमार खड्कालगायत केही नेताहरू भने देउवा पक्षमा खुलेर देखिएका छन्।
यसैबीच नेपाली कांग्रेस दोलखाले संस्थापन र इतर समूहका नेताहरूलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले शुक्रबार सदरमुकाम चरिकोटमा संयुक्त बैठक बोलाएको छ। बैठकमा दुवै पक्षका नेता तथा कार्यकर्तालाई सहभागी हुन जिल्ला सभापति बर्मा लामाले आह्वान गरेका छन्।
अधिवेशनलाई लिएर जिल्लामा देखिएको आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयासस्वरूप संयुक्त बैठक बोलाइएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ।
केन्द्रमा कांग्रेसभित्र महाधिवेशनको कार्यतालिकालाई लिएर फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला दोलखामा भने वडा अधिवेशनको तयारीसँगै नेताहरूको राजनीतिक ध्रुवीकरणसमेत देखिन थालेको छ। असोज ३ र ४ गते हुने वडा अधिवेशनले जिल्लामा कांग्रेसको आगामी राजनीतिक समीकरणमा पार्ने प्रभावलाई चासोका साथ हेरिएको छ।













प्रतिक्रिया