दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो विविधताभित्र दसैँ मनाउने शैली र संस्कृति ठाउँ अनुसार फरकफरक छन् । सुदूरपश्चिम प्रदेशको बैतडीमा दसैँलाई रमाइलो र पारिवारिक जमघटको पर्वका रूपमा मात्र नभई धार्मिक आस्था र परम्परासँग जोडेर मनाउने गरिन्छ । दसैँ तथा तिहारको समयमा जिल्लाका विभिन्न शक्तिपीठमा पूजाआजा र जात्राको उत्सव हुने गर्छ ।
शक्तिपीठमा हुने पूजा र जात्रालाई यहाँका स्थानीयले उत्सव मनाउँछन् । बैतडीका निङ्गलाशैनी भगवती मन्दिर, पाटनको उदयदेव मन्दिर, मेलौली भगवती मन्दिर, शिवनाथ, गिरेगाडा, रौलेश्वर भगवती र त्रिपुरासुन्दरीलगायतका धार्मिक स्थलमा दसैँका अवसरमा विशेष पूजाआजा तथा जात्रा आयोजना हुन्छ । यी शक्तिपीठमा भाकल पूरा गर्न र पूजाआराधना गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला, तराईका क्षेत्र तथा भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु आउने गर्छन् ।
बैतडीमा दसैँलाई मनोरञ्जनभन्दा पनि धार्मिक आस्था र भाकलसँग जोडेर मनाउने परम्परा छ । मनोकामना पूरा भएपछि श्रद्धालुले शक्तिपीठमा पुगेर परम्पराअनुसार बलि चढाउने, ध्वजा र घण्ट चढाउने तथा देवीदेवताका मूर्ति अर्पण गर्ने गर्छन् । यसरी पूजा तथा भेटी चढाउँदा मनोकामना पूरा हुने र देवीदेवताको कृपा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
जिल्लाका विभिन्न शक्तिपीठमा लाग्ने जात्रा, परम्परागत पूजा विधि र श्रद्धालुको सहभागिताले दसैँलाई विशिष्ट धार्मिक तथा सांस्कृतिक पहिचान दिएको छ ।
निंगलाशैनी भगवती मन्दिर
निङ्गलाशैनी मन्दिरमा परापूर्वकालदेखि नै बलि चढाउने परम्परा रहिआएको मन्दिरका पुजारी लोकराज भट्ट बताउँछन् । बैतडीको देहीमाडौँमा रहेको यो मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । विशेषगरी भारतको पिथौरागढसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भक्तजन यहाँ आएर पूजाआजा गर्ने गरेको भट्टले बताए ।

स्थानीय अम्बादत्त भट्टका अनुसार मन्दिरमा पञ्चमीकै दिनदेखि भाकलअनुसार बोका र राँगा ल्याएर राख्ने चलन छ । अष्टमीका दिन विधिपूर्वक बलि चढाइन्छ । बलि दिनुअघि भाकल गर्ने व्यक्ति चोखो र भोको रहेर बोका तथा राँगालाई सिंगार्ने, फूलमाला र अबिरले पूजा गर्ने र त्यसपछि मात्रै घरबाट निकाल्ने परम्परा छ। बाजागाजासहित पशुलाई मन्दिरसम्म लगिने उनले जानकारी दिए ।

‘बलि दिँदा परिवारका सबै सदस्य खुसी हुनुपर्छ । परिवार दुःखी भए देवी प्रफुल्ल नहुने धार्मिक विश्वास छ,’ भट्टले भने ।
मन्दिरमा प्राचीन शिलालेख, ताम्रपत्र, मूर्ति, घण्ट, परम्परागत बाजागाजा, देवीका गरगहना तथा पूजामा प्रयोग हुने विभिन्न भाँडाकुँडा छन् । यी सामग्रीको आफ्नै ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ।
यस भगवती मन्दिरमा एक वर्षमा चार पटक जात्रा लाग्ने गर्दछ । असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ ।
मन्दिर रहेको क्षेत्रमा बाक्लो निगालोको झ्याङ र जङ्गल थियो। त्यहाँ गाई चराउन लैजाँदा एउटा दुहुना गाईले निगालोको झ्याङभित्र रहेको शिलामा आफैँ दूध चढाउने गरेको कथन छ।
गाईले दूध नदिएको शङ्कामा त्यसको कारण खोज्दै जाँदा गोठालाले निगालोको झ्याङमा हँसिया प्रहार गरेको र त्यहाँबाट रगत बगेको देखेपछि उनले आफ्नो ओढ्ने कपडाले त्यो ठाउँ छोपेको किंवदन्ती छ। त्यसपछि उक्त शिलालाई देवी भगवतीको स्वरूप मानेर पूजा गर्न थालिएको विश्वास गरिन्छ।
उदयदेव मन्दिर
बैतडीको पाटनमा अवस्थित उदयदेव मन्दिरमा दसैँका अवसरमा बलि चढाउने परम्परा छ। मन्दिरका पुजारी लवदेव जोशीका अनुसार भक्तजनले भाकल गरेअनुसार मनोकामना पूरा भएपछि राँगा तथा बोकाको बलि चढाउने चलन छ।
उनका अनुसार उदयदेव मन्दिरमा मुख्य पूजा चैत महिनाको महाअष्टमीमा हुने गर्छ। त्यसैगरी, असोज महिनामा पर्ने बडादसैँको नवरात्रमा पनि मन्दिरमा विशेष पूजाआजा गरिन्छ।

नवरात्रका अवसरमा स्थानीय सात बहिनी दुर्गा देवीहरू सिग्लासैनी, बोदलासैनी, पोटलासैनी, भगासैनी, भरणसैनी, रणसैनी र निङ्गलासैनीको विधिपूर्वक आवाहन तथा पूजा गरिन्छ। यस क्रममा ब्राह्मणद्वारा दुर्गा सप्तशती पाठ गर्नुका साथै हवनसमेत गरिने पुजारी जोशीले बताए।
यस्तै मन्दिरमै जमरा छर्ने र दसैँका अवसरमा मन्दिरबाटै टीका तथा जमरा प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। यहाँ घरमै जमरा छर्ने चलन तुलनात्मक रूपमा कम रहेको छ। अधिकांश भक्तजनले मन्दिरमै पुगेर टीका तथा जमरा लगाउने र प्रसाद ग्रहण गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्।
बैतडीका विभिन्न शक्तिपीठ तथा भगवती मन्दिरमा पशुबलि चढाएर बडादसैँ मनाउने परम्परा छ। जिल्लाका मेलौली भगवती मन्दिर, त्रिपुरासुन्दरी (रणसैनी) भगवती मन्दिर, डिलासैनी भगवती मन्दिर, कफलाशैनी भगवती मन्दिरलगायतका धार्मिक स्थलमा दसैँको नवरात्रका अवसरमा विशेष पूजाआजा गरिन्छ। यी मन्दिरमा भक्तजनले आफ्नो मनोकामना पूरा होस् भनी भाकल गर्ने र भाकल पूरा भएपछि राँगा, बोका लगायतका पशुको बलि चढाउने चलन छ।
दसैँका अवसरमा मन्दिरमा विधिपूर्वक पूजा, दुर्गा सप्तशती पाठ तथा अन्य धार्मिक अनुष्ठान गरिनुका साथै जात्रा र मेलासमेत आयोजना हुन्छन्। नवरात्रको महाअष्टमी र महानवमीका दिन विशेष चहलपहल हुने यी मन्दिरमा बैतडीसहित आसपासका जिल्लाबाट समेत भक्तजन दर्शन तथा पूजाआजाका लागि पुग्ने गर्छन्।
दसैँमा कामको चटारो
चाडपर्वको चहलपहल बढेसँगै गाउँघरमा कामको चटारो पनि उत्तिकै बढेको छ। बाली भित्र्याउने समय भएकाले किसानलाई खेतबारीको काम भ्याइनभ्याइ छ। त्यसमाथि अहिले खर काट्ने समय पनि सुरु भएकाले स्थानीयलाई दसैँको रमझमभन्दा काम सक्ने हतारो बढी छ।
स्थानीयहरू यतिबेला खर काट्ने, खेतमा पाकेको बाली भित्र्याउने, घर लिपपोत गर्ने र गहुँ छर्नका लागि खेत तयार पार्ने काममा व्यस्त छन्। वर्षभरि गरेको मिहिनेत खेर जान नदिन समयमै बाली भित्र्याउनुपर्ने भएकाले उनीहरूलाई चाडपर्व मनाउनुभन्दा पहिले कामको चिन्ता छ।
स्थानीय दिपा भुललाई पनि यतिबेला दसैँ आएको खासै महसुस भएको छैन। कामको चटारोले गर्दा चाडपर्वको रमझममा रमाउने फुर्सद नै नभएको उनी बताउँछिन्।
‘पहिले काम सकाउँछु, त्यसपछि मात्रै दसैँ मनाउँछु। अहिले खर काटिरहेका छौँ। कहिले घाम लाग्छ, कहिले पानी पर्छ। काटेर मात्रै भएन, राम्रोसँग सुक्न पनि पाउनुपर्छ। नत्र कुहिने डर हुन्छ,’ उनले भनिन्।
उनका अनुसार खेतमा भटमास काट्न बाँकी छ भने दाल तथा अन्य बाली पनि भित्र्याउने बेला भएको छ। त्यसैगरी, गहुँ छर्ने समयसमेत नजिकिएकाले खेतबारीको काम सक्नुपर्ने दबाब छ।
‘खेतका काम धेरै बाँकी छन्। भटमास काट्नै छ, दाल तथा अरू बाली भित्र्याउनै छ। अब गहुँ छर्ने बेला पनि भइसक्यो। कामको चटारोले गर्दा दसैँ आएको महसुस नै हुन पाएको छैन,’ भुलले भनिन्।
यसरी गाउँघरमा दसैँको रौनक बढ्दै गए पनि किसानहरू भने बाली भित्र्याउने र हिउँदे खेतीको तयारी गर्ने काममा व्यस्त छन्। उनीहरूका लागि दसैँ मनाउनुअघि खेतीपातीको काम सक्नु पहिलो प्राथमिकता बनेको छ।
गाउँमा पहिलेजस्तो छैन दसैँको रौनक
पछिल्लो समय बदलिँदो जीवनशैली र गाउँबाट तराई तथा सहरतिर बसाइँ सर्ने क्रम बढेसँगै गाउँघरमा दसैँको रौनक पनि पहिलेको जस्तो देखिन छाडेको छ। कुनै समय दसैँ आउनुअघि नै गाउँघरमा चहलपहल बढ्ने, टाढाटाढा रहेका आफन्त घर फर्किने र गाउँभरि उत्साह छाउने गरे पनि अहिले त्यो दृश्य कम हुँदै गएको छ।
रोजगारी, शिक्षा तथा अन्य अवसरको खोजीमा गाउँ छाडेर तराई र सहरमा बसोबास गर्नेको सङ्ख्या बढेकाले चाडपर्वका बेला पनि गाउँमा पहिलेको जस्तो भीडभाड देखिँदैन। यद्यपि, कुलदेवताको पूजा तथा आफ्नो परम्परा र संस्कृतिलाई निरन्तरता दिनुपर्ने मान्यताका कारण कतिपय मानिस दसैँका बेला पुर्ख्यौली थलो फर्किने गर्छन्।
मानमति चन्द पाँच वर्षअघि नै तराई झरेकी हुन्। तर, दसैँजस्ता चाडपर्वका बेला उनी गाउँ पुग्ने गर्छिन्। चाडपर्वमा आफ्नो देवीदेवताको पूजाआजा गर्नुपर्ने धार्मिक तथा सांस्कृतिक मान्यताका कारण गाउँ फर्किने गरेको उनी बताउँछिन्। उनका लागि दसैँ परिवारसँग भेटघाट गर्ने अवसर मात्र नभई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोडिने समय पनि हो।
यस्तै, बैतडी भारतसँगको सीमावर्ती जिल्ला भएकाले यहाँका धेरै मानिस रोजगारीका लागि भारत जाने गरेका छन्। रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेका उनीहरू पनि दसैँका बेला घर फर्किने गर्छन्। उनीहरूको आगमनले चाडपर्वका बेला गाउँमा केही चहलपहल बढाए पनि बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँको पुरानो रौनक घट्दै गएको स्थानीयको अनुभव छ।
रोजगारीका लागि परिवारका सदस्य परदेश पुग्दा घर खर्च त सजिलै चलेको होला, दसैँका लागि मीठो खाने र नयाँ लुगा लगाउने सपना पूरा भएको होला तर परिवारका सदस्य सबै सँगसँगै बसेर दसैँ मनाउने र खुसी साट्ने एउटा सुन्दर अवसर हरेक बाबु-आमा, छोरा-छोरी, श्रीमान-श्रीमती, दाजु-भाइ, दिदी-बहीनी र चेली-माइतीले गुमाएका छन् ।
प्रविधिको विकास र उपयोगसँगै परिवारका दु:ख र सुखी फेरिएका छन् । समयसँगै जीवनशैली र बसोबासको प्रवृत्ति बदलिँदा गाउँमा दसैँ मनाउने शैली पनि परिवर्तन भएको छ। परम्परा र संस्कृतिप्रतिको आस्थाले मानिसलाई चाडपर्वमा गाउँ फर्काइरहे पनि पहिलेको जस्तो सामूहिक उत्साह, चहलपहल र रमझम भने कम हुँदै गएको देखिन्छ।
एक दशक अघिसम्म सहरबाट गाउँ पुग्ने लहरले दसैँको उत्साह छुट्दै हुन्थ्यो । हरेक घरका परिवारका सदस्य देशका सहरमा मात्र होइन विश्वका कुनाकुनामा छरिएका छन् । कोही खाडी पुग्दा कोही यूरोप, अमेरिका र अफ्रिका पुगेका छन् । रोजगारीका लागि परिवारका सदस्य परदेश पुग्दा घर खर्च त सजिलै चलेको होला, दसैँका लागि मीठो खाने र नयाँ लुगा लगाउने सपना पूरा भएको होला तर परिवारका सदस्य सबै सँगसँगै बसेर दसैँ मनाउने र खुसी साट्ने एउटा सुन्दर अवसर हरेक बाबु-आमा, छोरा-छोरी, श्रीमान-श्रीमती, दाजु-भाइ, दिदी-बहीनी र चेली-माइतीले गुमाएका छन् ।














प्रतिक्रिया