सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा « Khabarhub

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गमा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ नयाँ पुल निर्माण भइरहेको हो । अपस्ट्रिम र डाउनस्ट्रिम नाम दिइएका दुवै पुल १९० मिटर लम्बाइका छन् ।

पुल निर्माणका लागि २०७९ भदौ २६ गते रु एक अर्ब सात करोडमा ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको उक्त पुलको ठेक्का एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको हो ।

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको जानकारी दिए। निर्माणका क्रममा देखिएका अवरोध हटिसकेकाले निर्धारित म्यादभित्रै काम सम्पन्न हुने उनले बताए ।

‘पुल अब म्यादभित्रै सम्पन्न हुन्छ । काममा कुनै अवरोध छैन । घरटहराको मुआब्जालगायत विषयसमेत टुङ्गो लागेर सम्बन्धित व्यक्तिले रकम बुझिसक्नुभएको छ’, उनले भने ।

निर्माण कम्पनीका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सम्पन्न भइसकेको छ भने चारवटा टावर (पाइलन) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब मुख्य रूपमा पुललाई अड्याउने स्टे केबलमा तनाव दिने (स्ट्रेसिङ) काममा ध्यान केन्द्रित गरिएको छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि विभिन्न समस्याका कारण निर्धारित समयमा काम पूरा हुन नसकेपछि म्याद थप गरिएको थियो । हाल निर्माणको म्याद आगामी फागुन २१ गतेसम्म कायम छ ।

आयोजना प्रमुख कुँवरका अनुसार चीनबाट आवश्यक जनशक्ति ल्याउनुपर्ने र चिनियाँ कामदारबाट इन्जिनियरिङबाहेकका काम गराउन कठिन हुने अवस्थाले निर्माणमा ढिलाइ भएको हो । निर्माण सामग्री चीनबाट ल्याउन भएको ढिलाइ र खानेपानीका पाइप स्थानान्तरण गर्नुपर्नेलगायत समस्याले पनि काम प्रभावित भएको थियो ।

त्यसैगरी, सेती नदीको उत्तरी भागमा सडक पहुँच व्यवस्थापन, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी समस्याले निर्माणमा अवरोध सिर्जना गरेको थियो । एसियाली विकास बैंकको नीतिअनुसार सम्बन्धित जग्गाधनी तथा व्यवसायीलाई सडक पहुँच उपलब्ध गराउनुपर्ने भएपछि दुईवटा घर भत्काउनुपरेको थियो ।

मुआब्जाको विषयमा प्रशासनले निर्धारण गरेको रकमप्रति असन्तुष्टि जनाउँदै केही जग्गाधनीले रकम बुझ्न नमानेपछि निर्माण प्रभावित भएको थियो । लामो प्रयासपछि सहमति जुटेकाले अहिले पुलको माथिल्लो भागमा समेत काम गर्न समस्या नरहेको आयोजना प्रमुख कुँवरले बताए।

सेती नदीमाथिको हालको पुल विसं २०३२ मा निर्माण गरिएको हो । पुरानो पुल साँघुरो भएपछि सवारी आवागमन सहज बनाउने उद्देश्यले त्यसको दायाँ र बायाँतर्फ थप एक–एकवटा पक्की पुल निर्माण थालिएको हो ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  १० : ३४ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार