काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा चहलपहल बढेको छ । फूलपातीका लागि आवश्यक पूजासामग्री खरिद गर्न असन, इन्द्रचोक र मारु गणेश क्षेत्रमा बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ ।

फूलपातीका लागि आवश्यक फूल, पाती, उखु, अदुवाको बोट, केराको बोटलगायत सामग्री खरिद गर्न उपभोक्ता बजारमा पुगेका छन् । दसैँको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार घरमा फूलपाती भित्र्याउने तयारी भइरहेकाले बजारमा किनमेल गर्नेको चहलपहल बढेको हो ।
नेपालीको प्रमुख चाड बडादसैँमा फूलपातीको विशेष धार्मिक महत्त्व छ । आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीमा विभिन्न वनस्पति तथा फूलपातीलाई विधिपूर्वक घरमा भित्र्याएर दसैँघरमा स्थापना गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार फूलपाती भित्र्याएर दुर्गा भवानीको पूजा आराधना गर्दा घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । यही परम्पराअनुसार आवश्यक सामग्री जुटाउन सर्वसाधारण व्यस्त हुँदा दसैँको रौनकसँगै पुराना बजार क्षेत्रमा चहलपहल बढेको छ ।





















प्रतिक्रिया