काठमाडौँ – कुनै समय बजारसम्म पुर्याउने बाटो नहुँदा बोटमै कुहिएर खेर जाने जुम्लाको स्याउ अहिले व्यावसायिक उत्पादन र बजारीकरणसँगै किसानको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ।
आधुनिक खेती प्रविधि, सिँचाइ सुविधा, कृषक तालिम र सहकारीमार्फत बजार व्यवस्थापन हुन थालेपछि जुम्ली स्याउको उत्पादन र गुणस्तरमा सुधार आएको छ।

कर्णाली राजमार्गले सुर्खेत र जुम्लालाई जोडेपछि जुम्लाको स्याउले बजारसम्म पहुँच पाएको हो। पछिल्ला वर्षमा देशका विभिन्न सहरमा जुम्ली स्याउको माग बढ्दै गएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत सञ्चालित कृषि–खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा परियोजना (रेरास) को आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय सहकारीको सक्रियताले स्याउ खेतीलाई व्यावसायिक बनाउन सहयोग गरेको छ।
पहिले किसानले स्याउ टिप्दा हाँगा तानेर भाँच्ने गर्दा अर्को वर्ष फल लाग्ने कोपिलामा समेत क्षति पुग्ने गरेको थियो। अहिले रेरासको सहयोगमा सञ्चालित कृषक पाठशालाबाट बगैँचा व्यवस्थापनको तालिम पाएपछि किसानले हाँगा र कोपिला सुरक्षित राख्दै उपकरणको प्रयोगबाट सावधानीपूर्वक स्याउ टिप्न थालेका छन्।

पातारासी गाउँपालिका–४ की किसान चन्नरूपा बुढाले यस वर्ष आफ्नो बगैँचाबाट १२ क्विन्टल स्याउ बजारमा बिक्री गरेकी छन्। अघिल्लो वर्ष पाँच क्विन्टल स्याउ उत्पादन गरेकी उनले यस वर्ष उत्पादन बढेसँगै आम्दानीसमेत बढेको बताइन्।
‘पहिले कहिले एक क्विन्टल त कहिले एक डोको स्याउ फल्थ्यो। पोहोर पाँच क्विन्टल फल्यो। एक क्विन्टल राखेर अरू बेच्यौँ। यो वर्ष १२ क्विन्टल बेच्यौँ र दुई क्विन्टल आफैँले खान राख्यौँ,’ उनले भनिन्।

सिँचाइको अभावमा रोगकिराको प्रकोप र साना दानाको समस्या झेल्दै आएका तातोपानी गाउँपालिका–४ धौलापानीका किसानले पनि आधुनिक प्रविधिको प्रयोगपछि उत्पादन बढाएका छन्। विद्युतमा आधारित लिफ्ट सिँचाइ र पानीसँगै जैविक मल प्रयोग गर्ने फर्टिगेसन प्रविधि अपनाएपछि स्याउ बगैँचामा नियमित सिँचाइ सम्भव भएको छ।
६२ परिवारले सामूहिक रूपमा सञ्चालन गरेको उक्त बगैँचामा स्याउ उत्पादन गत वर्षको ३० टनबाट बढेर यस वर्ष ५५ टन पुगेको छ। सिँचाइ र बगैँचा व्यवस्थापनमा सुधार आएपछि स्याउको आकार, रङ र गुणस्तरमा समेत सकारात्मक परिवर्तन आएको किसानको अनुभव छ।

धौलापानीकी किसान पवित्रा अधिकारी न्यौपानेले कृषक पाठशालाबाट रोगकिराको पहिचान, काँटछाँट, सिँचाइ र उपचार विधिबारे सिकेपछि बगैँचा व्यवस्थापन सहज भएको बताइन्।
‘पहिले रोगकिरा लागेको हाँगा छुट्याउन सक्दैनथ्यौँ। रोग र किरा के हो, हाँगा किन सुक्यो भन्ने थाहा हुँदैनथ्यो। अहिले रोगको पहिचान गरेर काँटछाँट, सिँचाइ र व्यवस्थापन गर्न सकेका छौँ,’ उनले भनिन्।
यसअघि व्यापारीले उचित मूल्य नदिँदा किसानले प्रतिकिलो ४० रुपैयाँसम्ममा स्याउ बेच्नुपर्ने अवस्था थियो। अहिले सहकारीले बजार व्यवस्थापनको जिम्मेवारी लिएपछि किसानले राम्रो मूल्य पाउन थालेका छन्। यस वर्ष चन्दननाथ र पञ्चेश्वर सहकारीले स्याउ किसान समूहसँग खरिद–बिक्री सम्झौता गरी बगैँचाबाटै प्रतिकिलो ८० रुपैयाँमा स्याउ खरिद गरेका छन्।

यसले किसानलाई बजार खोज्नुपर्ने झन्झट कम गर्नुका साथै बिचौलियामा निर्भरता घटाएको छ। अन्य जिल्लामा उत्पादित स्याउलाई समेत ‘जुम्ली स्याउ’ भनेर बिक्री गर्ने क्रम बढेपछि स्थानीय उत्पादनको पहिचान जोगाउन गाउँपालिकाले ग्रेडिङ र प्याकेजिङमा आधिकारिक लोगो तथा क्युआर कोडसहितको विशेष कार्टुन प्रयोगलाई अनिवार्य गरेको छ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पछिल्ला दुई वर्षमा स्याउ उत्पादन, बजारीकरण, रोजगारी र आयआर्जनमा उल्लेख्य सुधार आएको बताए। सिँचाइ, मल, घेरबार र बगैँचा व्यवस्थापनमा परियोजनाले सहयोग गरेको उनको भनाइ छ।

रेरासको सहयोगमा कोसेली घर, बीउबिजन बैंक र १० टन क्षमताको कोल्ड च्याम्बरसमेत स्थापना गरिएको अध्यक्ष चौलागाईंले जानकारी दिए। यी संरचनाले स्याउको भण्डारण, बजारीकरण र किसानको आयआर्जनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया