वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
गत महिना कानुन बनेको ग्राहम ऐनले दिएको अधिकार प्रयोग नगर्ने निर्णयसँगै रुसी ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा परिवर्तन आएको छ ।
अमेरिकी सिनेटर लिन्डसे ग्राहमको नाममा रहेको उक्त ऐनले रुसी तेल र ग्यासका प्रमुख खरिदकर्तामाथि १०० प्रतिशतसम्म शुल्क लगाउने अधिकार राष्ट्रपति ट्रम्पलाई दिएको थियो । कार्यकारी आदेशमा उनले ऐनको धारा ४ मा उल्लेख गरिएका प्रतिबन्ध तथा शुल्क लागू नगर्ने निर्णय गरेको जनाइएको छ ।
उक्त कानुनले रुसको ऊर्जा तथा रक्षा क्षेत्र, राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य वरिष्ठ अधिकारीलाई लक्षित गरेको थियो । पश्चिमी प्रतिबन्ध छल्न प्रयोग गरिने रुसका ट्याङ्करहरूको कथित ‘छाया जहाज बेडा’ पनि यसको निशानामा परेको थियो ।
रुसी डिजेल निर्यातलाई अनुमति दिने विषयमा राष्ट्रपति पुटिनसँग ट्रम्पले गर्नुभएको विवादास्पद सहमतिपछि यो निर्णय आएको हो । त्यसको बदलामा अमेरिकी प्रतिबन्धबाट राहत दिने विषयमा सहमति भएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको निर्णयलाई ‘कमजोर निर्णय’ भन्दै आलोचना गर्नुभएको छ । युक्रेनी सेनाले रुसी तेल प्रशोधन केन्द्रहरूमा पुनः आक्रमण सुरु गरेपछि उक्त सहमतिलाई लिएर किएभ र वासिङ्टनबीचको सम्बन्धसमेत बिग्रिएको छ ।














प्रतिक्रिया