काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज फेरि प्रेस जगतको एकता प्रदर्शन भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै पत्रकार श्रेष्ठले यसअघिको आफ्नो गिरफ्तारीमा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेबापत कुनै पनि पत्रकारलाई पक्रन र सञ्चार उपकरण जफत गर्न नपाइने परमादेश गरेको र आज फेरि त्यही मान्यता स्थापित भएको जनाएका छन् ।
जग्गा हडपेको सम्बन्धी समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा उनलाई शनिबार बिहान ललितपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको थियो ।
कलाकार समेत रहेका नेता पन्तसँग केही घन्टा छलफल गरेपछि उनलाई शनिबार साँझ रिहा गरिएको थियो ।
‘मेरो अघिल्लो गिरफ्तारीमा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेवापत कुनै पनि पत्रकारलाई पक्रन र सन्चार उपकरण जफत गर्न नपाइने परमादेश गरेको थियो,आज फेरि त्यही मान्यता स्थापित भएको छ ।’ उनले लेखेका छन् ।
उनले सञ्चार माध्यममा प्रकाशित सामग्रीउपर चित्त नबुझे पीर बिसाउने चौतारी प्रेस काउन्सिल रहेको बताउँदै सञ्चार माध्यम विरुध्दका मुद्दा छिनोफानो गर्ने निकाय साइबर ब्युरो नभएको बताएका छन् ।
‘अब हिमेश भाइ कुनै गुनासो भए प्रेस काउन्सिल जानुहुन्छ ।’ उनले लेखेका छन् ।
उनले आफूहरुमाथि सामाजिक सञ्जलमार्फत व्यक्ति लक्षित टिप्पणी भएको तथ्य पनि पन्तले हृदयदेखि नै स्वीकार गरेको श्रेष्ठको दाबी छ ।
‘बिहान घरबाट लगिएको म बेलुका घर फर्किएको छु । प्रेस स्वतन्त्रता जिन्दावाद !’ उनले लेखेका छन् ।














प्रतिक्रिया