कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने « Khabarhub

कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परिरहेको प्रभावलाई सम्बोधन गर्न नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको प्रस्ताव संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को कभर डिसिजनमा समेटिएको छ ।

टर्कीको अन्ताल्यामा जारी सम्मेलनको अध्यक्षताको परामर्शमा तयार गरिएको कभर डिसिजनको मस्यौदामा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने प्रस्ताव समावेश गरिएको हो ।

१६ नोभेम्बरसम्मको अवस्थालाई समेटिएको ‘प्रेसिडेन्सी–लेड पार्टी–ड्रिभन कभर डिसिजन’ शीर्षकको मस्यौदाको बुँदा ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने विषय उल्लेख छ । यसले पर्वतीय क्षेत्रको वैज्ञानिक अध्ययन, जलवायु परिवर्तनका असरको मूल्याङ्कन, अनुकूलनका उपाय तथा जोखिम न्यूनीकरणका प्रयासलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

प्रस्तावमा पर्वतीय क्षेत्र तथा हिमनदीमा निर्भर समुदाय जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट विशेष रूपमा प्रभावित भइरहेको तथ्यलाई स्वीकार गर्दै उनीहरूको आवश्यकता र प्राथमिकतालाई अन्तर्राष्ट्रिय जलवायु नीतिमा समेट्न जोड दिइएको छ ।

त्यस्तै, पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी विषयलाई कोपको कार्यसूचीमा स्थायी रूपमा समावेश गर्ने प्रस्ताव पनि मस्यौदामा राखिएको छ । यस विषयमा छलफल गर्न कोप–३२ मा उच्चस्तरीय संवाद आयोजना गर्ने उल्लेख गरिएको छ ।

कभर डिसिजनको बुँदा ३२ मा जलवायु परिवर्तनसम्बन्धी सहायक निकायका ६६औँ र ६८औँ सत्रमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी संवाद आयोजना गर्ने विषयलाई स्वागत गरिएको छ । साथै, यस्ता संवादलाई निरन्तरता दिन र कोप अध्यक्षताको नेतृत्वमा नियमित उच्चस्तरीय संवाद सञ्चालन गर्न प्रोत्साहन गरिएको छ ।

यस्ता संवादमार्फत पर्वतीय मुलुक, आदिवासी जनजाति तथा स्थानीय समुदायका अनुभव, आवश्यकता र प्राथमिकतालाई अन्तर्राष्ट्रिय जलवायु नीति तथा कार्ययोजनामा समेट्ने लक्ष्य राखिएको छ । यसबाट जलवायु अनुकूलन र उत्थानशीलता निर्माणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

नेपाल र भुटानले पर्वतीय क्षेत्रमा बढ्दो तापक्रमको प्रभावलाई सम्बोधन गर्न ‘१.५ डिग्री सेल्सियस तापक्रम वृद्धिले पर्वतीय क्षेत्रमा पार्ने प्रभाव’ शीर्षकमा संयुक्त प्रस्ताव अघि सारेका थिए । त्यस्तै, किर्गिजस्तानले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी नियमित उच्चस्तरीय संवादलाई संस्थागत गर्न प्रस्ताव गरेको थियो ।

ती प्रस्तावमार्फत हिमालयलगायत विश्वका पर्वतीय क्षेत्रमा हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जलस्रोतमा पर्ने प्रभाव, जैविक विविधताको क्षति तथा जलवायुजन्य विपद्को बढ्दो जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्न जोड दिइएको थियो ।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको कभर डिसिजनले वार्ताका विभिन्न विषय र निष्कर्षलाई एकीकृत गर्दै सम्मेलनको समग्र राजनीतिक दिशा, प्राथमिकता र सन्देश निर्धारण गर्छ ।

जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसका प्रतिकूल प्रभावबाट उच्च जोखिममा रहेको मुलुक हो । विशेषगरी हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको अवस्थामा पर्वतीय क्षेत्रका मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा स्थापित गर्न नेपालको पहललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ९ : ०५ बजे

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन

चितवन– दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया– बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने

कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

काठमाडौं- जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परिरहेको प्रभावलाई सम्बोधन गर्न नेपाल,

पर्दाका कठोर खलनायकको जीवन संकटमा : कमब्याकको पर्खाइमा शरद कपुर

कुनै समय बलिउडमा खलनायकको भूमिकाबाट दर्शकको मनमा छुट्टै छाप छोडेका

साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन

काठमाडौँ- साउदी अरबमा अमेजनका गोदाममा कार्यरत नेपालीसहितका आप्रवासी श्रमिकले रोजगारी असुरक्षा,