काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले नेपालमा फिल्मको छायांकनका क्रममा आफूले भोगेको एउटा डरलाग्दो अनुभव सार्वजनिक गरेका छन् ।
रमाइलोका लागि सुरु गरेको कायाकिङ आफ्नो जीवनकै खतरनाक अनुभव बनेको सम्झँदै उनले एक समय आफू पानीमा डुबेर ज्यान गुमाउने अवस्थामा पुगेको खुलासा गरेका हुन्।
‘कौन बनेगा करोडपति सिजन १८’ को पछिल्लो एपिसोडमा एक प्रतियोगीसँग कुराकानी गर्ने क्रममा अमिताभले उक्त घटना सुनाएका हुन् ।
उनका अनुसार एउटा फिल्मको छायांकनका लागि नेपाल आएका बेला कसैले उनलाई कायाकिङ गर्न सुझाव दिएका थिए। यो निकै रमाइलो अनुभव हुने बताएपछि उनी पनि त्यसका लागि तयार भएका थिए।
तर, कायाक निकै साँघुरो भएकाले त्यसमा बस्नसमेत उनलाई करिब ४५ मिनेट लागेको थियो। सुरुमा डराएका उनी अन्ततः अनुभव लिने सोचले कायाकिङ गर्न तयार भए। तर प्याडल चलाउने क्रममा दिशामा गल्ती भएपछि उनको कायाक पल्टियो र उनी पानीमुनि पुगे।
अमिताभले पानीमुनि कायाक पल्टिएमा कसरी बाहिर निस्कने भन्ने जानकारी पहिले नै पाएका थिए। उनले डुङ्गा सीधा पार्ने प्रयास गरे। त्यसो गर्न नसकेपछि दुवै हात जोडले हल्लाएर आफू डुबिरहेको संकेत दिने प्रयास गरे। तर तत्काल उद्धारका लागि कोही पनि नआएको उनले सुनाए।
‘तपाईं विश्वास गर्नुहुन्न होला, तर मलाई बचाउन कोही पनि आएन। फिल्मको मुख्य नायक नै डुबिरहेको थियो। कल्पना गर्नुहोस्, उनीहरूले अर्को नायकसँग फिल्म अगाडि बढाउनुपर्ने अवस्था आउन सक्थ्यो’, उनले घटनाको गम्भीरता सुनाउँदै भने।
अन्ततः झरनानजिकै रहेका एक व्यक्तिले केही गडबड भएको महसुस गरेपछि उनलाई पानीबाट बाहिर निकालेका थिए। अमिताभका अनुसार उनलाई उद्धार गर्न तीनदेखि चार जनासम्म लागेका थिए।
उनले उक्त घटनालाई निकै पीडादायी र भयावह अनुभवका रूपमा सम्झिएका छन्। सामान्य मनोरञ्जनका लागि सुरु गरेको गतिविधि कसरी ज्यानकै जोखिम बन्न सक्छ भन्ने उनको यो अनुभवले देखाउँछ।














प्रतिक्रिया