धार्चेमा डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु « Khabarhub

धार्चेमा डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु भएको छ । 

धार्चे गाउँपालिका– १ र ३ करिब ६०० घरधुरीमा सोमबारदेखि विद्युत् सेवा सुचारु भएको हो । बुढीगण्डकीमा आएको बाढीका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको थियो ।  

नेपाल टेलिकमको टावरमा विद्युत् सेवा जडान भएपछि सञ्चार सेवा पनि सुचारु भएको त्यहाँका वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए ।

बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिवास उहिया लघु जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिका–३ र धार्चेको उहिया क्षेत्र विगत डेढ महिनादेखि विद्युत्विहीन बनेको थियो । 

उहियास्थित नेपाल टेलिकमको टावरमा विद्युत् विच्छेद हुँदा सेवा अवरुद्ध भएको थियो । विद्युत् जडान भएसँगै वरपरका गाउँबस्तीमा सञ्चार सम्पर्क सेवा सुचारु भएपछि स्थानीयबासी खुसी भएका  छन् । सोमबार मात्र उहियामा विद्युत् सेवा सञ्चालनमा आएको धार्चे गाउँपालिका–२ का वडाध्यक्ष सरोज गुरुङले बताए ।

उत्तरी गोरखाको गाउँबस्तीमा विद्युत् सेवा दिँदै आएको कादुरी नामक संस्थाको पहलमा उहियामा बिजुली बलेको उनले उल्लेख गरे । उहाँका अनुसार विद्युत् सेवा सुचारु भएपछि सञ्चार सेवा पनि सुचारु भएको हो ।  

‘उहियाको टावरबाट उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकका गाउँबस्तीमा सञ्चार सेवा सुचारु भएको छ’, गुरुङले भने, ‘त्यहाँ डेढ महिनासम्म बिजुली नबल्दा टावर चलेन । वरपरका सबै गाउँबस्तीमा बिजुली त जसोतसो बल्यो तर फोन सम्पर्क हुन सकेन ।’

धार्चे गाउँपालिकाको वडा नं १, २ र ३ मा गत असोज २५ गते बाढी गएदेखि सञ्चार सेवा ठप्प बनेकोमा सोमबारदेखि मात्र सञ्चालनमा आएको वडा नं २ का अध्यक्ष सरोज गुरुङले बताए ।  

गाउँमा सञ्चार सेवा ठप्प बन्दा वडाका काम कारबाही र स्थानीयको जनजीवनसमेत प्रभावित बनेको उनको भनाइ छ । उनी भन्छन्, ‘आजभोलि सञ्चार र प्रविधिको जमाना छ । यो डेढ महिना गाउँमा फोन टावर नचल्दा हामी पुरानै जमानामा पुगेको जस्तो भएका थियौँ ।’

धार्चेको वडा नं १, २ र ३ का गाउँबस्तीलाई बाढीले आवतजावतसँगै सञ्चारबाट पनि वञ्चित गराएको थियो । वडा नं १ हुल्चुकको करिब २५० घरधुरी र वडा नं ३ उहियाको ३३२ घरधुरी बाढी आएको दिनदेखि अन्धकारमा जीवन गुजारा गरिरहेका थिए । 

स्थानीयले विद्यालय तथा स्वास्थ्य चौकीको सोलारबाट जसोतसो फोन चार्ज गरेपनि फोन सम्पर्क भने सुचारु हुन सकेको थिएन । फोन टावर नहुँदा गाउँलेहरु फोन सम्पर्कका लागि माथि डाँडामा धाउनुपर्ने बाध्यता थियो । 

उहियाको टावरमा विद्युत् नहुँदा त्यसको प्रत्यक्ष असर वरपरका माछाखोला, खोर्ला, खोर्लावेशी, उहिया, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकको गाउँबस्तीमा परेको थियो । 
 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ६ : २९ बजे

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १ सय ६ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

सुदूरपश्चिमका दीपेन्द्रको अर्धशतक, लगत्तै आरिफ शेख आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

धार्चेमा डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु

गोरखा– धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा

भिनिसियसको ह्याट्रिकमा ब्राजिल ७-० ले विजयी

सिंगापुर – स्टार फरवार्ड भिनिसियस जुनियरले २१ मिनेटभित्रै ह्याट्रिक पूरा

सुदूरपश्चिमले गुमायो पाचौँ विकेट, शेरको बलमा थरिन्दु बोल्ड

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम