भारतलाई चिढ्याउँदै ‘सेभेन सिस्टर्स’ राज्यसँग नेपाल र भुटानलाई मुछेर बिदा भए मुहम्मद युनुस « Khabarhub

भारतलाई चिढ्याउँदै ‘सेभेन सिस्टर्स’ राज्यसँग नेपाल र भुटानलाई मुछेर बिदा भए मुहम्मद युनुस


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

ढाका- आफ्नो बिदाइ सन्देशमा बंगलादेश सरकारका अन्तरिम प्रमुख मुहम्मद युनुसले नयाँ बंगलादेश सरकारका लागि ‘सेभेन सिस्टर्स’ सम्बन्धी सन्देश छाडेका छन्।

बंगलादेश सरकार प्रमुख पदबाट सोमबार आफ्नो बहिर्गमन घोषणा गर्दै मुहम्मद युनुसले भारतका उत्तरपूर्वी ‘सेभेन सिस्टर्स’ राज्यहरूलाई नेपाल र भुटानसँगै उल्लेख गरेका हुन्।

भारत–बंगलादेश सम्बन्ध पहिले नै तनावपूर्ण रहेको अवस्थामा यस्तो अभिव्यक्तिले नयाँ दिल्लीलाई थप चिढ्याउने आकलन गरिएको छ।

बिदाइ सम्बोधनमा युनुसले भारतलाई चिढ्याउने अभिव्यक्ति दोहोर्‍याएका छन्। आफ्नो १८ महिनाको कार्यकालमा दुई देशबीच सम्बन्ध तनावपूर्ण बनेको पृष्ठभूमिमा उनले पुनः भारतको संवेदनशील उत्तरपूर्वी क्षेत्रको प्रसंग उठाएका हुन्।

२५ मिनेट लामो राष्ट्रवादी भाषणमा युनुसले बंगलादेशले आफ्नो खुला समुद्रमार्फत् ‘सेभेन सिस्टर्स’ भनेर चिनिने भारतका उत्तरपूर्वी राज्यहरूलाई ठूलो आर्थिक सम्भावना उपलब्ध गराउन सक्ने बताए।

उनले ती राज्यहरूको चर्चा गर्दा भारतको नाम उल्लेख नगर्दा नयाँ दिल्लीमा असन्तुष्टि बढ्न सक्ने आकलन गरिएको छ। यसलाई उत्तरपूर्वी क्षेत्रलाई छुट्टै इकाइका रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा हेरिएको छ।

भारतले आफ्ना भूभागमा बाह्य हस्तक्षेप अस्वीकार्य रहेको स्पष्ट गर्दै आएको छ। तर युनुसको कार्यकालमा बंगलादेशमा भारतविरोधी भावना बढेको आरोप लाग्दै आएको छ।

भारतको उत्तरपूर्वबारे भनाइ

‘बंगलादेशले सेभेन सिस्टर्स राज्यहरू, नेपाल र भुटानका लागि आर्थिक समृद्धिको ठूलो सम्भावना दिन सक्छ। हाम्रो खुला समुद्र केवल सीमा होइन, विश्व अर्थतन्त्रतर्फका प्रवेशद्वार हुन्,’ उनले भने।

यो अभिव्यक्तिलाई स्थलरुद्ध अवस्थामा रहेका भारतका उत्तरपूर्वी राज्यहरूलाई संकेत गर्दै बंगलादेशलाई क्षेत्रीय ‘गेट्वे’ का रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा व्याख्या गरिएको छ।

युनुसले यो विषय पहिलो पटक गत वर्ष चीन भ्रमणका क्रममा उठाएका थिए। त्यतिबेला उनले भारतको उत्तरपूर्वलाई ‘ल्यान्ड लक्ढ’ भन्दै चीनलाई क्षेत्रीय प्रभाव विस्तार गर्न आह्वान गरेको टिप्पणी गरेका थिए। त्यसबेला भारतका विदेशमन्त्री एस जयशंकर र उत्तरपूर्वी राज्यका मुख्यमन्त्रीहरूले ती अभिव्यक्तिको आलोचना गरेका थिए।

चीनबारे

बिदाइ भाषणमा चीन प्रमुख रूपमा आयो । युनुसले ‘रणनीतिक सन्तुलन’ आवश्यक रहेको भन्दै बेइजिङसँग सम्बन्ध अझ गहिरो बनाउनुपर्ने बताए।

विशेष गरी टिस्टा नदी पुनर्स्थापना परियोजनाको उनले उल्लेख गरे, जसलाई चीनले समर्थन गरिरहेको छ। उक्त परियोजना रणनीतिक रूपमा महत्वपूर्ण सिलिगुडी करिडोर (जसलाई ‘चिकेन नेक’ पनि भनिन्छ) नजिकै पर्ने भएकाले भारतले चनाखोपूर्वक हेरिरहेको छ।

‘चीनसँगको सहकार्य गहिरिएको छ। टिस्टा नदी परियोजना र निलफामारीमा १,००० शय्याको अन्तर्राष्ट्रिय अस्पताल निर्माणमा महत्वपूर्ण प्रगति भएको छ,’ उनले भने।

जनवरीमा युनुस प्रशासनले भारतीय संवेदनशीलतालाई बेवास्ता गर्दै चिनियाँ दूत र अधिकारीहरूलाई परियोजनास्थल अवलोकनको अनुमति दिएको थियो।

‘अधीन राष्ट्र होइन’

युनुसले बंगलादेश अब ‘अधीन’ परराष्ट्र नीतिमा निर्भर देश नभएको बताए। यसलाई भारततर्फ संकेत गरिएको सन्देशका रूपमा हेरिएको छ। युनुस प्रशासनभित्र शेख हसिना को कार्यकालमा बंगलादेशको विदेश नीतिमा भारतको प्रभाव बढी रहेको धारणा रहेको बताइन्छ।

‘आजको बंगलादेश आत्मविश्वासी, सक्रिय र स्वतन्त्र हितको रक्षा गर्ने राष्ट्र हो। हामी अब अरू देशको निर्देशनमा चल्ने राष्ट्र होइनौं,’ उनले भने।

अब सत्तारोहण गर्न लागेका नयाँ प्रधानमन्त्री तारिक रहमान नेतृत्वमा भारत–बंगलादेश सम्बन्ध पुनर्सन्तुलनतर्फ जाने कि नजाने भन्नेमा चासो केन्द्रित भएको छ।

पद त्याग्नुअघि टेलिभिजन सम्बोधनमा उनले आफ्नो १८ महिनाको कार्यकालमा बंगलादेशको विदेश नीति सार्वभौमसत्ता, राष्ट्रिय हित र गरिमाका तीन मूल आधारमा पुनर्स्थापित गरिएको दाबी गरे।

उनले बंगलादेश अब अरू देशको निर्देशनमा चल्ने वा अधीनमा रहने राष्ट्र नभएको पनि बताए ।‘हाम्रो खुला समुद्र केवल भौगोलिक सीमा होइन, यो विश्व अर्थतन्त्रसँग जोडिने खुला ढोका हो। नेपाल, भुटान र सेभेन सिस्टर्स क्षेत्रसँगै यस क्षेत्रको ठूलो आर्थिक सम्भावना छ,’ उनले भने।

उनीमाथि अल्पसंख्यक समुदायको सुरक्षा, लोकतान्त्रिक संक्रमण र वैदेशिक सम्बन्ध व्यवस्थापनमा कमजोरी भएको आरोप लागेको छ।

उनको सरकार सन् २०२४ अगस्टमा शेख हसिना नेतृत्वको शासन पतनपछि गठन भएको थियो। अब सत्ता हस्तान्तरण बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) नेतृत्वको नयाँ निर्वाचित सरकारलाई हुँदैछ।

बीएनपीका नेता तारिक रहमान नेतृत्वमा फेब्रुअरी १२ को संसदीय निर्वाचनमा २९७ मध्ये २०९ सिट जितेर सरकार गठनको तयारीमा छन्।

उपलब्धि

राष्ट्रवादी सन्देशमा जोड दिँदै युनुसले आफ्नो प्रशासनले बंगलादेशको वैदेशिक सम्बन्धका आधारभूत संरचना पुनर्निर्माण गरेको दाबी गरे।

उनले चीन, जापान, अमेरिका र युरोपसँग सम्बन्ध विस्तार भएको उल्लेख गरे। चीन समर्थित टिस्टा नदी परियोजना र निलफामारीमा अस्पताल निर्माण जस्ता योजनामा प्रगति भएको पनि बताए।

सैन्य आधुनिकीकरणतर्फ संकेत गर्दै उनले सम्भावित कुनै पनि आक्रमण सामना गर्न सशस्त्र बल सुदृढ बनाइएको बताए । यद्यपि बंगलादेशमा सम्भावित आक्रमण कसले गर्ला त्यो देशको नाम उल्लेख गरेनन्।

शासन व्यवस्थाका सन्दर्भमा उनले करिब १३० नयाँ कानुन तर्जुमा, केही संशोधन र झण्डै ६०० कार्यकारी आदेश जारी गरिएको जानकारी दिए ।

जसमध्ये करिब ८४ प्रतिशत कार्यान्वयन भइसकेको दाबी गरे। अन्तर्राष्ट्रिय बन्दरगाह व्यवस्थापन कम्पनीसँग गरिएका सम्झौता मजदुर समूहको विरोधका बाबजुद आर्थिक दक्षताका लागि आवश्यक रहेको उनले स्पष्ट पारे।

उनको कार्यकालमा भारतसँगको सम्बन्ध बिग्रिएको थियो। विशेष गरी हिन्दू समुदायमाथि आक्रमण र कानुन–व्यवस्थासम्बन्धी विषयमा भारतले चिन्ता व्यक्त गर्दै आएको थियो।

राजनीतिक तनावका कारण व्यापार सहजीकरण र कनेक्टिभिटीका पहलहरू पनि प्रभावित भएको विश्लेषकहरूको भनाइ छ।

सम्बोधनको अन्त्यमा युनुसले न्यायपूर्ण, मानवीय र लोकतान्त्रिक बंगलादेश निर्माणको यात्रालाई निरन्तरता दिन नागरिकलाई आह्वान गरे।

पद छाड्नुअघि उनले वरिष्ठ कर्मचारीहरूसँग भेटघाट गरे । सेना प्रमुख जनरल वाकर-उ-जमानसँग पनि भेट गरी निर्वाचन अवधिमा सहयोगका लागि धन्यवाद दिए ।

भारतको प्रतिक्रिया

अहिलेसम्म यसबारे औपचारिक रूपमा भारत सरकारले प्रतिक्रिया दिएको छैन। तर वरिष्ठ अधिवक्ता महेश जेठमलानीले सामाजिक सञ्जालमा युनुसको आलोचना गर्दै बंगलादेशमा स्थिरता ल्याउन असफल भएपछि भारतलाई ‘बाह्य खलनायक’ बनाउने प्रयास गरेको आरोप लगाए।

पूर्वभारतीय विदेश सचिव कनवल सिब्बलले पनि भारतको नाम नलिई ‘सेभेन सिस्टर्स’ उल्लेख गर्नुले युनुस र उनका निकटवर्तीकै खतरनाक मानसिकता उजागर भएको टिप्पणी गरेका छन्।

युनुसको कार्यकालमा बंगलादेशमा हिंसा, सञ्चारगृहमा आक्रमण र हिन्दू समुदायमाथि लक्षित घटनाहरूले आलोचना खेप्नुपरेको थियो। कूटनीतिक र आर्थिक दुवै सम्बन्ध भारतसँग न्यूनतम स्तरमा पुगेको विश्लेषणहरूमा उल्लेख छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  २ : ०७ बजे

निजी शिक्षामैत्री ऐन ल्याउन पहल गर्ने हिसानको घोषणा

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले

शेखरको गुनासो- विदेशबाट युवाले आमाबुवाको अवस्था नबुझी अमुक दलको पक्षमा उक्साए

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संरक्षणका लागि

भक्तपुर–१ : उम्मेदवारहरू विकासको ‘एजेन्डा’सहित घरदैलोमा

भक्तपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका

महाशिवरात्रिपछि नागाबाबा र साधु-सन्तलाई पशुपतिनाथबाट बिदाइ

काठमाडौं– महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका

पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता 

चरीकोट– नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका