जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर « Khabarhub

सफलताका कथा : 

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उनलाई धौधौ थियो ।

अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उनले कति रात भोकै त कति रात अरूको मजदुरी गरेर बिताउनुपर्‍यो । तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्बिर बदलिएको छ । हिजो अर्काको मजदुरी गर्ने भीमबहादुर आज सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।

सानैदेखिको गरिखाने यही सोचले आज उनलाई वार्षिक करोडको कारोबार गर्ने उद्यमी बनाएको हो । भृकुटीको सरस्वती टोलमा उनको गणेश नर्सरी उद्योग सञ्चालनमा छ । जहाँ पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन् । झापादेखि चितवनसम्मको बजारमा यही नर्सरीका बिरुवा बिक्री हुने गरेको छ ।

विसं २०७३ मा आफ्नो खल्तीमा भएको मात्र दुई हजार ७०० को सानो पुँजीबाट नर्सरी व्यवसायको श्रीगणेश गरेको भीमबहादुरले बताए  । सीमित स्रोत र साधनका बाबजुद उनको दृढसङ्कल्पले आकार लिँदै गयो । अहिले नर्सरी व्यवसायबाटै उनले वार्षिक करोडभन्दा बढीको आर्थिक कारोबार गर्छन् । उद्यम गरेरै उनले सुविधाजनक घर र घडेरी जोडेका छन् ।

‘आफ्नै पौरखमा बाँच्नु पर्छ भन्ने सानैदेखिको मेरो भावना थियो’, उनी भन्छन्, ‘सानो छँदा कुखुरा व्यापार गरेर घरखर्च चलाउन सघाउँथे । अहिले नर्सरी उद्योग र सुपारी प्रशोधन उद्योग चलाउँदैछु । पहिले अरूकामा मजदुरी पनि गर्थेँ, अहिले अरुले मेरो उद्योगमा रोजगारी पाइरहनुभएको छ ।’

झापा सुपारीखेतीको उर्वर भूमि भएकाले उनले सुपारीका बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिएको बताए । झापाको गौरादह र चितवनको रत्ननगरमा नर्सरीका शाखा फैलिएका छन् । उनले सुपारी प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । गाउँमा घरैपिच्छे सुपारी फलेका छन् । आफूले किसानबाट खरिद गरेको सुपारी उद्योगमा प्रशोधन गरेर बिक्री गर्दै आएको बताए । सुपारी उद्योगमा समेत स्थानीयले मनग्य रोजगारी पाएका छन् ।

भीमबहादुरको सफलताको जग मेहनतको जगमा उभिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरमा काँधमा जिम्मेवारी बोक्नुपर्यो । कहिले अरूको खेतमा पसिना बगाउने त कहिले गाउँका कुखुरा, गाई र बाख्रा दोहोर्‍याउँदै बजार पुर्‍याएर बेच्ने उनको दैनिकी थियो । स्थानीय हटियामा गाई–बाख्राको व्यापार गर्दागर्दै उनले व्यापारको कखरा सिकाए ।

त्यतिमात्र होइन, उनले नवयुवा उमेरमा विवेचना दैनिक पत्रिका वितरण गर्ने ‘हकर’को कामसमेत गरे । कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उनी पूर्ण रूपमा स्वरोजगारको खोजीमा लागे । शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दा उनले कृषि क्षेत्रको व्यावसायिक ज्ञान र विज्ञता हासिल गरे, जसले उनको जीवनलाई नयाँ मोड दियो ।

‘इमानदारी, मेहनत र लगनशीलताका साथ काम गर्‍यो भने सफलता टाढा हुँदोरहेनछ’, उनको सफलतालाई नजिकबाट नियालिरहेका नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ भन्छन्, ‘आफ्नो अनुभव र सीपलाई सही ठाउँमा प्रयोग गर्न सके गाउँमै सुन फलाउन सकिँदो रहेछ । विदेश जानु पर्दो रहेनछ भन्ने उहाँले प्रमाणित गरिदिनुभयो ।’

भीमबहादुरको यो व्यावसायिक फड्कोमा उनकी धर्मपत्नी तुलसी भट्टराईको बलियो साथ छ । ‘मैले कहिले पनि उहाँलाई विदेश गएर धन कमाउनुहोस् भनिनँ’, भीमबहादुरकी पत्नी तुलसी भन्छिन्, ‘उहाँमा अल्छी भावना कहिल्यै पाइनँ । कामलाई ठूलो र सानो भनेर छुट्याउनुहुन्न । उहाँलाई देखेर गाउँका युवाहरू व्यवसायमा लाग्न थालेका छन् ।’

भीमबहादुरले आफ्नो नर्सरी र सुपारी प्रशोधन उद्योगमा २० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिएका छन्  । व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । भानु माध्यमिक विद्यालयमा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन् भने गाउँमा गणेश मन्दिर निर्माणका लागि जग्गा र आर्थिक सहयोग जुटाएका छन् । भृकुटी गाउँमा सुविधासम्पन्न पाटी प्यालेस निर्माणको अन्तिम तयारीमा जुटेका छन् ।

रोजगारीको खोजीमा खाडी मुलुक पस्ने युवाहरूको लहरका बीच भीमबहादुर स्वदेशमै पसिना बगाएर सफल बनेको उदाहरण हुन् । मेहनत, धैर्य र निरन्तर प्रयासले कसरी एउटा सामान्य मजदुरलाई सफल उद्यमी बनाउन सक्छ भन्ने कुराको जीवन्त पात्र हुन्– भीमबहादुर ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : ०० बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले