काठमाडौं– सोमबार रातीको हावाहुरीका कारण धनकुटामा सरकारी निकायका साथै निजी घरमा क्षति पुगेको छ ।
हावाहुरीका कारण लोकसेवा आयोग, आयुर्वेद कार्यालय, संग्राहलय लगायतका कार्यालयहरूमा क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। हावाहुरीका कारण सदरमुकामका केही घरमा क्षति पुगेको उनले बताए ।
धनकुटा नगरपालिकाको मदन चोक, बिहीबारे हटिया, माथिल्लो कोप्चे, बालमन्दीर, भिमनारायण चोक, विचबजारमा रहेका घरमा क्षति पुगेको छ ।
त्यस्तै निगाले, कागते, सुकेपोखरी लगायतको स्थानमा समेत क्षति पुगेको छ । हावाहुरीका कारण घरका छाना उडाएको, बिजुलीको पोल लडेका छन् सदरमुकाम बाहिर पनि हावाहुरी आएकाले क्षति भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
हावाहुरीको क्षति संकलन कार्य भइरहेको उनले जानकारी दिए । त्यस्तै रुख ढलेर कोशी राजमार्गको धनकुटा हिले खण्डको अवरुद्ध हटाइएको छ । हावाहुरीका कारण धनकुटा सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
विद्युतका पोल भाँचिनुका साथै रुख ढल्दा तार चुँडिँदा विद्युत् आपूर्ति प्रभावित भएको हो । धरान–धनकुटा ३३ केभी तथा वसन्तपुर ३३ केभी लाइनका विभिन्न स्थानमा क्षति पुगेपछि विद्युत् सेवा सुचारु गर्न नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्राविधिक टोलीहरू मर्मत कार्यमा खटिएका छन् ।













प्रतिक्रिया