बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार « Khabarhub

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

गृह, कानुन र सञ्चारमा धेरैको चासो, दोहोरिन चाहनेदेखि जेन-जीसम्म



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बनाउँदैछ । ‘जानेलाई छान्ने’ चुनावी अभियान चलाएको रास्वपामा अहिले विषय विज्ञलाई मन्त्री बनाउनुपर्ने दबाब छ ।

प्रत्यक्ष र समानुपातिकमा गरेर रास्वपाले १८२ सिट ल्याएको छ। सरकार बनाउन १३८ सिट भए पुग्छ । दुईतिहाइ बहुमतनजिकको सिट ल्याएको रास्वपाले संविधान संशोधनसहितका राष्ट्रिय मुद्दामा सहमतिका लागि अन्य पार्टीको सहयोग लिनुपर्छ ।

दुईतिहाइतले पारित गर्नुपर्ने निर्णयका लागि उसले अरूको सहयोग लिनुपरे पनि सरकार भने एकलौटी सञ्चालन गर्न कुनै समस्या छैन । अर्थात्, रास्वपाको सरकारलाई अहिसम्मकै शक्तिशाली भन्दा फरक पर्दैन ।

चैत १० देखि १२ को बीचमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह यतिखेर सरकारको खाका कोरिरहेका छन् । उनले सरकारमा लैजाने सांसदहरूबारे पनि गम्भीर तयारी गरिरहेका छन्।

गैरसांसदलाई पनि मन्त्री बनाउनुपर्ने कुरा उठेका छन् । तर उनी र सभापति रवि लामिछाने यसबारे सकारात्मक छैनन् । उनीहरूबीच यसबारे छलफल पनि भइसकेको छैन ।

‘गैरसांसदबारे प्रस्ताव आएको हामीलाई जानकारी छ । तर छलफल र अध्ययन हुन पाएको छैन’, पार्टी प्रवक्ता मनिष झा भन्छन्, ‘विचार त हरेक किसिमका आउँछन् नै । पार्टीमा आएका प्रस्तावबारे छलफलपछि निर्णय होला ।’

गैरसांसदबाहेक अहिले रास्वपाबाट सरकारमा जान इच्छुक कम्तीमा ३० जना देखिएका छन् । नयाँ सरकार गठनको प्रक्रिया नजिकिँदै जाँदा यो संख्या अझै तलमाथि हुन सक्छ । अर्कातिर सभामुख र उपसभामुखमा पनि दुईजनालाई व्यवस्थापन गर्ने ठाउँ छ ।

१५ देखि २० जनाको मन्त्रिपरिषद्

बालेन्द्र अहिले १५ देखि २० जनाको मन्त्रिपरिषद् बनाउने तयारीमा छन्। कानुनत: संघीय मन्त्रिपरिषद्मा तीन राज्यमन्त्रीसहित २५ जना राख्न सकिने प्रावधान छ। तर बालेन्द्रले राम्रो र आवश्यक परिणाम दिने मन्त्रालयमा मात्रै मन्त्री राख्ने योजना बनाएका छन् ।

अरू मन्त्रालयलाई कम कार्यभार भएका मन्त्रीहरूबाट चलाउने तयारी उनको छ । बालेन्द्रले एकै चरणमा १५ देखि २० मन्त्री बनाउने तयारी गरेका छन् ।

अहिले गृह, अर्थ, सञ्चार, परराष्ट्र, शिक्षा लगायत मन्त्रालयमा आफूनिकटलाई राख्न खोजेको देखिएको छ । उता एकजना सभामुख र उपसभामुखमा पनि नेताहरू व्यवस्थापन हुन सक्छन् । तर उपसभामुख पद अन्य दललाई दिनुपर्ने हुन्छ । सभामुख र उपसभामुखमा कानुन बुझेका नेताहरूलाई लानुपर्ने चुनौती छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदमा बहालवाला गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गर्ने निर्णय गरेको छ। यद्यपि, यो निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिनुपर्ने हुन्छ।

तर एक त चुनावी सरकार अर्कातिर निर्वाचन परिणाम पनि आइसकेर कामचलाउमा परिणत भएको सरकारको निर्णय राष्ट्रपतिले सकार्छन् सकार्दैनन् प्रतिक्षाको विषय बनेको छ। सम्भवत: उनी राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत हुन सक्छन् ।

यदि अर्याल राष्ट्रियसभा सदस्य बनेमा उनैलाई बालेन्द्रले गृहमन्त्री दिने चर्चा पनि छ । तर बालेनको सचिवालय यसबारे केही बोलेको छैन । गृहमन्त्रीमा अर्याललाई नै दोहोर्‍याउने कुराले रास्वपाका नेताहरू नै अहिले सरप्राइजमा परेका छन् । यषसबारे अहिलेसम्म पार्टीमा कुरा नभएको एक नेता बताउँछन् ।

स्वास्थ्यमा समस्या भएका कारण आराम गरेका बालेन अहिले सरकार गठनको प्रक्रियामा लागिरहेका छन्। स्रोतका अनुसार बालेन्द्र र सभापति रवि लामिछाने निरन्तर संवादमा छन्। उनीहरूबीच सरकार गठनबारे छलफल र तयारी चलिरहेको छ ।

अहिले बालेन्द्र नेतृत्वको सरकारमा कम्तीमा पनि ३० जना नेताहरूले जाने इच्छा जाहेर गरेका छन्। मन्त्रिपरिषद् सदस्य तथा सभामुख र उपसभामुख गरेर ३० जना नेताहरू लविङमा छन् ।

दुई दिनअगाडि बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले नेताहरूलाई पद माग गर्दै नेतृत्वकहाँ नधाउन आग्रह गरेका थिए। यो जानकारी पार्टीको औपचारिक सूचनामै प्रवक्ता झाले दिइसकेका छन् । तर नेताहरू अहिले मन्त्रीका लागि तीव्र लबिइङमा छन् ।

यी हुन् इच्छुक ३० अनुहार

१. डोलप्रसाद अर्याल (डीपी) : पार्टी स्थापनाकालदेखि सभापति रवि लामिछानेका भरासिला साथी बनेर काम गरिरहेका उपसभापति अर्याल २०७९ पछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएको बेला श्रममन्त्री बनेका थिए।

अहिले पनि उनी सम्बन्धित मन्त्रालय (श्रम) अथवा गृह मन्त्रालयमा जाने कोसिसमा छन् । उनलाई सभापति लामिछानेले नै अगाडि सार्न खोजेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ९ बाट पहिलो पटक निर्वाचन जिते । २०७९ को निर्वाचनमा उनी समानुपातिक सांसद थिए।

२. डा. स्वर्णिम वाग्ले : २०८० मा भएको उपचुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका वाग्ले चर्चित अर्थविद हुन् । वाग्ले अर्थमन्त्री हुने करिब पक्कापक्की छ । उनलाई अर्थमन्त्री बनाउने विषयमा पार्टीमा सबै नेता एकमत देखिन्छन् । उनले यस पटक पनि तनहुँ १ बाट निर्वाचन जितेका छन्।

३. शिशिर खनाल : खनाल राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीति निर्णयहरूमा अग्रपंक्तिमा रहेका नेता हुन्। बालेन्द्रलाई पार्टी मिलाउँदा होस् या विवेकशीललाई ल्याउँदा होस् उनले अहम भूमिका खेले । पार्टीले हरेक राजनीतिक निर्णयमा अग्रपंक्तिमा खटाउने खनाल २०७९ पछि केही समय शिक्षामन्त्री बने।

दोस्रो चरणमा पार्टी सरकारमा जाँदा त्यो मन्त्रालय यही पार्टीबाट सुमना श्रेष्ठले पाइन्। उनी अहिले पार्टीमा छैनन् । यसपटक शिशिरलाई परराष्ट्र अथवा शिक्षा मन्त्रालयमा दुवै टिमले ल्याउने सम्भावना देखिन्छ । खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट ०७९ र यसपटक पनि विजयी भए ।

४. विराजभक्त श्रेष्ठ : वैकल्पिक धारका प्रभावशाली नेता हुन् विराजभक्त। उनी २०७९ को निर्वाचनपछि रास्वपा सरकारमा जाँदा उनी खेलकुद मन्त्री भए । खेलकुद मन्त्री हुँदा खेल क्षेत्रको नीतिगत सुधारमा उनले कोसिस गरे । श्रेष्ठलाई बालेन र रवि दुवैले स्वीकारेका छन् । २०७९ मा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी उनी यसपटक त्यहीँबाट दोहोरिए ।

उनीसँग २०७४ मा विवेकशील साझाबाट समानुपातिक सांसद बागमती प्रदेशको भएको अनुभव पनि छ। उनलाई खेलकुद मन्त्रालयमा दोहोर्‍याउने सम्भावना छ । जेन-जी खेलकुद मन्त्री बब्लु गुप्ता पनि यो मन्त्रालयमा दोहोरिन चाहन्छन् । श्रेष्ठ यसअगाडि प्रतिनिधि सभामा संसदीय दलका उपनेता थिए। रविको सांसद पद निलम्बन भएपछि उनैले संसदीय दल चलाए। विराजभक्त व्यापारिक पृष्ठभूमिका नेता भएकाले उद्योग मन्त्रालयमा जानुपर्ने आवाज उठेको छ।

५. मनिष झा : २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा मधेश प्रदेशबाट सांसद भएका झा पार्टीका विचारक नेता हुन् । उनले सञ्चार मन्त्रालयमा जाने इच्छा देखाएका छन् । बालेननिकट उनले अवसर पाउने बलियो सम्भावना छ। झा अहिले पार्टी प्रवक्ता पनि छन्। तर रास्वपाले पार्टी र सरकार दुवैतिर जिम्मेवारी नदिने नीति लिएको छ ।

६. तोसिमा कार्की : ०७९ पछि पार्टी सरकारमा जाँदा स्वास्थ्य राज्यमन्त्री बनेकी तोसिमालाई यसपटक स्वास्थ्य मन्त्री बनाउनुपर्ने कुरा उठेको छ। जेन-जी आन्दोलनका घाइतेको उपचारमा महत्वपूर्ण भूमिका खेलेकी तोसिमा पार्टीमा विद्रोही आवाज बोकेकी नेतृ हुन् । उनकै काम र बोलीले बेलाबेला आलोचनासमेत हुने गरेको छ । ललितपुर-३ बाट उनले दोस्रो पटक जित निकालेकी छन् ।

७. सोबिता गौतम : सोबिता गौतम २०७९ को निर्वाचनबाटै उपसभामुख हुने दौडमा थिइन्। तर उनलाई उपसभामुख नदिएर इन्दिरा रानालाई पठाइयो। अहिले पार्टीबाट सभामुखका लागि सोबिताको नाम आइरहेको छ। सभापति लामिछानेले सहकारी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेप्दा उनले कानुनी मोर्चा सम्हालेकी थिइन्।

२०७९ मा काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी उनी यस पटक चितवन क्षेत्र नम्बर २ बाट विजयी भइन्। उनले नेकपाकी चर्चित नेतृ रेनु दाहाललाई पराजित गरिन्। सोबिता संसद्को नेतृत्वमा नगए कानुनमन्त्रीका लागि लबिइङ चलिरहेको छ।

८. इन्दिरा राना : यसअगाडि उनी उपसभामुख भइन् । अहिले महिला बालबालिका मन्त्रालय अथवा सभामुखको दौडमा छिन् । उनले बेलाबेला अपरिपक्क भएको आलोचना सुनेकी छन् । २०७९ को निर्वाचनमा समानुपातिक सांसद उनी यसपटक झापा २ बाट विजयी भइन्। त्यहाँ उनले आफ्नै पालाका सभामुख देवराज घिमिरेलाई हराइन् । बालबन्दी र अन्य बालबालिकाको सहायतामाा सक्रिय उनलाई ‘आमा’ बोलाइन्छ।

९. सस्मित पोखरेल : सस्मित पोखरेल गत पुस १३ गते बालेन राष्ट्रिय स्वतन्त्र पार्टीमा समायोजन हुँदा आएका हुन्। काठमाडौं महानगरको शिक्षा क्षेत्र हेर्दै आएका ३० वर्षीय सस्मित बालेनका विश्वासपात्र हुन्। उनलाई बालेनले सञ्चार अथवा अन्य मन्त्रालयमा लाने अड्कल काटिँदैछ । काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका नेता ईश्वर पोखरेला हराएर उनी पहिलोपटक सांसद भएका हुन् ।

१०. डा. लेखजंग थापा : न्यूरोलोजिस्ट लेखजंग रुपन्देही ३ बाट निर्वाचित भएका छन्। उनले स्वास्थ्यमन्त्रालय सम्हाल्ने इच्छा जाहेर गरेका छन्। तोसिमा र उनीमध्ये एकलाई स्वास्थ्यमन्त्री बनाउने चर्चा छ।

११. डा. अमरेशकुमार सिंह : सर्लाही ४ बाट २०७९ को निर्वाचनमा स्वतन्त्र विजयी अमरेश यसपटक कांग्रेस सभापति गगन थापालाई हराएर चर्चामा छन्। सभापति थापालाई हराएका उनलाई पनि मधेसबाट मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने दबाब छ। पटकपटक सांसद भए पनि हालसम्म मन्त्री हुन नपाएकामध्ये एक हुन् उनी । संसद्मा आक्रमक देखिने उनी जुनै मन्त्रालय पनि लिन तयार छन् । अमरेशलाई परराष्ट्र मन्त्रालय दिनुपर्ने आवाज पनि छ।

१२. हरि ढकाल : २०७९ को निर्वाचनमा चितवनबाट सभापति लामिछाने र ढकाल निर्वाचित भएका थिए। यसपटक चितवन १ बाटै ढकाल निर्वाचित भए। उनी पनि मन्त्रालय लिने तयारीमा छन् । उद्योग मन्त्रालयमा हरिको पनि चर्चा छ ।

१३. गणेश कार्की : रास्वपाको फरक धार र फरक विचार बोकेका गणेश कार्की मोरङ क्षेत्र नं ३ बाट विजयी भए । उनले नेपाली कांग्रेसका चर्चित नेता डाक्टर सुनिल शर्मालाई हराए । कार्की पनि रास्वपामा बालेनलाई मिसाउन महत्वपूर्ण भूमिका खेल्ने नेता हुन्। उनलाई बालेनले विश्वास गरेका छन् । तर रविसँग उनको कुरा मिल्दैन ।

१४. दीपक बोहरा : रास्वपा सभापति लामिछानेका दुःखसुखका सहयात्री दीपक बोहरा पूर्वसञ्चारकर्मी हुन् । पार्टी स्थापनादेखि नै सक्रिय उनी यसपटक मन्त्री हुने तयारीमा छन्। लामिछाने सरकारमा नगएपछि उनले आफूनिकट बोहरालाई पठाउने अनुमान छ । उनले पनि सञ्चारमा इच्छा देखाएका छन् ।

१५. सुलभ खरेल : सुलभ खरेल अधिवक्ता हुन् । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पराजित गरेका उनी उपसभामुख अथवा कानुन मन्त्रालयको दाबेदार छन्। उनी पहिलोपटक रुपन्देही २ बाट निर्वाचित भएका हुन्।

१६. जगदीश खरेल : अन्तरिम सरकारका सञ्चारमन्त्री खरेल ललितपुर २ बाट विजयी भए । खरेल अहिले पनि सञ्चारमन्त्रीका दाबेदार हुन्। पूर्व टेलिभिजन पत्रकार रहेका उनी सञ्चार मन्त्रालयमा आफू दोहोरिने प्रक्रियामा देखिन्छन् । उनलाई बालेन्द्र र रवि दुवैले पत्याएका भनेछन् । तर उनलाई दोहोर्‍याउने नदोहोर्याउने भन्ने विषयमा निर्णय भएको छैन। पहिलोपटक सांसद भएका उनी ललितपुर क्षेत्र नम्बर २ बाट विजयी भए ।

१७. सुधन गुरुङ : जेन-जी आन्दोलनका नेता बताउने सुधन पनि मन्त्रीको दौडमा छन् । यसबारे उनले आफूनिकटबाट चर्चा गराइरहेका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की हुँदा नै उनी सरकारमा जाने चर्चा थियो । विवादित पृष्ठभूमिको भन्दै आलोचनापछि उनले अवसर पाएनन् । यसपटक सुधन गोरखा १ विजयी भएका हुन् ।

१८. आशिका तामाङ : सामाजिक अभियन्ता आशिका पनि रास्वपाबाट प्रत्यक्ष जित्ने सांसद हुन्। उनी पनि मन्त्री हुने लाइनमा छिन्। सार्वजनिक मुद्दाहरूमा खरो बोल्ने उनलाई बालेन र रवि दुवैले विश्वास गरेका छन्। आशिकाले धादिङ १ बाट नेकपाका शीर्ष नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हराइन्।

१९. खगेन्द्र सुनार : बालेन क्याबिनेटमा खगेन्द्र सुनार पनि मन्त्रीको दौडमा छन्। अन्तरिम सरकारमै उनलाई मन्त्री बनाउने प्रयत्न भएको थियो । तर विभिन्न मुद्दाका कारणको नाम काटियो। ‘दलितलाई खोई’ नामक अभियानमार्फत् सामाजिक क्षेत्रमा सक्रिय उनलाई बालेनले दलितबाट मन्त्री बनाउने सम्भावना छ ।

२०. सुनील लम्साल : सुनील लम्साल बालेन गत पुस १३ गते रास्वपामा प्रवेश गरेपछि महामन्त्री बनेका छन्। सुनीललाई बालेनले समेट्ने सम्भावना बलियो छ। यो निर्वाचनमा रूपन्देही १ बाट विजयी लम्साल यसअगाडि बालेनको सचिवालयका सदस्य हुन् । सुनिललाई गृहमन्त्री बनाउने चर्चा पनि छ।

२१. विपिन आचार्य : विपिन आचार्य रविनिकट नेता हुन्। पार्टीका सह-ममन्त्री उनी मन्त्री बन्ने दौडमा छन्। यसअगाडि रविसँगै सहकारीको बचत हिनामिना प्रकरणमा जोडिएका उनी रविका विश्वासपात्र हुन्। विपिनले दाङ २ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरे।

२२. बब्लु गुप्ता : अन्तरिम सरकारका खेलकुद मन्त्री बब्लुले राजीनामा दिएर निर्वाचन लडेका थिए। जेन-जी मन्त्री उनी खेलकुद मन्त्रालयमा दोहोरिने दाउमा छन्। बालेननिकट उनी भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि उदाएका नेता हुन्। बब्लुले सिरहा १ बाट निर्वाचन जिते।

२३. विश्वराज पोखरेल : ओखलढुङ्गाबाट ५ भोटले जितेका पूर्वडीआईजी विश्वराज पोखरेल पनि मन्त्रीको लाइनमा छन्। उनी गृहमन्त्री बनाउनुपर्ने लबिइङमा छन् । तर त्यो सम्भावना न्यून छ।

२४. लीमा अधिकारी : लीमा एमाले नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन्। पार्टीको कोषाध्यक्ष उनी समानुपातिक सांसद हुन्। पार्टी गम्भीर सङ्कट हुँदा अहम् भूमिका खेलेका कारण उनलाई सरकारमा समेट्नुपर्ने आवाज छ। सामान्य प्रशासन अथवा महिला मन्त्रालयमा उनको चर्चा छ।

२५. समीक्षा बास्कोटा : विवेकशील साझाकी अध्यक्ष समीक्षा चुनाव अगाडि रास्वापमा समाहित भएकी हुन्। विवेकशीलबाट रास्वपामा आउनेलाई पनि मन्त्रालय दिनुपर्ने अवस्था छ । त्यस पार्टीबाट आएका रञ्जु दर्शना लगायतको पनि चर्चा छ। विवेकशील हुँदै रास्वपामा आएकी मोरङ ६ बाट निर्वाचित सांसद रुबिनाले मन्त्री नहुने बताइसकेकी छन् ।

२६. यज्ञमणि न्यौपाने : पेशाले वकिल न्यौपानेलाई कानुन मन्त्रालय अथवा सभामुख र उपसभामुखमध्ये एक पद दिनुपर्ने चर्चा छ। उनी पनि लबिइङमा छन्। मोरङ १ बाट विजयी न्यौपानेले पनि रवि सहकारी प्रकरणमा मुछिँदा कानुनी पाटो हेरेका थिए ।

२७. सागर ढकाल : इन्जिनियर सागर ढकाललाई ऊर्जा मन्त्रालय दिनुपर्ने आवाज उठेको छ। उनी ०७९ को निर्वाचनमा शेरबहादुर देउवा हराउन डडेलधुराबाट स्वतन्त्र उठेका थिए । उनले ०७९ को निर्वाचनमा गुल्मीबाट जित निकाले ।

२८. ओमप्रकाश अर्याल : गृहमन्त्री अर्याललाई यदि राष्ट्रपतिले प्रमाणीकरण गरेर राष्ट्रिय सभा सदस्य बनाएको खण्डमा उनी गृहमन्त्रीमा दोहोरिन सक्छन् ।

२९. भूमिका श्रेष्ठ : नेपालको संसद् इतिहासमै पहिलो तेस्रोलिङ्गीबाट समानुपातिक सांसद भएकी भूमिकालाई पनि मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने आवाज छ । एलजीबीटिक्युआई कम्युनिटीबाट उनलाई सांसद बनाउनुपर्ने कुरा उठिरहँदा उनी पनि इच्छा देखाइरहेकी छन्। भूमिकालाई मन्त्रिमण्डलमा समावेश गरेर बालेनले कदम चाल्नुपर्ने आवाज उठेका छन्।

३०. रहबर अन्सारी : २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट मधेश प्रदेश सांसद बनेका रहबर प्रतिनिधि सभामा उठेका थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेपछि असन्तुष्ट उनी रास्वपामा प्रवेश गरेपछि प्रतिनिधि सभामा विजयी भए ।

मधेश प्रदेशसभामा आफूलाई मोसो दलेर चर्चित भएका उनी अहिले मन्त्री हुने लाइनमा छन्। मधेशबाट उनलाई मन्त्री बनाउनुपर्ने आवाज उठेको छ। उनी प्रतिनिधि सभामा बारा ४ बाट विजयी भए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ७ : ४५ बजे

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले