मन्त्री तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण « Khabarhub

मन्त्री तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण

मन्त्री तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन्  ।

केन्द्र्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले  अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए।

साथै ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको उनले जानकारी दिए । सञ्चारमन्त्री डा तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए।

‘अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्नेकाम आजैदेखि लागू भएको छ’, उनले भने।

निरीक्षणका क्रममा मन्त्री डा तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै यस केन्द्रलाई प्रभावकारी बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले आवश्यक इच्छाशक्ति र तत्परताको अभावका कारण विगतमा विभिन्न निकायमा समस्या जटिल बनेको बताए। अब ती समस्याहरू समाधान गर्दै संस्थागत जिम्मेवारी बढाउनुपर्नेमा उनले जोड दिए।

मन्त्री डा. तिमिल्सिनाले केन्द्रमा रहेका उपकरणको प्रभावकारी उपयोग गर्न निर्देशन दिँदै ठूलो लगानीमा खरिद गरिएका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाए। करिब रु एक अर्ब बराबरका उपकरण, जेनेरेटरलगायत सामग्री प्रयोगमा ल्याउँनुपर्नेमा उनले जोड दिए । 

तीन वर्षदेखि थन्किएर बसेका मेसिनहरू अहिले सञ्चालनमा ल्याइएको र छपाइ कार्य सम्भव भएको अवस्थामा विगतमा किन काम हुन सकेन भन्ने प्रश्न पनि उनले उठाए ।

निरीक्षणका क्रममा मन्त्री डा तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सरकार जनताको हितमा मात्र सञ्चालन हुने स्पष्ट पारे। 

‘सरकार कसैको स्वार्थमा होइन, जनताको चाहनामा चल्छ’, उनले भने। साथै, सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

त्यसैगरी, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्ने विषय पनि मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री डा तिमिल्सिनाले बताए। नेपाल टेलिकमको सेवा गुणस्तरबारे आउने गुनासो समाधान गर्दै आगामी एक वर्षभित्र देशका सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको उनले उल्लेख गरे।

सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले यो संस्थालाई दीर्घकालीन रूपमा बलियो बनाउने उद्देश्यले व्यावसायिक योजना तयार गरिरहेको जानकारी दिए। भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकरलगायत महत्वपूर्ण कागजात छाप्ने सकिने उनको भनाई छ । केन्द्रले करिब रु आठ अर्बको बजेटसहित विस्तृत योजना सरकारसमक्ष पेस गरेको ढुङ्गानाको भनाइ छ ।

कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको छ । विदेश जाने नेपाली नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकतामा राखिएको र यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले जानकारी दिए । 

यही वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

सो अवसरमा सांसदहरू मधुकुमार चौलागाईं, डा राम लामा, बदनकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो । मन्त्री डा तिमिल्सिनाले केन्द्रको भौतिक पूर्वाधार, मेसिनरी तथा खाली भवनको अवस्थाबारे समेत जानकारी लिएका थिए ।
 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १० : ०५ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको