काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विभिन्न चेतनामूलक कार्यक्रमसहित नेपाललगायत विश्वभर मनाइँदैछ। पछिल्लो समय बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा तथा प्रशोधित पदार्थको अत्यधिक प्रयोग, मानसिक तनाव, प्रतिस्पर्धात्मक जीवनशैली लगायतका कारण उच्च रक्तचापका बिरामीको संख्या बढ्दो क्रममा रहेको चिकित्सक बताउँछन्।
यही समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाउने गरिन्छ।
विशेषज्ञका अनुसार उमेरको प्रभाव, अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, वातावरणीय असर तथा वंशाणुगत कारणले पनि उच्च रक्तचापको समस्या बढ्दै गएको छ। समयमै रक्तचाप परीक्षण, नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनमार्फत उच्च रक्तचाप नियन्त्रण गर्न सकिने चिकित्सकको सुझाव छ।
नेपालमा उच्च रक्तचापको अवस्था
नेपालमा मुटुरोग मृत्युको प्रमुख कारण बन्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
यसरी मुटुरोगको जोखिम बढाउनु र मृत्युको मुखमा पुर्याउनुको मुख्य कारक तत्त्व ‘उच्च रक्तचाप’ मानिएको छ। नेपालमा हालसम्म ठुलो स्तरको जनसंख्या अध्ययन नभए पनि विभिन्न स्याम्पलिङ अध्ययनका अनुसार नेपालको कुल वयस्क जनसंख्याको करिब ३० प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्सालले बताए।
उनका अनुसार धूम्रपान, मद्यपान र खराब खानपान जस्ता पुराना कारणहरू त छँदै छन्, तर पछिल्ला वर्षमा आधुनिक जीवनशैलीका केही नयाँ पक्ष उच्च रक्तचाप र मुटुरोगका प्रमुख कारण बनेर देखा परेका छन्।

रक्तचापका बिरामी बढ्नुका मुख्य कारण
सामाजिक सञ्जालको अत्यधिक प्रयोग: पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसलाई निष्क्रिय बनाएको उनले बताए।
पहिले–पहिले दिउँसो वा साँझको खाना खाएपछि छतमा वा तल टहल्ने बानी भएका मानिस अचेल दिनभर अफिसमा बस्ने र घर पुगेपछि पनि मोबाइलमै अल्झिने गर्छन्। “यसले गर्दा आवश्यक शारीरिक व्यायाम पुग्न सकेको छैन,” डा. लम्सालले भने।
जंक फुडको बिगबिगी र ट्रान्स फ्याटको नियमन अभाव: विशेष गरी कर्पोरेट हाउस, बैंक तथा बाहिर काममा निस्कनेमा घरबाहिर खाजा खाने र जंक फुड प्रयोग गर्ने दर एकदमै बढी छ।
नेपालमा जंक फुडमा हुने ‘ट्रान्स फ्याट’ को मात्रा र खाद्य गुणस्तरलाई लिएर कडा नियमन हुन नसक्दा यसले रक्तचाप र मुटुरोगको जोखिमलाई तीव्र पारेको डा. लम्सालको बुझाइ छ। “हालको खानपानमा फलफूल र हरियो तरकारीको मात्रा निकै न्यून देखिन्छ,” उनले भने।
वायु प्रदूषण: पछिल्ला केही वर्षमा काठमाडौँ लगायतका क्षेत्रमा वायु प्रदूषणको स्तर निकै बढेको छ, विशेष गरी हिउँदमा यो उच्च बिन्दुमा पुग्छ।
प्रदूषणले सिधै रक्तचाप बढाउने विषयमा छुट्टै अध्ययन नभए पनि यसले मुटुको धमनीमा अवरोध सिर्जना गर्ने, मुटुरोग बढाउने तथा हार्ट अट्याक र स्ट्रोकको जोखिम बढाउने तथ्य प्रमाणित भइसकेको उनले बताए।
वैदेशिक रोजगारी, पारिवारिक विखण्डन र मानसिक तनाव: नेपालको आधा जति युवा तथा मध्यम उमेरको पुरुष जनसंख्या रोजगारीका लागि बाहिर हुँदा समाजमा पारिवारिक विखण्डन र एक्लोपन बढेको छ।
यसले गर्दा घरमा बस्ने वा बाहिर रहने दुवै पक्षमा पारिवारिक सहयोग (फैमिली सपोर्ट) को कमी भएको छ, जसका कारण मानिसमा मनोवैज्ञानिक, आर्थिक, सामाजिक र लैंगिक तनाव थपिएको छ। यो मानसिक तनाव नै अन्ततः उच्च रक्तचापको रूपमा परिणत भइरहेको डा. लम्सालले बताए।

उच्च रक्तचाप नियन्त्रण गर्न के गर्ने ?
डा. लम्सालका अनुसार उच्च रक्तचाप नियन्त्रणका लागि औषधोपचारसँगै सक्रिय र स्वस्थ जीवनशैली अपनाउनु अत्यन्त आवश्यक मानिन्छ।
आधुनिक चिकित्साशास्त्रमा उच्च रक्तचाप नियन्त्रणका लागि सुरक्षित र प्रभावकारी औषधि उपलब्ध छन्। तर, यसका साथसाथै मानसिक तनाव व्यवस्थापन, नियमित व्यायाम, योग र ध्यान उपयोगी हुन्छ। “आफूलाई मनपर्ने सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुँदा पनि तनाव कम भई रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ,” उनले भने।
उच्च रक्तचाप नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने डा. लम्सालको सुझाव छ-
नुनको मात्रा घटाउने,
खाना पकाउँदा कम नुन प्रयोग गर्ने,
थप नुन हालेर नखाने,
प्याकेट तथा प्रशोधित खाद्य पदार्थ कम खाने,
चिप्स, नम्किन, बिस्कुट, चिज, बटरजस्ता बढी नुनयुक्त खानेकुरा कम सेवन गर्ने बानी बसाल्नुपर्छ।
स्वादका लागि नुनको सट्टा कागती, मरिच वा अन्य प्राकृतिक मसला प्रयोग गर्न सकिन्छ।
तौल नियन्त्रणमा ध्यान दिने
धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिमा तौल बढी हुने देखिन्छ। तौल घटाउँदा रक्तचाप पनि घट्ने भएकाले सन्तुलित आहार र नियमित शारीरिक गतिविधिमा ध्यान दिन आवश्यक छ।

तौल घटाउने मुख्य सिद्धान्त भनेको शरीरले खर्च गर्ने क्यालोरीभन्दा कम क्यालोरी सेवन गर्नु हो। त्यसका लागि जंक फुड त्याग्ने, दैनिक हिँडडुल गर्ने र सक्रिय जीवनशैली अपनाउने बानी आवश्यक हुने उनले बताए।
नियमित स्वास्थ्य परीक्षण
जसको परिवारमा मुटुरोग वा उच्च रक्तचापको इतिहास छ, उनीहरूमा जोखिम बढी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने डा. लम्साल बताउँछन्।
उच्च रक्तचाप देखिएमा चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने र औषधि सेवन गर्नुपर्ने अवस्था आउनुअघि नै स्वस्थ जीवनशैली अपनाउनु सबैभन्दा प्रभावकारी उपाय भएको उनको भनाइ छ।














प्रतिक्रिया