गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका बीच लगभग २० हजार टन खाना पकाउने ग्यास लिएर गणतन्त्र मार्शल (मार्शल टापु)को ध्वजाबाहक एलपीजी ट्याङ्कर आइतबार गुजरातको कान्डलाको दीनदयाल बन्दरगाहमा आइपुगेको छ ।
अमेरिकाले इरानमा आक्रमण गरेपछि बदलामा इरानले अमेरिकी सेनाका शिविरहरू र शिबिरहरू रहेका देशका अन्य संरचनामा आक्रमण थालेको थियो । यसले हर्मुज जलडमरुमध्य भएर निर्यात हुने विश्वको करिब २० प्रतिशत इन्धन तथा अन्य सामान रोकिएपछि भारतमा इन्धन सङ्कट छाएको छ ।
जहाजको आगमनले खुशी त ल्याएको छ तर यसको खतरनाक यात्राले सामान्य मानिसलाई झस्काउन सक्छ । इरानी नौसेनाको कडा निगरानी, अमेरिकी नाकाबन्दी र युद्धको खतराका बीच जहाजको सुरक्षित निकासी कुनै ठूलो सैन्य कारबाहीभन्दा कम नभएको चालक दलका सदस्यले बताएका छन् ।
जहाजको स्वचालित पहिचान प्रणाली ९एआईएस० पनि दुश्मनको राडारबाट बच्न बन्द गर्नुपरेको उनीहरूले बताए । यो राहत भारतका लागि पनि निकै महत्वपूर्ण छ किनभने युद्धका कारण देशको इन्धन भण्डारमा दबाब लगातार बढिरहेको छ । यस्तोमा यो आपूर्ति देशको भान्सा र ऊर्जा सुरक्षा दुवैका लागि निकै महत्वपूर्ण मानिन्छ ।
खास कुरा के छ भने जहाजले विश्वको सबैभन्दा संवेदनशील र खतरनाक समुद्री मार्गमध्ये एक ‘स्ट्रेट अफ हर्मुज’ पार गरेर यो यात्रा पूरा गरेको छ । मध्यपूर्वमा पछिल्लो ७५ दिनदेखि जारी युद्धका कारण यो समुद्री मार्ग पूर्ण रुपमा तनावमा छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले कतारको रास लाफान टर्मिनलबाट यो ग्यास खरिद गरेको थियो । जहाजमा सवार २१ जना विदेशी चालक दलका सदस्य पनि पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ । इरानी नौसेनाको कडा निगरानी र अमेरिकी नाकाबन्दीका बीच ओमानको खाडीमा यो जहाजको सुरक्षित उद्धार कुनै ठूलो मिसनभन्दा कम थिएन ।
स्रोतका अनुसार युद्धक्षेत्र हुँदै जाँदा जहाजले निकै सावधानी अपनाएको थियो । जहाजको ‘अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम’ अर्थात् एआईएसलाई दुश्मनको राडार र सर्भिलेन्स मेकानिजमबाट बच्न अस्थायी रुपमा बन्द गरिएको थियो । आइएस बन्द भएपछि उक्त जहाज इरानको लाराक टापुको पूर्वी भागबाट निकै सावधानीका साथ अघि बढेको थियो ।
यही कारण जहाज कुनै पनि प्रकारको निगरानी वा आक्रमणको चपेटामा नपरी सुरक्षित रूपमा भारतीय सीमामा पुग्न सक्थ्यो । यो सम्पूर्ण अभियानलाई सफल बनाउन भारत सरकार र सम्वद्ध मन्त्रालयले महत्वपूर्ण भूमिका खेलेका छन् ।
स्रोतका अनुसार जहाजलाई कुनै पनि गोलाबारी वा सैन्य कारबाहीबाट टाढा राख्नका लागि चौबीसै घण्टा निगरानी भइरहेको छ । मार्च महिनाको सुरुदेखि स्ट्रेट अफ हर्मुज पार गरेर भारत पुग्ने यो १३ औं जहाज हो ।
भियतनामको अर्को ट्याङ्कर ‘एनवी सनशाइन’ पनि त्यही समुद्री मार्गबाट भारततर्फ जाँदैछ । ट्याङ्कर न्यू मङ्गलोर बन्दरगाहमा पुग्नेछ । यस्तोमा आगामी दिनमा भारतलाई खाना पकाउने ग्यासको आपूर्तिमा केही राहत मिल्न सक्ने विश्वास गरिएको छ ।
वास्तवमा पश्चिम एसियामा जारी युद्धको प्रभाव भारतको ऊर्जा भण्डारमा पनि स्पष्ट देखिन्छ । देशको रणनीतिक कच्चा तेलको भण्डारमा करिब १५ प्रतिशतले गिरावट आएको छ ।
तथ्याङ्क अनुसार भारतको तेल भण्डार १०.७ मिलियन ब्यारेलबाट घटेर ९.१ मिलियन ब्यारेलमा झरेको छ । यही कारण केन्द्र सरकारले लगातार ऊर्जा बचतमा जोड दिइरहेको छ । हालै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देशवासीलाई पेट्रोल र डिजेलको विवेकपूर्ण प्रयोग गर्न र इन्धन बचाउन अपिल गरेका थिए ।
विश्लेषकहरुका अनुसार यदि मध्यपूर्वमा तनाव थप बढ्यो भने भारतसहित विश्वका धेरै देशका लागि ऊर्जा आपूर्ति ठूलो चुनौती बन्न सक्छ । अहिले मार्सलको ध्वजाबाहक जहाजको भारतमा सकुशल आगमन भारत सरकार र ऊर्जा क्षेत्रका लागि ठूलो सफलता मानिएको छ ।












प्रतिक्रिया