२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका बहालवाला मेयर थिए। सिंहदरबारमा थिए शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओली। शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर हुइँकिरहेको सरकारी नम्बर प्लेटको गाडी ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोकेर ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमतिपत्र बोकेको छ?’ भनेर सोधेको निहुँमा मेयर साहले सामाजिक सञ्जालमा तत्कालीन सरकारलाई चोरको संज्ञा दिँदै लेखेका थिए, ‘आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार।’ अहिले तिनै साह प्रधानमन्त्री छन्।
२०८१ साल चैत ११ गते मेयर वालेन्द्र शाहले ओली सरकारको दम्भले महानगरपालिकाका सरसफाइ कर्मचारीले ३ महिनादेखि तलब नपाएको भन्दै टुकुचामा गाडिदिने धम्की नै दिए। ‘को–कोले, के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु! त्यो पछि हेरौँला तिमीहरूको के–के तन्त्र हो!’ मेयर बनेपछि अक्सर सामाजिक सञ्जालबाटै आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने बालेन मेयरबाट बिदा भएर प्रधानमन्त्रीको प्रत्यासी बनेपछि पनि सामाजिक सञ्जालमै छाउँदै आएका छन्।
२०८२ साल फागुन ६ गते। सबै राजनीतिक दल चुनावी अभियानमा थिए। काठमाडौँको मेयरबाट राजीनामा दिएर रास्वपाका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धनगढीमा आयोजित चुनावी सभामा निर्माण व्यवसायी लक्षित चेतावनी दिए, ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो त्यो हो हाम्रो एजेन्डा, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो।’ ४ मिनेटको भाषणमा समर्थकलाई उत्तेजित पार्ने हिसाबले बालेन बोलेका थिए।
वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि निर्माण व्यवसायी पीताम्बर बडू र रमेश शर्मालाई भौतिक मन्त्रीको आदेशमा पक्राउ गरी मन्त्रालय पुर्याइयो। त्यसपछि थुप्रै व्यवसायी त्रासको मनोविज्ञानमा छन्।
वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि निर्माण व्यवसायी पीताम्बर बडू र रमेश शर्मालाई भौतिक मन्त्रीको आदेशमा पक्राउ गरी मन्त्रालय पुर्याइयो। त्यसपछि थुप्रै व्यवसायी त्रासको मनोविज्ञानमा छन्। यही मनोविज्ञानका बीचमा बालेन शाहको कोर टिमका सदस्य पूर्वाधार विकासमन्त्री सुनील लम्सालले समयमै काम नसक्ने ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिए। नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारविरुद्ध मन्त्री लम्सालले भनेका थिए, ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीं राख्नू। घर पठाउने हैन। फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन।’
२०८३ साल वैशाख १० गते। प्रहरी हिरासतभित्र दलित युवक श्रीकृष्ण विकको मृत्यु भएको विषयमा सत्तारूढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले यसैगरी प्रहरी–प्रशासनलाई ठाडो धम्की दिए। बाँकेबाट निर्वाचित सांसद सुनारले इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा रहेका युवकले हिरासतभित्रै झुन्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक भनाइपछि धर्ना बस्न पुगेका सांसद सुनारले प्रहरीले हिरासतभित्र विकलाई मारेको आरोप मात्र लगाएनन्, सीडीओ र प्रहरी प्रमुखलाई कारबाही हुनुपर्ने माग राखे। अन्यथा आफूले नै एसपीलाई घिसारेर लैजाने धम्की दिए। विकमाथि बालविवाह र नाबालिग बलात्कारको आरोप थियो।
प्रहरीलाई धम्की दिन सिन्धुली प्रहरी कार्यालय पुगेका सांसद रीमा विश्वकर्मा र खगेन्द्र सुनारले पत्रकारमाझ उत्तेजक अभिव्यक्ति दिए, अपुष्ट आरोप लगाउँदै चर्को स्वरमा प्रहरी–प्रशासनलाई धम्क्याए। यो विषयमा रास्वपाका सभापति रवि लामिछानेले रोस्ट्रममा उभिएर स्पष्टीकरण मात्र दिएनन्, शालीनतापूर्वक माफी नै मागे।
संसद्को चालू अधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दागर्दै उठेर हिँडेका प्रधानमन्त्री त्यसपछि लामो समय संसद्मा देखा परेनन्। विपक्षी दलका सांसदले प्रधानमन्त्री साहको उपस्थिति र जवाफ खोजिरहेका छन्। २०८३ साल जेठ १७ गते साह छापामार शैलीमा संसद्को नियमित अधिवेशनमा देखिए। प्रधानमन्त्री आउने विषयमा सभामुख जस्तै सत्तापक्ष तथा विपक्षी दलका सांसद अनभिज्ञ थिए। सभामुखसँग समय मागेर शाह रोस्ट्रममा पुगे र सांसदको प्रश्नको जवाफ दिन थाले। बोल्दाबोल्दै प्रधानमन्त्री वालेन्द्रले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने भन्दै नेपालले पनि भारतीय सीमा मिचेको बताए।
‘म प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले मात्र होइन नेपालले पनि भारतको धेरै स्थानमा जमिन मिचेको रहेछ।’ त्यसपछि रास्वपाका सबै सांसदले गडगडाहट टेबल ठोके, ताली बजाए र प्रधानमन्त्री शाहको भनाइ अनुमोदन गरिदिए। त्यसपछि प्रधानमन्त्री शाह यो विषयमा सामाजिक सञ्जालबाहेक कतै केही बोलेका छैनन्।
‘म प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले मात्र होइन नेपालले पनि भारतको धेरै स्थानमा जमिन मिचेको रहेछ।’ त्यसपछि रास्वपाका सबै सांसदले गडगडाहट टेबल ठोके, ताली बजाए र प्रधानमन्त्री शाहको भनाइ अनुमोदन गरिदिए। त्यसपछि प्रधानमन्त्री शाह यो विषयमा सामाजिक सञ्जालबाहेक कतै केही बोलेका छैनन्। संसद्मा शाहको स्पष्टीकरण माग भइरहेको छ। उक्त राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाउन माग भइरहेको छ। प्रधानमन्त्रीको तर्फबाट भन्दै कहिले अर्थमन्त्री रोस्ट्रममा पुग्छन् त कहिले परराष्ट्रमन्त्री उभिन्छन्। तर कसैसँग पनि यसको चित्तबुझ्दो जवाफ छैन।
रास्वपाका केही सांसद त प्रधानमन्त्रीको अभिव्यक्ति ठीक थियो भन्ने पुष्टि गर्न सीमावर्ती जिल्लामा प्रमाण संकलन गरेर फर्किइसकेका छन्। केही केहीको दौडधुप जारी नै छ। सीमाको विषयमा शाहले दिएको अभिव्यक्तिका विषयमा चुइँक्क नबोलेका रवि लामिछाने यही बीचमा दिल्लीको तीर्थाटन गरेर फर्किएका छन्।
मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेर दिल्लीलाई दच्काउने बालेनले संसद्को रोस्ट्रममा उभिएर किन यस्तो अभिव्यक्ति दिए भन्नेबारे रास्वपासमेत जवाफ दिन अनिच्छुक देखिएको छ। वालेन्द्रले प्रस्ट नर्पादासम्म शंकाको लाभ नै सही, मानौँ ‘सीमासम्बन्धी संवेदनशील विषयको यो अभिव्यक्ति वालेन्द्रको मिडिया ट्रायल थियो। तर उनी संसद्को रोस्ट्रममा उभिएर बोल्नैपर्छ। नत्र साह एक दिन जनताको कठघरामा उभिनेछन्।
यो बीचमा नेपाली भूमि सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) आएर नेपाली नागरिकमाथि दमन गर्न खोजेको छ। दार्चुलाको आकाशमा भारतीय सेनाको हेलिकोप्टरले फन्को मारिरहेको छ। भारतले नेपालबाट निर्यात हुने हरियो चियापत्ती निर्यातमा प्रतिबन्ध लगाएको छ। तर प्रधानमन्त्री अथवा सत्तारूढ रास्वपा बोलेको छैन।
त्यसो त रास्वपा नेताहरूको धम्कीको शृंखला यतिमा मात्र सकिँदैन। २०८३ साल वैशाख ९ गते ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआईजी समेत रहेका विश्वराज पोखरेलले ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय परिसरमा पुगेर विद्यालयका प्रधानाध्यापकको हुर्मत लिए। आफूलाई गेटसम्म स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकलाई पोखरेलले भने, ‘म आउँदैछु भन्दा तपाईं निस्किनुपर्छ। तपाईं कर्मचारी हो। म रिटायर्ड विशिष्ट श्रेणीको कर्मचारी हुँ।’ आफूलाई माननीयका रूपमा अर्थ्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने?’ भनी प्रश्न गरे।
२०८२ साल चैत पहिलो साता धादिङ–२ बाट निर्वाचित सांसद आशिका तामाङले सवारीसाधनमा लगाइएको कर बन्द गर्न त्यहाँका १३ वटै स्थानीय तहलाई ठाडो निर्देशन दिइन्। संघीयताको मर्मविपरीत संविधानमा भएको स्थानीय तहको एकल अधिकार खोस्ने उनको अभिव्यक्तिमा परिपक्वता थिएन। संघीयताको मर्मअनुसार तीनै तहका सरकारबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्वयलाई सुदृढ गर्दै अघि बढ्नुपर्ने जनप्रतिनिधि नै भञ्ज्याहा बनेपछि जिल्लाका सबै स्थानीय तहका प्रमुख–उपप्रमुखले नेपालको संविधानको धारा २३२ (१) बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तमा आधारित हुने संवैधानिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै संविधानको अनुसूची ८ मा व्यवस्था भएको एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएर संयुक्त विज्ञप्ति नै निकाले।
आशिका गएको जेठ ६ गते काठमाडौँको थापाथली चोकमा ट्राफिक प्रहरीसँग वादविवादमा उत्रिइन्। प्रहरीले हरियो बत्ती बलेपछि पैदलयात्रीलाई नरोकेर गाडीलाई रोकेको भन्दै आशिका रुष्ट बनेकी थिइन्। संसद् बैठकबाट फर्कंदै गर्दा थापाथली चोकअघि रेड लाइटमा रोकिएको उनको गाडी हरियो बत्ती बलेपछि पनि पैदलयात्रीका कारण अगाडि बढ्न नपाएपछि गाडीबाट ओर्लिएर उनले प्रहरीलाई थर्काएकी थिइन्। उनले जुन शब्द प्रयोग गरेकी थिइन्, यसबाट उनीमा परिपक्वता छैन भन्ने प्रस्ट देखिन्थ्यो। उनीसँग राजनीतिक धरातलीय सामान्य चेत पनि छैन भन्ने सामाजिक सञ्जालमा उनले गर्ने पोस्ट पनि प्रस्टै हुन्छ।
अहिलेको विवाद मुख्यतः दुई कुरामा अल्झिएको छ। प्रधानमन्त्री र प्रधानमन्त्रीनिकट भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्ति। नेपालको निर्माण क्षेत्र राज्यका ऐन, कानुन, सार्वजनिक खरिद नियमावलीलगायतका कुरा सच्याइदिन र सहजीकरण गरिदिन लामो समयदेखि राज्यसँग गुहार मागिरहेको छ।
अहिलेको विवाद मुख्यतः दुई कुरामा अल्झिएको छ। प्रधानमन्त्री र प्रधानमन्त्रीनिकट भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्ति। नेपालको निर्माण क्षेत्र राज्यका ऐन, कानुन, सार्वजनिक खरिद नियमावलीलगायतका कुरा सच्याइदिन र सहजीकरण गरिदिन लामो समयदेखि राज्यसँग गुहार मागिरहेको छ। तर निर्माणको काम ढिलो हुनुमा मुलुकको कानुनी र संरचनात्मक क्षेत्रमा भएको समस्याबारे केही नबोल्ने विभागीय मन्त्री लम्सालले काम छिटो गराउनका लागि ठेकेदारको खुट्टा भाँच्ने, रुखमा बाँध्ने, खोरमा थुन्ने र बाटोमा सुताउने जस्तै अभिव्यक्ति दिँदा कानुनी राज्यको उपहास मात्र भइरहेको छैन, ‘जसको लाठी उसकी भैँसी’ भन्ने उखान पुनः चरितार्थ भएको छ।
रास्वपा स्थापनाकालदेखि नै यस्तै आरोह–अवरोहबाट गुज्रिरहेको पार्टी हो। जसको मूल नेतृत्व कहिल्यै विवादमुक्त रहन सकेन। रास्वपा जन्मिनुमा रवि लामिछानेको भूमिका छ भन्नेमा विवाद रहेन। तर अहिलेको रास्वपा केवल रविका कारण मात्र बनेको पार्टी होइन। पछिल्लो चुनावी अभियानपछि ‘रविको पार्टी’ भन्ने बिम्बबाट बाहिर निस्केको रास्वपाका नेताहरू कम्तीमा ‘रास्वपाको नेता–प्रतिनिधि’ बन्न सक्नुपर्थ्यो। तर बहुसंख्यक माननीयले राजनीतिक धरातलीय सामान्य चेतसम्म देखाउन सकेका छैनन्। रास्वपाका कार्यकर्ता मात्र होइन, नेता नै गलत अभिव्यक्तिलाई ढाकेर नेतृत्वको देवत्वकरणमा उत्रिएका छन्। जो नेतृत्वप्रति कृतज्ञता व्यक्त नगरे तत्कालीन सहमहामन्त्री सुमना श्रेष्ठ अथवा संसदीय दलका प्रमुख सचेतक रहेका सन्तोष परियार बनिएला कि भन्ने मनोविज्ञानसँग जुधिरहेको भान हुन्छ। रञ्जु दर्शना अथवा मनिष झा यसको पछिल्लो उदाहरण हुन्। जोसँग नेतृत्वको कर्तुत–कमजोरीबारे बोल्ने शब्दै छैन।
श्रेष्ठ र परियार “गलतलाई गलत” भन्न खोज्दा आँखैअगाडि दोषी करार गरिए र दलबाटै बिदा भएका थिए। केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले प्रत्यक्षतर्फको टिकट नपाउने अवस्था बढ्दा उनले सामाजिक सञ्जालमै लेखेकी थिइन्, “अन्धभक्त र अन्धविरोध दुवै लोकतन्त्रका लागि घातक हुन्।” जो आज संसद्मा त छिन् तर प्रधानमन्त्री अथवा विभागीय मन्त्रीको विषयमा बोल्ने आँट छैन। टेलिभिजनको पर्दामा खरो प्रश्न तेर्स्याएर कमजोर राजनीतिक धरातलमा उभिएका जगदीश खरेलहरू नेतृत्वको देवत्वकरणमै शङ्खनाद गरिरहेका छन्। प्रायः सबै मौनताभित्र उकुसमुकुस देखिन्छन्।
सञ्चारमाध्यम, बौद्धिक वृत्त र नागरिकले यस्तो प्रवृत्तिमाथि प्रश्न उठाइरहेका छन्, तर नेतृत्वको देवत्वकरणमा उत्रिएका रास्वपा नेता र कार्यकर्ताले उनीहरूलाई ट्रोल बनाइरहेका हुन्छन्। यसको अर्थ यो हो कि प्रथम महाधिवेशनको मुखमा रहेको रास्वपाभित्र अन्तरपार्टी लोकतन्त्रको अवस्था अत्यन्त नाजुक बन्दै गएको छ। रवि या बालेनलाई शङ्काको सुविधा दिनुपर्छ भन्नेहरू नै सशङ्कित बन्न थालेका छन्। लामिछाने अथवा शाहको व्यक्तिपूजन गर्नेहरूले बालेन र रविलाई मात्र अन्तिम विकल्प देख्नु अहिलेको दुर्भाग्य हो। यो अवस्था कायम रहेमा न व्यक्ति रहन्छ न पार्टी नै।
हुन त ‘रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा’ हो भन्ने भाष्यबाट गुज्रिरहेको रास्वपाभित्र यस्ता खतरनाक पात्र र प्रवृत्ति अरू धेरै होलान्। समृद्ध दल निर्माणका लागि यस्ता प्रवृत्ति छानिनु अनिवार्य हुन्छ। यसका निम्ति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, मनिष झा, सोबिता गौतम, तोसिमा कार्की, हरि ढकालले पनि आफूभित्रको उकुसमुकुस पोख्नुपर्छ।
“हिजो रवि लामिछानेलाई मात्र भगवान् बनाउने आज ‘हामी पनि नेता हौँ’ भन्ने हैसियत बिर्सिएर वालेन्द्रलाई भगवान् बनाइरहेका छन्। जसले छोटो अवधिमै रविलाई केपी ओली जस्तै बनाएर सिध्याएका थिए। उनीहरू भन्न थालेका छन्, “देश यसरी बन्दै बन्दैन!” यो आलेखको शुभेच्छा यति हो, “कम्तीमा बालेन्द्रलाई रवि जस्तै बन्नबाट कसैले बचाओस्!”
झिक्कै झिक्कै माया तमलाई, आई लभ यु – बालेन !












प्रतिक्रिया