एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिँदै जाँदा अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो आक्रमणको उद्देश्य ‘इरानको सैन्य क्षमता थप कमजोर बनाउनु’ रहेको छ। सेन्टकमले होर्मुज जलडमरूमध्यमा जारी नाकाबन्दीका क्रममा ओमानको खाडीमा एउटा तेल ट्यांकर नियन्त्रणमा लिइएको तथा नाकाबन्दी उल्लङ्घन गर्न खोजेका तीनवटा व्यापारिक जहाजलाई फर्काइएको पनि जनाएको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी क्षेप्यास्त्रहरूले होर्मुज जलडमरूमध्य नजिकैको केश्म द्वीप, बन्दर अब्बास तथा आणविक ऊर्जा केन्द्र रहेको बुसेहर क्षेत्रमा प्रहार गरेका छन्। साथै, होर्मोजगान प्रान्तका दुईवटा पुल पनि आक्रमणको निशानामा परेको दाबी गरिएको छ। बीबीसीले बन्दर अब्बासको पश्चिमतर्फ रहेको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको जनाएको छ।
यद्यपि सेन्टकमले पछिल्लो आक्रमणमा लक्षित ‘दर्जनौँ सैन्य लक्ष्य’को सूची सार्वजनिक गर्दा पुलहरूमा भएको आक्रमणबारे उल्लेख गरेको छैन। सेन्टकमका अनुसार लडाकु विमान, ड्रोन र युद्धपोतमार्फत तटीय निगरानी केन्द्र, हवाई प्रतिरक्षा प्रणाली, सैन्य रसद संरचना तथा समुद्री सैन्य क्षमतामाथि आक्रमण गरिएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए पुल तथा विद्युत् पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए। संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले भने नागरिक पूर्वाधारमाथिको जानाजानी आक्रमण युद्ध अपराध हुन सक्ने चेतावनी दिएका छन्। सन् १९४९ को जेनेभा महासन्धिले पनि नागरिकका लागि अत्यावश्यक संरचनामाथि आक्रमण गर्न निषेध गरेको छ।
सेन्टकमका अनुसार यसअघि अप्रिल १३ देखि जुन १८ सम्म सञ्चालन गरिएको नाकाबन्दीका क्रममा अमेरिकी सेनाले नौवटा जहाज निष्क्रिय बनाएको र १४० भन्दा बढी व्यापारिक जहाजलाई मार्ग परिवर्तन गराएको थियो।
तनाव बढिरहे पनि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प अझै पनि इरानसँग कूटनीतिक वार्ताका लागि तयार रहेको बताएकी छन्। उनका अनुसार इरानले सम्झौताप्रति रुचि देखाएको भए पनि होर्मुज जलडमरूमध्यमा जहाजमाथि आक्रमण जारी राखे त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अडान रहेको छ।
यसैबीच, इरानले बिहीबार जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको दाबी गरेको छ। त्यसको जवाफमा अमेरिकाले होर्मुज क्षेत्रमा करिब छ घण्टासम्म विभिन्न स्थानमा सैन्य कारबाही गरेको जनाएको छ।
अमेरिकी–इजरायली आक्रमणपछि इरानले प्रतिक्रिया स्वरूप बन्द गरेको होर्मुज जलडमरूमध्य अझै सञ्चालनमा आउन सकेको छैन। विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गका रूपमा रहेको यस जलडमरूमध्यमा जारी तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र क्षेत्रीय सुरक्षाप्रति चिन्ता बढाएको छ।
उता, इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले राष्ट्रिय हितमा नपर्ने कुनै पनि सम्झौता पालना गर्ने कुनै कारण नरहेको बताएका छन्। उनले होर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रण र सुरक्षा व्यवस्था राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको दाबी गरेका छन्।












प्रतिक्रिया