राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’ « Khabarhub

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’



काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक दलका नेतासँग संवाद गरेका छन् । उनले बिहीबार राजा र हिन्दु राज्यको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग सिंहदरबार बोलाएरै भेट गरेका हुन् ।

करिब एक घण्टा भएको भेटवार्तामा राजनीतिक कुराकानीभन्दा देशका पछिल्ला समस्या र जनचासको मुद्दामा छलफल भएको बताइएको छ। यद्यपि, बालेनको राजनीतिक लाइनबारे अनेक प्रश्न उठिरहेका बेला राजावादी नेतालाई भेटेर उनले राजनीतिक संवाद पहिलो पटक अघि बढाएका हुन् ।

वालेन्द्र र राजेन्द्रबीच देशका पछिल्ला समस्याबारे कुरा भएको छ। त्यस्तै राज्यबाट निम्न वर्गका नागरिकमाथि बढाएको सास्तीबारे पनि कुराकानी भएको थियो। राजावादी धारका राजेन्द्र र पपुलिस्ट वालेन्द्रबीचको भेटवार्तालाई राजनीतिक कोणमा अर्थपूर्ण मानिएको छ । तर राजेन्द्र भने वालेन्द्रसँग जनचासोका मुद्दा लिएर भेट्न पुगेको उनको सचिवालयले जनाएको छ।

अध्यक्ष लिङ्देनले चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सम्बोधनका क्रममा गत असार ७ गते वालेन्द्रले राजावादीको मतसमेत ल्याएर चुनाव जितेको बताएका थिए।

अरू नेतालाई जवाफ फर्काए पनि बालेन त्यसबेला राजेन्द्रको भनाइमा मौन बसेका थिए। त्यसकारण पनि वालेन्द्र पनि राजावादीसँग निकट रहेको आकलन भइरहेको छ। तर रास्वपाको विधानमै लोकतान्त्रिक गणतन्त्रको लाइन समातेकाले उनको प्रधानमन्त्रीको नीयतमाथि शङ्का गर्नुपर्ने ठाउँ नरहेको नेताहरू बताउँछन् ।

वालेन्द्रको सचिवालयका अनुसार राजेन्द्र राजनीतिक कुराभन्दा सुकुम्वासीकाा मुद्दासहित सिंहदरबार छिरेका थिए । राजेन्द्रले उठाएका कुरालाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको उनको सचिवालयका एक सदस्यले बताए।

सरकारका पछिल्ला गतिविधिबारे राजेन्द्रले प्रधानमन्त्रीसँग प्रश्न गरे। राजेन्द्रले सुकुम्वासीसहितका मुद्दामा भेट्न चाहेको बताएपछि बालेन स्वागतका लागि तयार भएका थिए ।

भेटमा लिङ्देनले पछिल्ला दिन सरकारका गतिविधिले जनतामा बढेको निराशाबारे सुनाए। उनले किसान, युवा र विद्यार्थीका समस्याको पोको लिएर सिंहदरबार छिरेको बिहीबार नै बताएका थिए।

‘हाम्रा अध्यक्ष आफैँले समय माग्नुभएको हो। प्रधानमन्त्रीले बोलाउनु भएको होइन। अध्यक्षज्यूले भेट्ने इच्छा व्यक्त गरेपछि उहाँले समय दिनुभएपछि भेट भएको हो’, लिङ्देनको सचिवालयका एक सदस्यले बताए ।

भेटमा प्रधानमन्त्रीले सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताका पीडा र समस्या समयमै समाधान गर्न नसक्दा आफू पनि छटपटिएको बताएका थिए ।

जब लिङ्देन होल्डिङ सेन्टर पुगे

सरकारले काठमाडौंको नदी किनारका बस्तीमा बलजफ्ती डोजर हानेर सुकुम्वासीलाई उठिबास लगाएको थियो । त्यसपछि सुकुम्बासीलाई १५ दिनमै व्यवस्थापन गर्ने भन्दै होल्डिङ सेन्टरमा राखेको थियो । तर दुई महिना बितिसक्दा पनि एकजना पन सुकुम्वासी सरकारले व्यवस्थापन गरेको छैन । त्यहीकारण उनीहरू बिचल्ली भएको छ। नदी किनारमा डुब्ने भनेर लखेटिएका सुकुम्वासीलाई होल्डिङ सेन्टरमा राखेर सरकारले थप डुबानमा पारिदियो ।

यही साता राप्रपा अध्यक्ष लिङ्देनले कीर्तिपुरसहितका होल्डिङ सेन्टर अनुगमन गरेका थिए। त्यहाँ पुग्दा उनले बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूले पीडा सुनाएका उनले बताए ।

होल्डिङ सेन्टरबाट फर्किएपछि लिङ्देनले प्रधानमन्त्रीसँग भेट्ने समय मागे। लिङ्देनका अनुसार वृद्धवृद्धा र बालबालिकाले रुँदै आफूहरूको अभिभावक कोही नभएको गुनासो राखे । प्रधानमन्त्री शाहसमक्ष पनि आफूहरूको वास्तविक अवस्थाको सूचना नपुगेको गुनासो उनीहरूले गरे।

‘जो बाहिर जान र भाडा तिर्न सक्ने थिए, उनीहरू सरिसकेका रहेछन्। होल्डिङ सेन्टरमा अपाङ्ग, वृद्धवृद्धा, अशक्त र निम्न वर्गका मात्रै बसिरहेका रहेछन्’, उनले भने, ‘उनीहरूले खान नपाएको, उपचार नपाएको र राज्य अभिभावक नभएपछि मर्नुपर्ने अवस्थामा पुगेको गुनासो गरे। मैले सरकारको विरोधभन्दा प्रधानमन्त्रीलाई भेटेरै कुरा राख्ने बताएपछि उनीहरू आश्वस्त भए।’

उनले थपे, ‘सुकुम्बासीको अवस्था देख्दा म दिक्क लाग्यो । म आफैँ पनि विभिन्न समयमा सरकारमा पुगेकाले यो विषय अविलम्ब सम्बोधन गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले रचनात्मक सुझाव दिन प्रधानमन्त्रीलाई भेटेको हुँ। भेटमा सामान्य राजनीतिक कुराकानी भयो । मुख्य रूपमा जनताका समस्या प्रधानमन्त्रीसमक्ष राखेँ। सकारात्मक जवाफ दिनुभएको छ।’

लिङ्देनले बैठकमा आर्थिक अवस्था नाजुक भएका व्यक्तिलाई सरकारले खान, बस्नलगायतका सुविधा दिनुपर्ने बताए । ‘सामाजिक सञ्जाल वा मिडियामा प्रतिक्रिया दिएर पनि सरकारको विरोध गर्न सक्थेँ। तर मैले रचनात्मक सुझाव दिऔँ भन्ने सोचेर भेट्न आएको हुँ’, उनले भने, ‘सचिवालयले पनि प्रधानमन्त्रीलाई गलत सूचना दिइरहेको लागेको थियो। प्रधानमन्त्रीज्यूलाई ‘सबै काम भइसके’ भन्ने सूचना दिइएको हुन सक्छ। तर होल्डिङ सेन्टरमा निम्न वर्गका र खानै नसक्ने व्यक्ति छन्। राज्य उनीहरूको अभिभावक बनोस् भन्ने मेरो आग्रह हो।’

होल्डिङ सेन्टरका वृद्धवृद्धा र बालबालिकाको बिजोक देखेर आफैँ भावुक भएको उनले सुनाए। ‘यो कुरा सामाजिक सञ्जालमा राख्न पनि सक्थेँ। तर रचनात्मक सुझाव दिऔँ, दुईतिहाइको सरकारलाई सम्मान गरौँ भनेर तपाईंलाई भेट्न आएको हुँ’, उनले बालेनलाई भने, ‘उनीहरूले ‘हाउसमा कुरा उठाइदिनुस्, नत्र हामी त मर्छौँ। हामीलाई अलिकति पेट्रोल र आगो दिनुहोस्’ भन्नेसम्म गुनासा गरे। त्यसैले तपाईंसमक्ष राज्य उनीहरूको अभिभावक बनोस् भन्ने आग्रह गर्न आएको हुँ।’

यो भेटमा प्रधानमन्त्रीको तर्फबाट सचिवालयका कुमार बेन र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल तथा राप्रपाबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सचेतक खुश्वु ओली उपस्थित थिए।

लिङ्देनले दुईतिहाइ नजिकको मत दिएर वालेन्द्रलाई प्रधानमन्त्री बनाएकाले सरकारले जनताका समस्या सम्बोधन गर्नुपर्ने बताएका थिए। जवाफमा वालेन्द्रले जनमतको सम्मान हुने गरी काम भइरहेको बताउँदै केही समय धैर्य गर्न आग्रह गरे ।

‘म पनि छटपटिएको छु’

होल्डिङ सेन्टरमा सुकुम्बासी आँसुमा डुबेको र आफ्नो व्यवस्थापन गर्न नसक्नेहरू मात्रै बसिरहेको राजेन्द्रले उठाएपछि प्रधानमन्त्री गम्भीर बनेका बताइन्छ। त्यसपछि प्रधानमन्त्री वालेन्द्र करिब छ–सात मिनेट आफ्नो धारणा राख्दै उक्त समस्या समाधानका लागि सरकारले विभिन्न पहल गरिरहेको जानकारी दिएका थिए।

‘हामीले यस्ता व्यक्तिहरूको नयाँ व्यवस्थापनको काम बढाइसकेका छौँ। लालपूर्जा वितरण हुँदैछ । कुनै हालतमा उहाँहरूको आँसु झर्न दिने छैनौँ। तपाईंले भन्नुभएको कुरा अरू साथीहरूले पनि नोटिस गर्नुभएको छ। सचिवालयले पनि यो कुरा जस्ताको तस्तै मसमक्ष ल्याइरहेको छ’, प्रधानमन्त्रीले भेटमा भने, ‘म पनि सुकुम्बासीका आँसु र पीडा देख्दा निकै छटपटिएको छु। बाहिर मेरा विषयमा विभिन्न आलोचना भइरहेका छन्। त्यसले गर्दा म उनीहरूको अभिभावक बन्नुपर्छ, सकेसम्म चाँडो उनीहरूको अभिभावक हुन पाए हुन्थ्यो भन्ने छटपटी छ। राज्य अभिभावक बन्छ, म पनि बन्छु।’

उनले समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए । ‘यो समस्या समाधान गर्न नै सरकार बनेको हो। मलाई त आज, अहिले नै यो समस्या समाधान गरिहालौँ जस्तो लाग्छ। तर निश्चित प्रक्रिया, सीमित स्रोत र साधनका कारण सबै कुरा तत्काल गर्न सकिँदो रहेनछ। म त्यसैका लागि दिनरात खटिरहेको छु। यहाँले रचनात्मक सुझाव र आलोचनात्मक चेतसहित मलाई जिम्मेवारीबोध गराइदिनुभएकोमा धन्यवाद। साथीहरूले पनि भन्नुभएको छ, जनताले पनि भन्नुभएको छ। यो विषय मेरो नोटिसमा छ र म यसमा काम गर्छु।’

सरकारले किसानलाई मल, बिउबिजनलगायत सामग्री उपलब्ध गराउन पनि निरन्तर सहकार्य र संवादमार्फत काम गरिरहेको जानकारी वालेन्द्रले राजेन्द्रलाई गराएका थिए। त्यति हुँदाहुँदै पनि जनगुनासो आइरहेकाले सम्बोधन गर्नुपर्ने पक्षमै आफूहरूको ध्याउन्न रहेको उनको भनाइ थियो।

उनले सरकारले पहिलो १०० दिनमा गर्न सक्ने जति काम गरिरहे पनि धेरै काम अझै बाँकी रहेको स्वीकार गरे। ‘गर्न सकिने कुरा पनि सबै गर्न सकिएको छैन। केही काम गर्ने ठूलो उत्साह हुँदा-हुँदै पनि तत्काल गर्न नसकिने रहेछ’, उनले भने, ‘यहाँले उठाउनुभएका सबै समस्या मैले दिनदिनै नोटिस गरेर सम्बन्धित निकायलाई निर्देशन दिँदै आएको छु। तर समस्या समाधान गर्न समय लाग्ने रहेछ। सरकार धेरै समय भएको छैन। देशलाई सकारात्मक ट्र्याकमा लैजाने हाम्रो लक्ष्य छ।’

अरू के भयो राजनीतिक कुराकानी?

दुई नेताबीचको छलफलमा २०४६ सालपछि राज्यका महत्त्वपूर्ण निकायमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिनबारे पनि छलफल भएको थियो। दरबार हत्याकाण्डको छानबिनबारे पनि दुई नेताबीच कुरा भएको थियो।

लिङ्देनले २०४६ सालपछि सार्वजनिक पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्दा कसैलाई छाड्न नहुने पनि बताए । उनले आफ्नो र प्रधानमन्त्रीकै पनि छानबिन हुनुपर्ने धारणा राखे ।

‘सम्पत्ति छानबिनको सन्दर्भमा मेरो पनि हुनुपर्छ, तपाईंको पनि हुनुपर्छ भन्ने राप्रपाको स्पष्ट धारणा छ। मेरो पार्टीको जोसुकै व्यक्ति होस्, गल्ती गरे कारबाहीको दायरामा आउनुपर्छ’, राजेन्द्रले भने, ‘मैले यसबारे सदनमा पटक–पटक कुरा उठाउँदै आएको छु। कुनै पनि व्यक्ति राजनीतिक कारणले अपराध र भ्रष्टाचारबाट उम्कनु हुँदैन।’

यसमा प्रधानमन्त्रीले सरकारले आफ्नो तर्फबाट आवश्यक काम गरिरहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा राजेन्द्रले वालेन्द्रलाई विधि र कानुन नमिची काम गर्न सुझाव दिएका थिए।

भेटमा वालेन्द्रले जेठ १७ गते सदनमा आफूले दिएको ‘नेपालले पनि भारतको भूभाग मिचेको छ’ भन्ने अभिव्यक्तिले उत्पन्न विवादबारे पनि छलफल भएको थियो।

राजेन्द्रले उक्त विषयमा सरकारले चाँडै स्पष्ट धारणा सार्वजनिक गरी जवाफ दिनुपर्ने बताए। त्यसको जवाफमा वालेन्द्रले उक्त विषयमा सरकारले काम गरिरहेको बताउँदै क्रमशः सत्य सार्वजनिक हुँदै जाने बताए।

राजेन्द्रले प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी र जनताप्रति जवाफदेही हुन पनि भने । त्यसको जवाफमा वालेन्द्रले आफू यस विषयमा स्पष्ट रहेकाले धेरै बोल्नुभन्दा काम गरेर देखाउने बताए ।

भेटपछि लिङ्देनले सामाजिक सञ्जालमार्फत पनि भेटवार्तामा भएका मुख्य विषय सार्वजनिक गरेका छन्। उनले राज्यका विभिन्न निकायबाट आमनागरिकले भोग्नुपरेका सास्ती, शिक्षा, स्वास्थ्य, विद्युत् तथा अन्य समसामयिक विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उल्लेख गरेका छन्।

के भने राजेन्द्रले ?

  • स्वास्थ्य बिमा सुविधाअन्तर्गत निजी अस्पतालमा उपचार स्थगन गरिएपछि तल्लो तहका जनताले भोग्नुपरेको सास्ती,
  • रासायनिक मलको अपर्याप्तता तथा उपलब्ध मलको अव्यवस्थित वितरण व्यवस्था,
  • सुकुम्बासी समस्या, विशेषगरी होल्डिङ सेन्टरमा रहेका अशक्त, अपाङ्ग तथा बिरामीको उपचार र बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गर्ने विषय,
  • शिक्षा, स्वास्थ्य र विद्युत्मा लगाइएको कर,

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ४ : ३४ बजे

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा