सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर « Khabarhub

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तन गरेको छ । नरैनापुरमा अहिले घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ । वडास्तरमा गाउँमै प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि घरमै सुत्केरी गराउने पुरानो परम्परामा परिवर्तन आएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले बताए ।

‘विगतमा घरमै सुत्केरी गराउँदा धेरै आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने गरेको थियो, तर अहिले बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा त्यो तस्बिर बदलिएको छ’, शाहले भने, ‘घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ, वडा–वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टर सुरक्षित मातृत्वका भरपर्दा केन्द्रका रूपमा स्थापित हुँदै गएका छन् ।’

उनका अनुसार, आर्थिक वर्ष २०८२–८३ मा नरैनापुर गाउँपालिकाका विभिन्न प्रसूति सेवा केन्द्रबाट एक हजार १५१ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । संस्थागत सुत्केरीको सङ्ख्या निरन्तर बढ्दै जानु सुरक्षित मातृत्वप्रतिको चेतना र स्थानीय सरकारले गरेको लगानीको प्रतिफल हो ।

पहिले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्थासम्म स्वास्थ्य संस्थामा नआउने महिलासमेत अहिले नियमित गर्भ परीक्षणदेखि सुत्केरीसम्म वर्थिङ सेन्टरमै आउने गरेका छन् । वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा सञ्चालन भइरहेको उनले जानकारी दिए । गर्भवतीलाई स्वास्थ्य संस्थासम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले दुर्गम बस्तीका महिलाले पनि सहज रूपमा सेवा लिन थालेका छन् ।

गत आर्थिक वर्षमा वडा नम्बर १ कटकुइँयामा १८६, वडा नम्बर २ कालाफाँटामा १७४, वडा नम्बर ३ नरैनापुरमा १०१, वडा नम्बर ४ लक्ष्मणपुरमा २५४, वडा नम्बर ५ मटेहियामा २८६ र वडा नम्बर ६ गङ्गापुरमा १५३ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । जटिल अवस्था देखिएमा तत्काल भेरी अस्पतालमा निःशुल्क रेफर गर्ने तथा ल्याउने–लैजाने व्यवस्था गाउँपालिकाले मिलाएको स्वास्थ्य शाखा प्रमुख शाहले बताए ।

वडा नम्बर १ कटकुइँया स्वास्थ्यचौकीमा कार्यरत अनमी सामना गुरुङले नरैनापुरमा पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो परिवर्तन महिलाको सोचमा आएको बताइन् । उनले भनिन्, ‘पहिले धेरैजसो गर्भवतीले घरमै सुत्केरी गराउने योजना बनाउनुहुन्थ्यो । अस्पताल आउन डराउने, खर्च धेरै लाग्छ भन्ने सोच्ने र अन्तिम समयमा मात्रै ल्याइने अवस्था थियो । अहिले भने गर्भ रहेदेखि नै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा आउने, सुत्केरी हुने मिति नजिकिँदै जाँदा आफैँ वर्थिङ सेन्टरमा सम्पर्क गर्ने र सुरक्षित रूपमा स्वास्थ्य संस्थामै सुत्केरी गराउने चलन बढेको छ ।’

उनका अनुसार, स्वास्थ्यकर्मीले गाउँगाउँमा पुगेर गरेको परामर्श, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, परिवारको बढ्दो साथ र गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवाले समुदायको सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

‘सुत्केरी भनेको सामान्य घटनाजस्तो देखिए पनि कुनै पनि बेला जटिल अवस्था आउन सक्छ । त्यसैले प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा हुने प्रसूति नै आमा र शिशु दुवैका लागि सुरक्षित हुन्छ । अहिले हामीले आमाहरूको आत्मविश्वास बढेको देखेका छौँ । कतिपय महिलाले छिमेकी र आफन्तलाई पनि घरमा होइन, वर्थिङ सेन्टरमै सुत्केरी गराउन प्रेरित गरिरहनुभएको छ । यो परिवर्तन हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो,’ अनमी गुरुङले भनिन् ।

उनले अझै पनि दुर्गम बस्तीका केही परिवारमा पुराना मान्यता बाँकी रहेपनि स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति गराउँदा आमा र नवजात शिशुको ज्यान जोगिनुका साथै आकस्मिक जटिलताको तत्काल उपचार सम्भव हुने भएकाले सबै गर्भवती महिलालाई संस्थागत सुत्केरी रोज्न आग्रह गरिन् ।

कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा उदाहरणीय परिवर्तनतर्फ अघि बढिरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । स्थानीय सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मीको समर्पण र समुदायमा बढ्दो जनचेतनाले जोखिमपूर्ण घरायसी सुत्केरीलाई क्रमशः सुरक्षित संस्थागत सुत्केरीमा रूपान्तरण गरिरहेको उनको भनाइ छ ।

अध्यक्ष शाहले केही वर्षअघिसम्म प्रसूति सेवा लिन नेपालगन्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले गाउँमै गुणस्तरीय सेवा उपलब्ध हुनु ठूलो उपलब्धि भएको बताए ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १० : ४८ बजे

वर्षमाले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा