विश्व फुटबलमा आफ्नो नामलाई इतिहासकै सबैभन्दा ठूलो खेलाडीको सूचीमा स्थापित गरेका क्रिस्टियानो रोनाल्डो अब मैदानबाट बिदा हुने दिन नजिक पुगेका छन्। पोर्चुगलका ४१ वर्षीय सुपरस्टारले पहिलोपटक आफ्नो व्यावसायिक फुटबल करियरको अन्तिम चरणबारे स्पष्ट संकेत दिँदै ‘यो सायद मेरो फुटबलको अन्तिम वर्ष हो’ भनेका छन्। यससँगै रोनाल्डोको सन्न्यासलाई लिएर लामो समयदेखि चल्दै आएको अनुमानले नयाँ मोड लिएको छ।
भोग म्यागाजिनलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले आफूले फुटबलबाट बिदा लिएपछि के गर्ने भन्नेबारे समेत धेरै योजना तयार गरिसकेको खुलासा गरेका छन्। उनका अनुसार सन्न्यासपछि आउने खाली समय उनका लागि नयाँ अनुभव र गतिविधिले भरिनेछ। उनले आफूलाई व्यस्त राख्ने धेरै योजना रहेको भन्दै अहिले नै सबै कुरा सार्वजनिक गर्न भने कठिन हुने बताएका छन्।
‘शानदार विरासत छोड्न चाहन्छु’
आफ्नो करियरको अन्तिम वर्षबारे बोल्दै रोनाल्डोले भने, ‘यो सायद मेरो फुटबलको अन्तिम वर्ष हो र म एउटा शानदार विरासत छोड्न चाहन्छु।’ यो भनाइसँगै उनले आफ्नो करियरलाई केवल खेलबाट बिदा हुने घटनाका रूपमा नभई एउटा ठूलो विरासत छोड्ने अवसरका रूपमा हेरेको स्पष्ट हुन्छ। दुई दशकभन्दा लामो समय विश्व फुटबलमा राज गरेका रोनाल्डोले अब आफ्नो अन्तिम वर्षलाई विशेष बनाउन चाहेको देखिन्छ।

सन्न्यासपछि के गर्ने भन्नेबारे आफ्नो योजना पहिल्यै तयार रहेको पनि उनले बताए। उनका अनुसार फुटबलबाट बाहिरिएपछि जीवनमा अचानक आउने खालीपनलाई सही तरिकाले व्यवस्थापन गर्न आवश्यक हुन्छ। ‘फुटबलले जीवनमा ठूलो खाडल छोड्न सक्छ, त्यसैले आफ्नो समयलाई विभिन्न तरिकाले भर्नुपर्छ,’ रोनाल्डोले भनेका छन्। अब यात्रा गर्ने, प्याडल खेल्ने, खेलकुद तथा मनोरञ्जनका अन्य गतिविधिमा समय बिताउने र लामो फुटबल यात्राबाट कमाएको उपलब्धिको आनन्द लिने उनको योजना छ। उनले करिब २५ वर्षको त्याग, अनुशासन र निरन्तर मेहनतपछि अब आफूले हासिल गरेका उपलब्धिको आनन्द लिने समय आएको समेत बताएका छन्।
२०२७ सम्म अल नासरसँग सम्झौता
रोनाल्डोको सन्न्यासको संकेत आए पनि तत्कालै मैदानबाट बाहिरिने अवस्था भने स्पष्ट छैन। उनी हाल साउदी अरेबियाको क्लब अल नासरबाट खेलिरहेका छन् र उनीसँग सन् २०२७ सम्मको सम्झौता छ। तर, सम्झौता बाँकी हुँदाहुँदै उनले सन्न्यासको संकेत गर्नुले आगामी समय उनका लागि निर्णायक हुने देखिएको छ। उनले ठ्याक्कै कुन दिन वा कुन प्रतियोगितापछि फुटबलबाट बिदा लिने भन्नेबारे भने केही खुलाएका छैनन्।
हालै अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित विश्वकपमा पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपछि पनि रोनाल्डोको अन्तर्राष्ट्रिय करियर र समग्र फुटबल यात्रालाई लिएर विभिन्न अनुमान भइरहेका थिए। तर, उनले अहिलेसम्म सन्न्यासको औपचारिक मिति घोषणा गरेका छैनन्।
स्पोर्टिङदेखि रियल म्याड्रिडसम्मको अविश्वसनीय यात्रा
रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल यात्रा पोर्चुगलको स्पोर्टिङ सीपीबाट सुरु गरेका थिए। त्यसपछि उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसजस्ता विश्वका चर्चित क्लबबाट खेले। म्यानचेस्टर युनाइटेडमा आफ्नो प्रतिभाको विश्वव्यापी परिचय बनाएका रोनाल्डोले रियल म्याड्रिडमा भने आफूलाई फुटबल इतिहासकै महान् गोलकर्तामध्ये एकका रूपमा स्थापित गरे।

रियल म्याड्रिडका लागि उनले ४३८ खेलमा ४५० गोल गरेका थिए। क्लबका लागि छोटो समयमा यति ठूलो संख्यामा गोल गर्नु उनको करियरको सबैभन्दा प्रभावशाली कीर्तिमानीमध्ये एक हो। उनले ५ पटक प्रतिष्ठित बालोन डी’ओर जितेका छन्। व्यक्तिगत उपलब्धिसँगै क्लब र पोर्चुगलका लागि पनि उनले थुप्रै महत्वपूर्ण सफलता हात पारेका छन्। उनको गति, गोल गर्ने क्षमता, हेडिङ, फिटनेस र मैदानमा जितको भोकले उनलाई अन्य खेलाडीभन्दा फरक पहिचान दिएको छ।
अब परिवारसँग बिताउने समय
फुटबलपछि रोनाल्डोको प्राथमिकतामा आफ्नो परिवार पनि रहनेछ। लामो समयदेखि पार्टनरका रूपमा रहेकी जर्जिना रोड्रिगेजसँग उनले हालै पोर्चुगलको कास्काइसस्थित आफ्नै निवासमा निजी समारोहबीच विवाह गरेका छन्। रोनाल्डोका ५ सन्तान छन्- क्रिस्टियानो जुनियर, जुम्ल्याहा इभा र माटियो, अलाना मार्टिना तथा बेला एस्मेराल्डा। फुटबलमा आफ्नै विरासत निर्माण गरिरहेका उनका जेठा छोरा क्रिस्टियानो जुनियर पनि खेल क्षेत्रमा सक्रिय छन्।
यसले रोनाल्डोको जीवनमा अब अर्को अध्याय सुरु हुन लागेको संकेत गर्छ। मैदानमा वर्षौँ बिताएका उनले अब परिवार, यात्रा, खेलकुदका अन्य गतिविधि र व्यक्तिगत जीवनका लागि थप समय निकाल्ने योजना बनाएका छन्।

अन्तिम अध्याय कति लामो ?
रोनाल्डोले ‘सायद अन्तिम वर्ष’ भने पनि उनको प्रतिस्पर्धात्मक भावना हेर्दा उनी मैदानबाट कहिले औपचारिक रूपमा बिदा लिन्छन् भन्ने अझै खुला प्रश्न नै छ। अल नासरसँग २०२७ सम्म सम्झौता भए पनि उनले आफ्नो करियरको अन्तिम मिति तोकेका छैनन्।
एउटा कुरा भने स्पष्ट छ- विश्व फुटबलमा करिब २५ वर्ष बिताएका रोनाल्डो अब आफ्नो करियरको अन्तिम अध्यायतर्फ अघि बढिरहेका छन्। उनले मैदान छोड्ने दिन जति नजिकिँदै जानेछ, त्यति नै उनको विरासतबारे बहस पनि बढ्नेछ।
स्पोर्टिङ सीपीबाट सुरु भएको यात्रा म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टस हुँदै अल नासरसम्म आइपुगेको छ। ५ बालोन डी’ओर, सयौँ गोल र असंख्य कीर्तिमान बनाएका रोनाल्डो अब मैदानमा आफ्नो अन्तिम हस्ताक्षर कसरी गर्नेछन्? यही प्रश्न अहिले विश्व फुटबल समर्थकहरूको सबैभन्दा ठूलो चासो बनेको छ।













प्रतिक्रिया