‘सरकारले जनताको करबाट घाटाका उद्योग चलाउने होइन, निजी क्षेत्रलाई सघाउने हो’ « Khabarhub

‘सरकारले जनताको करबाट घाटाका उद्योग चलाउने होइन, निजी क्षेत्रलाई सघाउने हो’


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले सरकारले उद्योग सञ्चालन गर्नेभन्दा निजी क्षेत्रलाई लगानी र उद्योग सञ्चालनका लागि अनुकूल वातावरण बनाउनुपर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले सरकारले सडक, पुल, सुरुङमार्ग र विमानस्थलजस्ता पूर्वाधार निर्माण गरे पनि ती पूर्वाधारबाट नेपाली उत्पादन, उद्योग र रोजगारीको विस्तार हुन नसकेको बताए ।

‘हामीले सडक बनायौँ, पुल बनायौँ, सुरुङमार्ग बनायौँ, विमानस्थल बनायौँ । यी सबै पूर्वाधार हामीलाई आवश्यक छन् । तर यी पूर्वाधार हुँदै जाने क्षेत्रमा नेपाली उत्पादन कहाँ छ ? उद्योग कहाँ छ ? रोजगारी कहाँ छ ?’ उनले प्रश्न गरे ।

विकासलाई सिमेन्ट र डन्डीको प्रयोगसँग मात्रै जोडेर हेर्ने प्रवृत्ति बदल्नुपर्ने उनको भनाइ थियो । ‘हामीले विकासलाई यति धेरै सिमेन्ट र डन्डीमा नाप्न थाल्यौँ कि लाग्छ, देशको विकास भयो कि विकासको बिल मात्रै बढ्यो ?’ कार्कीले भने ।

उनले अब नेपालको विकासको प्राथमिकता परिवर्तन गर्नुपर्नेमा जोड दिए । सडकले उत्पादनलाई बजारसम्म पुर्‍याउने, सुरुङमार्गले व्यापारको लागत र समय घटाउने तथा विमानस्थलले पर्यटक, लगानी र व्यापार भित्र्याउने गरी पूर्वाधारको उपयोग हुनुपर्ने उनको भनाइ थियो ।

कार्कीले सरकारले उद्योग चलाउने नभई उद्योग सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताए । ‘सरकारको काम व्यापारी बन्ने होइन, व्यापार गर्ने वातावरण बनाउने हो । सरकारले कारखाना र मेसिन चलाउने होइन, नीति र कानुनको मेसिन चलाउने हो,’ उनले भने ।

निजी क्षेत्रलाई सुरक्षित वातावरणसहितको नीति बनाएर लगानीका लागि प्रोत्साहित गर्नु सरकारको जिम्मेवारी भएको उनले बताए । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्कीले निजी क्षेत्रलाई निरुत्साहित नभई उद्योग विस्तार र रोजगारी सिर्जनाका लागि प्रोत्साहित गर्नुपर्ने बताए ।

निजी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतभन्दा बढी योगदान गरेको बताउँदै उनले रोजगारी सिर्जनामा पनि यसको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।

‘अब निजी क्षेत्रलाई लखेट्ने होइन, उद्योग चलाएर रोजगारीको वातावरण बनाउन दिने हो । सरकारले निजी क्षेत्रलाई नाफा कमाउन दिनुपर्छ,’ उनले भने, ‘तर कर तिर्ने, रोजगारी सिर्जना गर्ने, गुणस्तरीय उत्पादन गर्ने र उपभोक्ताको अधिकार संरक्षण गर्ने गरी सरकारले बाध्यकारी कानुन बनाउनुपर्छ । सरकारको भूमिका जहिले पनि अभिभावकीय हुनुपर्छ।’

बन्द उद्योगका विषयमा पनि सरकारले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने कार्कीले बताए । वर्षौँसम्म घाटामा उद्योग सञ्चालन गरेर जनताको कर खर्च गर्नु समाधान नभएको उनको भनाइ थियो ।

सम्भावना भएका उद्योगको व्यावसायिक मूल्याङ्कन गरी पारदर्शी रूपमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने र प्रतिस्पर्धामा सक्षम देखिएकालाई त्यस्ता उद्योग सञ्चालन गर्न दिनुपर्ने उनले बताए ।

‘घाटा सरकारले व्यहोर्दै लामो समय उद्योग चलाउनु हुँदैन । सरकार आफैँ आलुको चिप्स उद्योग खोल्न जाने होइन, निजी क्षेत्रका लागि वातावरण बनाउने हो,’ कार्कीले भने ।

सरकारले आवश्यक वातावरण निर्माण गरिदिए निजी क्षेत्र अहिले पनि लगानी गर्न तयार रहेको उनको दाबी थियो ।

‘हामी सरकार उद्योगको मालिक होइन, उद्योगको संरक्षक र सहजकर्ता बनोस् भन्ने चाहन्छौँ,’ उनले भने, ‘सरकारले सबै काम गर्न खोज्यो भने एक दिन त्यो सरकार थाक्छ । निजी क्षेत्रलाई जिम्मेवार बनाएर अर्थतन्त्र जाग्छ।’

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १२ : ३२ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ