इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त « Khabarhub

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरलाई फिफाले बर्खास्त गरेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद व्यावसायिक योजनाको कडा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामोरलाई जिम्मेवारीबाट हटाइएको हो ।

बीबीसी स्पोर्टका अनुसार फिफाले सोमबार लामोरसँगको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ । फिफाका प्रवक्ताले लामोरले दुई वर्ष गरेको सेवाका लागि धन्यवाद दिँदै उनको आगामी भविष्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सोमबार साँझ कर्मचारीलाई पठाएको इमेलमा फिफा र लामोर ‘अलग हुने सहमतिमा पुगेको’ जानकारी दिएका थिए ।

लामोरले गत महिना इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए । उनले उक्त योजना ‘एक व्यक्तिको परियोजना’ भएको टिप्पणी गर्दै फुटबलका राजनीतिक नेतृत्वले सही प्रश्न सोध्ने र सही निर्णय गर्ने समय आएको बताएका थिए ।

उनले अहिले रोकिएको उक्त योजनाबारे फिफाको प्रशासन नै ‘छलिएको’ दाबीसमेत गरेका थिए ।

‘हाम्रो उद्देश्य, फिफाका सयौँ समर्पित र उत्कृष्ट कर्मचारीको उद्देश्य, फुटबलको सेवा गर्नु हो,’ लामोरले भनेका थिए, ‘अध्यक्षले मानिसहरूलाई एकताबद्ध गर्न र प्रेरित गर्नुपर्छ । अहिले हामी यसको ठीक विपरीत अनुभव गरिरहेका छौँ।’

आफू फिफाप्रति जिम्मेवार रहे पनि केही मूल्य र सहकर्मीप्रतिको समर्थनप्रति पनि आफ्नो दायित्व रहेको लामोरले बताएका थिए । ‘यदि त्यसको अर्थ मैले जागिर गुमाउनुपर्छ भने पनि त्यही होस्,’ उनले भनेका थिए ।

लामोरले सन् २०२४ को नोभेम्बरमा फिफामा प्रवेश गरेका थिए । यसअघि उनी यूईएफएका उपमहासचिवका रूपमा कार्यरत थिए । उनी इन्फान्टिनोभन्दा दुई तह तलको व्यवस्थापकीय जिम्मेवारीमा थिए ।

यसै महिनाको सुरुवातमा मोरक्कोमा भएको एक बैठकमा फिफाका वरिष्ठ अधिकारीहरूले इन्फान्टिनोलाई समर्थन जनाएका थिए । तर उक्त बैठकमा लामोरलाई बोलाइएको थिएन ।

के थियो इन्फान्टिनोको योजना ?

इन्फान्टिनोले फिफाका सबै प्रतियोगिता, विश्वकपसहित, को व्यावसायिक तथा टिकट बिक्री अधिकार व्यवस्थापन गर्न ‘फिफा फर्वार्ड इन्टरप्राइज’ नामको नयाँ कम्पनी स्थापना गर्ने योजना अघि सारेका थिए ।

उक्त कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने प्रस्ताव आएपछि योजनाको व्यापक आलोचना भएको थियो । त्यसपछि फिफाले उक्त योजना स्थगित गरेको थियो ।

यूईएफए, उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल नियामक संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) ले योजनाको सार्वजनिक रूपमा विरोध गरेका थिए । यूईएफएले योजना अघि बढे विश्वकप बहिष्कार गर्ने चेतावनीसमेत दिएको थियो ।

योजनाको विरोधकै क्रममा इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले पनि राजीनामा दिएका थिए ।

योजना रोकिएपछि यूईएफए र कन्काकाफले आगामी मार्चमा हुने फिफा कांग्रेसमा चौथो कार्यकालका लागि इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गरेका छन् । यद्यपि अफ्रिका, दक्षिण अमेरिका र ओसिनियाका फुटबल महासंघहरूले इन्फान्टिनोलाई समर्थन गरेका छन् ।

सोमबार स्कटल्यान्ड फुटबल संघले पनि इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गरेको छ । यसअघि इंग्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र आयरल्यान्डले पनि उनको समर्थन फिर्ता लिइसकेका छन् ।

फुटबल सुशासनसम्बन्धी संस्था फेयरस्क्वायरले इन्फान्टिनोलाई पुनः अध्यक्षमा उम्मेदवार बन्न नदिन फिफालाई आग्रह गर्दै पत्रसमेत पठाएको जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १ : १४ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन