धनगढी- सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा मंगलबारदेखि पदमुक्त भएका छन्। लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा बिनासूचना अनुपस्थित देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरे।
यससँगगै अब उनी प्रदेशसभा सदस्य रहेनन्। उक्त निर्णयबारे सभामुख भीमबहादुर भण्डारीले बुधबारको प्रदेशसभा बैठकमा जानकारी गराउने तयारी छ ।
उनी गत वर्ष भदौ २८ गते जेन-जी आन्दोलनपछि अमेरिका पसेका थिए। स्वास्थ्यमा समस्या देखिएको भन्दै अमेरिकामै बसेका उनी ११ महिना बित्दा पनि फर्किएका छैनन्।
छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाएर आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको बताएका थिए ।
निको भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता जनाएको चार महिनामा पनि उनी फर्किएनन् । यो अवस्थामा भण्डारीले संविधानको धारा १८० (घ) मा प्रदेशसभा सदस्य सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने सूचना बैठकमा सुनाउनेछन् ।
प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनमा बसेका २५ वटा बैठकमध्ये देउवा आठवटा बैठकमा मात्रै उपस्थित भए । त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उपस्थित भएनन्। पछिल्ला २७ वटा बैठकमा उनको हाजिरी छैन ।
सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा १२८ बैठक बसेका छन्। तीमध्ये देउवा ६० वटा बैठकमा उनी उपस्थित थिए ।
खगराज जोगाउने उपाय
आखिर अचानक किन खाली गरियो त कांग्रेसका प्रदेश सभा सदस्य देउवाको पद ? यसको भित्री कथा त्यहाँको नयाँ सत्ता समीकरणसँग जोडिएको छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा संसदीय दलका नेता खगराज भट्टले साउन २९ मा शपथ लिए । उनले यही बुधबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि आवश्यक निर्णय गर्न नेकपा संसदीय दलको बैठक बसिसकेको छ।
उक्त बैठकमा हाल नेकपामै समाहित तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सात जना प्रदेश सभा सदस्य उपस्थित हुनुपर्ने हो । तर नेकपामा समाति सातमध्ये पूर्वमन्त्री कैलाश चौधरी एकजना मात्रै प्रदेशसभा सदस्य दलको बैठकमा सहभागी भए ।
तर मंगलबारको यो बैठकमा नेकपा प्रमुख सचेतक खुसीराम चौधरी, प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी, लक्ष्मण चौधरी, टीका थापा र पूर्वराज्यमन्त्री इन्दिरा गिरी आएनन् ।
उनीहरू नआएपछि खगराजलाई बहुमत जुटाउन कठिन भएको छ। यो कठिनाइ चिर्ने उपाय नेकपाबाटै सभामुख भएका भीमबहादुर भण्डारीमार्फत् निकालिएको हो ।
कांग्रेसका प्रदेश सभा सदस्य देउवालाई पदमुक्त गरेपछि प्रदेशसभामा बहुमत जुटाउन सजिलो बनाइएको छ। नेकपाका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले आफ्नो पार्टीका सबै प्रदेश सभा सदस्य विश्वासको मत दिन आउने बताए । तर नाउपाबाट नेकपामा आएका ६ प्रदेश सभा सदस्यले भट्टको पक्षमा नउभिने जनाउ मंगलबार नै दिइसकेका छन्।
मंगलबार नेकपा संसदीय दलको बैठकअघि ती ६ सांसदले अलग्गै बसेर सामूहिक तस्बिर खिचे । जसलाई सामाजिक सञ्जालमा हालेर आफूहरू एक ठाउँ रहेको सन्देश दिए । उता नेकपा बैठकमा तत्कालीन नाउपाबाट प्रदेशसभा सदस्य रहेका पूर्वमन्त्री चौधरी मात्रै देखिए ।
नेकपाले बुधबार मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिन संसदीय दलको बैठकले निर्णय गरी सांसदहरूलाई ह्विप जारी गर्ने तयारी छ। तर मंगलबार एकै ठाउँमा उभिएका ६ जना नेकपा सांसदले के गर्छन् भन्ने टुंगो छैन। उनीहरू ६ जनालाई उनीहरूको विचार माग्न सम्पर्क गर्दा कोही पनि कुरा गर्न तयार भएनन् ।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। यसअघि त्यहाँ नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरिनेछ ।
अंकगणितको खेल
अहिले सुदूरपश्चिभ प्रदेश सभा ५३ सदस्यीय रहेको छ। यहाँ पूर्वमुख्यमन्त्रीसमेत रहेका दीर्घ सोडारी निलम्बनमा छन् । उनको संख्या गणना भए पनि मुख्यमन्त्रीलाई विश्वासको मतका लागि भोट हाल्न पाउँदैनन्।
ताराप्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय सांसद बनेका उक्त पद खाली छ। मंगलबारदेखि नै कांग्रेसका प्रकाश देउवाको सिट पनि खाली गरिएको निर्णयमा सभामुख भण्डारीले हस्ताक्षर गरेका छन्। उनको पद खाली भएको जानकारी उनले बुधबारको बैठकमा दिनेछन्।
तर नेपाली कांग्रेसकी सांसद सरस्वती खड्काले देउवाको पद रिक्त गरिएको जानकारी आफूहरूलाई नभएको बताइन् । ‘म अहिले काठमाडौंमा छु। यसबारेमा कुनै किसिमको जानकारी छैन । देउवाको पद खाली राख्नेबारेमा हाम्रो दलको बैठकमा कुनै कुरा पनि भएको छैन’, उनले भनिन्, ‘हामीले छलफल नै गर्न नपाई सभामुखले एक्कासि कसरी देउवाको पद खाली भएको निर्णय गर्नुभयो होला र ? कम्तीमा हामीले दलको बैठकमा एक पटक छलफल गर्न पाएका छैनौँ।’
अंकगणितको कुरा गर्दा जोशीसँगै देउवाको पनि पद खाली भएको मान्ने हो भने अब त्यहाँ मत हाल्न नपाउने सोडारीसहित बाँकी सांसद ५१ जनाए भए । यस्तोमा अब त्यहाँ बहुमतका लागि २६ जना सांसद चाहिन्छ । बहुमत जुटाउने प्रक्रियालाई सहज बनाउनैका लागि देउवाको पद पनि यही बेला खाली गर्ने निर्णय भएको हो ।
खगराजलाई पूर्वनागरिक उन्मुक्तिका ६ जना सांसदले विश्वासको मत दिनेमा नेकपा विश्वस्त छ । यदि उनीहरूले नदिएको अवस्थाका लागि ट्रयाक टु चालका रुपमा प्रकाश देउवाको पद खाली गरिएको हो । जुन निर्णयलाई कांग्रेसले संसद्देखि अदालतसम्म चुनौती दिन पनि सक्छ ।
प्रदेशसभामा २६ जनाको बहुमत कायम गर्ने गरी प्रकाश देउवालाई हटाइँदा खड्काले यसबारे पार्टीमा छलफल गर्नै बाँकी रहेको बताइन्। अहिले प्रदेशसभामा एमाले र नेकपा ११/११ जना सांसद रहेका छन्। तर नेकपाका भीम भण्डारी सभामुख रहेकाले उनले मत दिन नपाउँदा नेकपाको संख्या १० मात्रै हुन्छ। यस्तोमा पूर्वएकीकृत समाजवादीका तीनजना जोड्दा २४ जना पुग्छ ।
यहाँ नेकपा एमालेबाट उपसभामुख कोइलीदेवी चौधरीले भोट हाल्न पाउँछिन् । पूर्वनागरिक उन्मुक्तिका एकजना कैलाश चौधरीको संख्या जोड्दा २५ हुन्छ। अब खगराजलाई बहुमतका लागि अझै एक सिट चाहिन्छ। त्यसका लागि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीकी खिमा विष्टलाई तान्ने कोसिस भएको छ।
तर राप्रपाले केन्द्रबाट सत्ताको कुनै पनि खेलमा नलाग्ने निर्ण गरेको छ। खगराजले खिमा तानेपछि नागरिक उन्मुक्तिबाट नेकपा आएर भोट नदिने पक्षमा देखिएका ६ सांसदबाट केहीलाई तान्नुपर्ने हुन्छ। त्यसका लागि अहिलेबाटै नेकपा र एमालेका नेताहरू लागिरहेका छन्।
यदि बुधबार भट्टको पक्षमा बहुमत जुट्ने अवस्था नभएमा एक महिना समय भएकाले विश्वासको मतलाई पछाडि धकेल्ने योजनामा एमाले र नेकपा छन्। तर प्रकाश देउवाको पद हटाएको विषयले कांग्रेस विरोधमा उत्रिएमा खगराजको मुख्यमन्त्री यात्रा जटिलतातिर जाने सम्भावना बलियो देखिएको छ। नेकपा नेता अक्कल रावले आफूहरूसँग एक महिनाको समय भएकालले बहुमत नपुग्ने अवस्था मिति सार्न सकिने बताएका छन्।












प्रतिक्रिया