काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता श्रमिकहरूको सम्झनामा काठमाडौँको वसन्तपुरमा दीप प्रज्वलन गरेको छ।
गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीमा परी ज्यान गुमाएका नागरिकको आत्माको शान्तिको कामना तथा बेपत्ता श्रमिकहरूको सम्झनामा जिफन्टले शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा जिफन्टका पदाधिकारी, श्रमिक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दिवंगत नागरिकको सम्झनामा दीप प्रज्वलन गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।
जिफन्टका महासचिव लक्ष्मण शर्माले बाढी तथा विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता श्रमिकहरूको खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरे।
उनले विपत्तिबाट प्रभावित परिवारको उचित व्यवस्थापन, राहत तथा पुनः स्थापनाका लागि राज्यका सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

























प्रतिक्रिया