नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै « Khabarhub

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भनी पुराणलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाताको पूजा गरिएको थियो । छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजा आराधना गरियो । सातौँ दिन शनिबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । यसैदिन दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो ।

आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । नवरात्रको सातौँ दिनपछि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ५ : ५२ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट