वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीबीचको विवाद चुलिँदै गएका बेला अमेरिकी प्रशासनले रुसमाथि लगाइने भनिएका कैयौँ प्रतिबन्ध रोकिदिएको छ ।
अमेरिकी संसद्बाट पारित भई लागू हुने तयारीमा रहेका ती प्रतिबन्ध ट्रम्पले कार्यान्वयन हुनुभन्दा दुई दिनअघि शुक्रबार कार्यकारी आदेशमार्फत निलम्बन गरेका हुन् ।
राष्ट्रिय हितलाई ध्यानमा राखेर प्रतिबन्ध तत्कालका लागि स्थगित गरिएको ट्रम्पको दाबी छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्व अर्थतन्त्र र अमेरिकी बजारमा पर्ने प्रभावको अध्ययन गर्न ६० दिनका लागि प्रतिबन्ध रोकिएको स्पष्ट पारेका छन् । संसद्ले गत सेप्टेम्बरमा पारित गरेको उक्त कानुनमा रुसी तेल र ग्यास खरिद गर्ने मुलुकहरू (विशेषगरी चीन र भारत) माथि १०० प्रतिशतसम्म भन्सार महसुल लगाउने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत उच्च अधिकारी तथा वित्तीय संस्थामाथि कडा प्रतिबन्ध लगाउने व्यवस्था थियो ।
ट्रम्पको यो कदमप्रति युक्रेनी राष्ट्रपति जेलेन्स्कीले तीव्र असन्तुष्टि जनाएका छन् । अमेरिकाले प्रतिबन्धलाई ‘पूर्ण रूपमा उपेक्षा’ गरेको भन्दै यसले रुसी आक्रामकतातर्फ मद्दत पुग्ने उनले बताएका छन् । रुसले भने ट्रम्पको निर्णयलाई स्वागत गर्दै यसलाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।
यसैबीच, अमेरिकी संसद्का डेमोक्रेटका साथै ट्रम्पकै रिपब्लिकन पार्टीका प्रभावशाली नेताहरूले समेत यस कदमको विरोध गरेका छन् । रिपब्लिकन सेनेटर टेड क्रुज, जोन कर्निन र थम टिलिसले रुसमाथिको प्रतिबन्ध हटाउनु गम्भीर भूल भएको र यसले मस्कोलाई थप प्रोत्साहन मिल्ने प्रतिक्रिया दिएका छन् ।
अमेरिकाले हालै रुसी डिजेल आयात गर्ने सम्झौता गरेपछि वासिङ्टन र किभबीचको सम्बन्धमा चिसोपन आएको थियो । त्यसयता दुई देशका नेताहरूबीच अभिव्यक्ति युद्ध नै चलेको छ ।
युक्रेनमाथि रुसी आक्रमण जारी छ । जापोरिजियालगायत १५ भन्दा बढी ऊर्जा संरचनामा रुसले पछिल्ला दिनहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । जाडोयाम सुरु हुनै लाग्दा रुसले देशभर विद्युत् ठप्प पार्न खोजेको युक्रेनको आरोप छ ।














प्रतिक्रिया