डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा शनिबार भक्तजनको ठूलो घुइँचो लागेको छ। डडेलधुरा सदरमुकामबाट चार किलोमिटर उत्तरतर्फ अवस्थित मन्दिरमा अष्टमी मेला भर्न र पूजाअर्चना गर्न सुदूरपश्चिमका नौवटै जिल्लाका साथै अन्य क्षेत्रबाट समेत दर्शनार्थीहरू पुगेका छन्।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार महाअष्टमीका दिन मन्दिरमा विशेष पूजाआजासहित राँगा र बोकाको बलि दिने परम्परा छ। विजयादशमीका दिन पनि यहाँ भव्य पूजाआजा हुने गर्छ।
सुदूरपश्चिमका नौ भगवती मन्दिरमध्ये एक मानिने यो मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्व उच्च रहेको छ। किंवदन्तीअनुसार करिब २ हजार ५०० वर्षअघि अमरगढी नगरपालिका–८ लटाउली गाउँका साँकी जातिका किसानले बारी जोत्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवीको उत्पत्ति भएको विश्वास गरिन्छ। त्यस समयदेखि महागौरी, दुर्गा र कालीको स्वरूपमा उग्रताराको पूजा गरिँदै आएको छ। हाल पनि लटाउलीका साँकी र भट्ट जातिका पण्डितहरू नै मन्दिरका पुजारी रहेका छन्।
डाँडामाथिको विशाल फाँटमा अवस्थित यस मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन ‘देउजात’ नामले चिनिने प्रसिद्ध ठूलो मेला तथा महापूजासमेत आयोजना हुने गर्छ।














प्रतिक्रिया