म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले ७ लाख ८३ हजारभन्दा बढी सहयोग गरेका छन् ।
अस्ट्रेलियामा रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा रहेका जलजला गाउँपालिकाका बासिन्दा आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले ७ लाख ८३ हजार ३५८ रुपैयाँ ५० पैसा सहयोग गरेको हो ।
अस्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा सङ्कलित उक्त रकम गाउँपालिकाको विपद् कोषमा जम्मा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सहयोग रकम बाढीपहिरोबाट क्षति पुगेका निजी आवास तथा भौतिक पूर्वाधारको पुनर्निर्माणमा परिचालन गरिनेछ ।
अध्यक्ष आचार्यले विपद्का बेला सहयोग गर्ने प्रवासी नेपालीप्रति आभार व्यक्त गरे ।
गाउँपालिकाका अनुसार बाढीपहिरोबाट जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । थप १४० घर जोखिममा रहेको विवरण सङ्कलन गरिएको छ । फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ र पालसीङ बढी प्रभावित भएका छन् । नदी तथा खोलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिमसमेत बढेको छ ।
गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले प्रभावित परिवारको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताए ।
‘तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा निर्माण गरी बसोबासको व्यवस्था मिलाउने योजना छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।’
उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी आयोजना, सिँचाइ संरचना र विद्यालय भवनको पुनर्निर्माण गर्नुपर्नेछ । जोखिममा रहेका बस्तीको संरक्षण तथा बाढीपहिरो नियन्त्रणका लागि आवश्यक स्रोत जुटाउन सङ्घीय र प्रदेश सरकार, दातृ निकाय तथा अन्य दातासँग समन्वय भइरहेको उनले बताए ।














प्रतिक्रिया