काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्न थालेको छ ।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन घर फर्किन थालेपछि सडकमा चहलपहलसमेत कम हुँदै गएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन् । विशेषगरी असोज २५ गतेदेखि ३० गतेसम्म उपत्यका छाड्ने यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

दसैँका लागि यात्रु बाहिरिने क्रम बढेसँगै उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा यात्रुको चाप घट्न थालेको छ । मध्यम तथा लामो दूरीका सवारीसाधनलाई रुट परमिट खुला गरिएपछि स्थानीय रुटमा सञ्चालन हुने कतिपय सवारीसाधनसमेत रिजर्भमा यात्रु लिएर उपत्यकाबाहिर जान थालेका छन् ।
दसैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या बढ्दै जाँदा राजधानीका सडकमा सवारी चाप कम हुँदै गएको छ ।



























प्रतिक्रिया