भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ । विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् ।
सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो । विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म माटाका भाँडाको प्रयोग अधिक हुन्थ्यो ।
यस्ता भाँडा गाउँघरको मौलिक परम्परा र पहिचानका रुपमा पनि थिए । अहिले ती भाडाको स्थानमा प्लास्टिक, स्टिललगायतका भाँडाले लिन थालेका छन् ।
अरुण गाउँपालिका–७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा यो परम्परागत पेसा सङ्कटमा परेको हो । माटाका सामग्री बनाउन माटो छनोट गर्ने, त्यसलाई मुछ्ने, आवश्यक आकार दिने र प्रयोगयोग्य बनाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ ।
यसका लागि सीप, अनुभव र समय आवश्यक पर्ने भएकाले पनि नयाँ पुस्ता यस पेसातर्फ आकर्षित हुन नसकेको उनको बुझाइ छ । रामप्रसादराई गाउँपालिका–८ बासी रुपमान श्रेष्ठ माटाका सामग्रीको प्रयोग घट्दै जाँदा तिनलाई बनाउने सीप र त्यससँग जोडिएको मौलिक संस्कृति पनि हराउने जोखिम बढेको बताउँछन् ।
स्थानीयस्तरमा सीप सिकाउदै परम्परागत सामग्रीको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराएर यसको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ ।














प्रतिक्रिया