दोलखा– जिल्लाको शैलुङ गाउँपालिकामा अर्बौं रुपैयाँको कृषि उत्पादन हुने गरे पनि किसानको उत्पादन सुरक्षित भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको कोल्डस्टोर पाँच वर्षदेखि प्रयोगविहीन अवस्थामा छ ।
संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको करिब ७ करोड रुपैयाँ लगानीमा शैलुङ गाउँपालिका–३ मा निर्माण गरिएको जिल्लाकै ठूलो कोल्डस्टोर सञ्चालनमा आउन नसक्दा संरचना अलपत्र बनेको हो ।
स्थानीय किसानले उत्पादन गर्ने आलु, तरकारी तथा फलफूल सुरक्षित भण्डारण गरी बेमौसममा समेत उचित मूल्यमा बिक्री गर्न सकून् भन्ने उद्देश्यले तत्कालीन स्थानीय सरकारले उक्त कोल्डस्टोर निर्माण गरेको थियो ।
तर, निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनको व्यवस्था हुन नसक्दा किसानले त्यसबाट कुनै लाभ लिन सकेका छैनन्।
शैलुङ गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीका अनुसार गाउँपालिकाले अघिल्लो वर्ष र गत वर्ष पनि कोल्डस्टोर सञ्चालनका लागि ठेक्का आह्वान गरेको थियो ।
तर, कुनै पनि व्यवसायीले सञ्चालनको जिम्मा लिन इच्छा नदेखाएपछि कोल्डस्टोर सञ्चालनमा आउन नसकेको हो। उनका अनुसार यो वर्ष पनि ठेक्का प्रक्रियामार्फत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
करोडौंको कृषि उत्पादन हुने शैलुङका किसान अझै भण्डारण सुविधाबाट वञ्चित
कृषि उत्पादनका हिसाबले शैलुङ दोलखा जिल्लाकै प्रमुख क्षेत्र मानिन्छ । यहाँका किसानले उत्पादन गर्ने आलु तथा विभिन्न तरकारी वार्षिक करिब एक अर्ब रुपैयाँ बराबरको काठमाडौंलगायतका बजारमा निर्यात हुने गरेको गाउँपालिकाको तथ्यांक छ ।
त्यस्तै, किबी, सुन्तला तथा अन्य फलफूलबाट समेत वार्षिक ६० करोड रुपैयाँभन्दा बढीको उत्पादन हुने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ।
यति ठूलो परिमाणमा कृषि उत्पादन हुने क्षेत्रमा भण्डारण सुविधा नहुँदा किसानले उत्पादन गरेको वस्तु तत्कालै बजारमा पठाउनुपर्ने बाध्यता छ ।
विशेषगरी आलु तथा मौसमी तरकारी उत्पादन गर्ने किसानले बजार मूल्य घटेका बेला पनि उत्पादन बिक्री गर्नुपर्ने अवस्था छ । कोल्डस्टोर सञ्चालनमा आएको भए किसानले उत्पादन सुरक्षित राखेर बजारको माग र मूल्यअनुसार बिक्री गर्न सक्ने अपेक्षा गरिएको थियो ।
तीन सय मेट्रिकटन क्षमताको उक्त कोल्डस्टोर प्रयोगविहीन हुँदा गाउँपालिकालाई आर्थिक भारसमेत थपिएको छ । गाउँपालिकाका अनुसार भवनको रेखदेखका लागि दुई जना कर्मचारी राखिएको छ । उनीहरूको पारिश्रमिक, विद्युत् महसुललगायत खर्चका कारण गाउँपालिकाले मासिक करिब ७० हजार रुपैयाँ व्यहोर्दै आएको छ ।
कोल्डस्टोरमा प्रयोग नभए पनि विद्युत्को मात्रै मासिक १५ देखि २० हजार रुपैयाँसम्म महसुल तिर्नुपर्ने अवस्था रहेको छ ‘गाउँपालिका आफैंले कोल्डस्टोर सञ्चालन गर्न सक्ने अवस्था छैन ।
ठेक्का आह्वान गर्दा पनि व्यवसायीले चासो देखाउँदैनन्,’ उपाध्यक्ष कार्कीले भनिन्, ‘अघिल्लो स्थानीय सरकारले अपायक स्थानमा संरचना निर्माण गरेकाले पनि सञ्चालनका लागि ठेक्का लाग्न नसकेको हुन सक्छ। यस वर्ष पुनः ठेक्का लगाउने तयारीमा छौँ।’
कृषि उत्पादनलाई व्यावसायिक बनाउँदै किसानको आम्दानी बढाउने लक्ष्यसहित निर्माण गरिएको संरचना प्रयोगमा नआउँदा अहिले किसानसमेत निराश छन् । उत्पादन बढाउने अभियानसँगै उत्पादित वस्तुको उचित मूल्य, बजार व्यवस्थापन र भण्डारणको व्यवस्था हुनुपर्ने किसानको अपेक्षा छ ।
७ करोडको पूर्वाधार संरचना लेउ र झारपातले घेरिँदा
करिब ७ करोड रुपैयाँको लागतमा निर्माण गरिएको शैलुङ कोल्डस्टोर अहिले प्रयोगविहीन बन्दा उपेक्षित संरचनाका रूपमा परिणत भएको छ ।
कोल्डस्टोर परिसर झारपातले भरिएको छ भने भवनको भित्री तथा बाहिरी भागमा लेउ जमेर जीर्ण र उजाड देखिएको छ । किसानको कृषि उपज सुरक्षित भण्डारण गर्ने दूरगामी उद्देश्यसहित निर्माण गरिएको महत्त्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदा राज्यको ठूलो लगानी उपयोगविहीन बन्दै गएको छ ।
शैलुङमा वार्षिक अर्बौंको कृषि उत्पादन भइरहँदा करोडौँ लगानीको कोल्डस्टोर सञ्चालनमा नआउनुले कृषि पूर्वाधार निर्माणसँगै त्यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ । सुवाश बस्नेत /दोलखा














प्रतिक्रिया