बागलुङ- बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान भएको पालिका घोषित भएको छ ।
भूमि समस्या समाधान समितिले देशभरका पाँच स्थानीय तहलाई सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्यामुक्त घोषणा गरेकामा जैमिनी नगरपालिका पनि परेको हो ।
समितिले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार समस्यामुक्त घोषित अन्य स्थानीय तहमा डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन् ।
जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्बासी परिवारलाई घडेरी खरिद तथा घर निर्माणका लागि प्रतिपरिवार तीन लाख रुपैयाँका दरले कुल ५४ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
उक्त सहयोगबाट ती परिवारले लालपुर्जासहित घर प्राप्त गरेपछि नगरपालिकामा सुकुम्बासी समस्या नरहेको विवरण समितिमा पठाइएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
नगरपालिकाले सुकुम्बासी परिवारको व्यवस्थापन गरेपछि समस्या समाधान भएको विवरणका आधारमा समितिले जैमिनीलाई समस्यामुक्त पालिका घोषणा गरेको हो ।














प्रतिक्रिया