कास्की– कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेका छन्। विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाएका हुन् ।
विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपरेको अनुभवले उनलाई स्वदेशमै केही गर्ने प्रेरणा मिल्यो । अहिले परिवारसँगै बसेर आफ्नै पेसा गर्न पाउँदा उनी सन्तुष्ट छन्। उनको गोठमा अहिले १६ वटा भैँसी छन् । तीमध्ये पाँचवटा दुहुना छन् ।
क्षेत्रीले दूध बिक्री गर्नुको सट्टा दही जमाएर मोही पार्ने र घ्यू उत्पादन गरी बिक्री गर्दै आएका छन् । पाँच दिनको दूधबाट चार लिटर घ्यू उत्पादन हुने उनले बताए। उत्पादित घ्यू प्रतिलिटर रु एक हजार ५०० मा बिक्री हुन्छ।
उनले उत्पादन गरेको घ्यू सिदिङमा मात्र नभई मर्दी हिमाल पदयात्रा मार्गका लो क्याम्प र फरेष्ट क्याम्पसम्म पुर्याएर पर्यटकलाई पनि बिक्री गर्छन्। पदयात्रामा आउने पर्यटकसम्म स्थानीय उत्पादन पुर्याउन सकेपछि बजारको समस्या नरहेको उनको अनुभव छ ।
भैँसीपालनका लागि उनले स्थानीय चरन क्षेत्रको उपयोग गर्दै आएका छन्। दूध दिने भैँसीलाई गोठमा बाँधेर राख्ने र दूध दिन छाडेका भैँसीलाई लेकतिर चराउन लैजाने गरेका छन् । सिदिङदेखि कालीमाटीमाथिको लेकसम्म भैँसी चराउन लैजाँदा घाँस, दाना र परालको खर्च कम हुने उनी बताउँछन्।
‘दूध दिने भैँसीलाई गोठमै बाँध्ने हो, दूध दिन छाडेकालाई लेकतिर चराउन लैजाने हो । यसबाट घाँस, दाना र परालको खर्च कम हुन्छ,’ उनले भने।
घ्यू उत्पादनसँगै क्षेत्रीले राँगा तथा भैँसीको खरिदबिक्री पनि गर्दै आएका छन् । राम्रो दूध दिने भैँसीको मूल्य रु एक लाखसम्म पर्ने उनले बताए। घ्यू र भैँसीको बिक्रीबाट घरखर्च कटाएर वार्षिक करिब रु तीन लाख बचत हुने गरेको उनको भनाइ छ ।
भैँसीपालनमा परिवारको साथ र सहयोगले व्यवसायलाई निरन्तरता दिन सहज भएको उनी बताउँछन्। उनले छोरीलाई स्नातक तहसम्म अध्ययन गराएका छन्। छोरी अहिले जापानमा छन् भने दुई छोरा कक्षा ९ मा अध्ययनरत छन् ।
विदेशमा आर्जन गरेको अनुभव र मेहनत आफ्नै गाउँमा उपयोग गर्न सके आम्दानीका लागि विदेश नै जानुपर्ने बाध्यता नहुने उनको अनुभव छ । गाउँको लेकाली वातावरणमा पशुपालन गर्दै परिवारसँगै बस्न पाउँदा आफू सन्तुष्ट रहेको उनी बताउँछन्।














प्रतिक्रिया