काठमाडौँ– आज कुष्माण्ड नवमी अर्थात् अक्षय नवमी विभिन्न धार्मिक विधिअनुसार मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल नवमीका दिन मनाइने यस पर्वलाई अमला नवमी र धातृ नवमी पनि भनिन्छ ।
धार्मिक मान्यताअनुसार आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको वृक्षमा निवास गर्छन्। त्यसैले आज अमलाको बोटसँगै भगवान् विष्णुको विशेष पूजा आराधना गर्ने परम्परा छ ।
धर्मशास्त्रअनुसार यस दिन अमलाको वृक्षको पूजा गरी अन्नलगायत वस्तु दान गर्दा अक्षय फल प्राप्त हुने विश्वास गरिन्छ । साथै अमला र पीपलको विवाह गरिदिँदा पुण्य प्राप्त हुने र त्यसको फल जन्मान्तरसम्म कायम रहने धार्मिक जनविश्वास छ ।
पद्मपुराणमा उल्लेख भएअनुसार कार्तिक शुक्ल नवमीका दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गर्नुभएको धार्मिक कथन छ । उक्त दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएकाले यस दिन कुभिन्डो दान गर्ने परम्परा रहेको मानिन्छ ।
यस दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा तथा तामाको भाँडोमा तिल राखेर दान गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।














प्रतिक्रिया