काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत गण्डकी प्रदेशको पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा बुझाएको तीनमहिने कार्यप्रगति विवरणमा पीएन क्याम्पसलाई स्वायत्त संस्थाका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख गरेको हो ।
राष्ट्रिय शिक्षा नीति, २०७६ को उच्च शिक्षासम्बन्धी खण्डको प्रकरण १०.१४.६ मा त्रिभुवन विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी सङ्ख्याका कारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीमा चुस्तता र गुणस्तर कायम गर्न विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति लिइएको छ ।
सोही नीतिअनुसार त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना र दृष्टिकोणलाई कार्यान्वयन गर्ने क्रममा पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने गृहकार्य अघि बढाइएको आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष प्रा.डा. खड्कबहादुर केसीका अनुसार क्याम्पसलाई स्वायत्त संस्थामा रूपान्तरण गर्दा शैक्षिक तथा प्रशासनिक सेवा प्रवाह विकेन्द्रीकरण गर्ने, पाठ्यक्रम विकासमा संस्थागत स्वायत्तता बढाउने तथा परीक्षा र नतिजा प्रकाशन प्रणालीलाई सरल र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
यसका लागि अनुसन्धान र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोत, प्रशासनिक संरचना तथा कानुनी व्यवस्थाको मूल्याङ्कन गरी कार्ययोजना तयार गर्ने प्रक्रिया अघि बढिसकेको आयोगले जनाएको छ ।
पीएन क्याम्पस स्वायत्ततासहित आफैँ उपाधि प्रदान गर्न सक्ने संस्थाका रूपमा रूपान्तरण भएमा शैक्षिक तथा प्रशासनिक निर्णय प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ । यसबाट गण्डकी प्रदेशको उच्च शिक्षा सुधार तथा त्रिभुवन विश्वविद्यालयको प्रशासनिक विकेन्द्रीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।














प्रतिक्रिया