काठमाडौँ – नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदैछ । भेलाको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौँको थापाथली हाइटस्थित कार्की ब्यांक्वेट पुगिसकेका छन् ।
भेलामा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू कार्की ब्यांक्वेटमा जुटिरहेका छन् । आयोजकका अनुसार भेलामा ३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदैछन् । अहिले सहभागीहरूको हाजिरी तथा परिचयपत्र वितरण भइरहेको छ ।
भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचस्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठको उपस्थिति रहेको छ । विजयलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका भाइ हुन् ।
राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिन तथा आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्ने उद्देश्यले एमालेले राष्ट्रिय भेला आयोजना गरेको हो । पार्टीका स्थानीय कमिटीदेखि केन्द्रीय कमिटीसम्मका नेता, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराइएको यो पहिलो भेला भएको एमालेले जनाएको छ ।
भेलामा २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । साथै पार्टीको आगामी राजनीतिक कार्यदिशा, स्थानीय तह निर्वाचनको तयारी र पार्टीको राजनीतिक लाइनमा एकरूपता कायम गर्ने विषयमा प्रशिक्षण तथा छलफल हुने कार्यक्रम छ ।
गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरूपता ल्याउने तथा पार्टीले गर्नुपर्ने १५ कामको जिम्मेवारी र कार्यसम्पादनबारे पनि भेलामा छलफल हुनेछ ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद एवं स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी छन् ।














प्रतिक्रिया