काठमाडौँ – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत नागार्जुन जंगलमा रातो राजपंखी लोखर्के देखिएको छ । सामान्यतया रातको समयमा सक्रिय रहने यो लोखर्के दिउँसो बुढो रूखको खोक्रोबाट टाउको निकालेर बाहिर चियाउँदै गरेको अवस्थामा देखिएको हो ।
रातो खैरो रङको शरीर र लामो पुच्छर हुने यो लोखर्के उड्ने लोखर्केमध्ये ठूलो प्रजातिमा पर्छ । यद्यपि यसले चराले जस्तै पखेटा फट्फटाएर उड्न भने सक्दैन । अगाडि र पछाडिका खुट्टाबीच रहेको छालाको झिल्ली फैलाएर एक रूखबाट अर्को रूखसम्म हावामा तैरिँदै पुग्ने गर्छ ।

अधिकांश समय रूखमै बिताउने यो लोखर्के रातको अँध्यारोमा बढी सक्रिय हुन्छ । त्यसैले जंगलमा यसको उपस्थिति सहजै देख्न सकिँदैन । दिउँसो देखिनु यसको दुर्लभ दृश्य मानिन्छ ।
यसको मुख्य आहारा रूखका पात, कलिला पालुवा, फलफूल, फूल, बीउ तथा बोक्रा हुन् । वनस्पतिका विभिन्न भाग खाएर बाँच्ने यो लोखर्के आफैँ पनि अन्य सिकारी जनावरको आहारा बन्ने गर्छ ।

वनको खाद्य शृङ्खलाको एक महत्त्वपूर्ण हिस्सा रहेको रातो राजपंखी लोखर्केले वनको पारिस्थितिक सन्तुलन कायम राख्न भूमिका खेल्छ । यसको उपस्थिति वनको जैविक विविधताको एउटा उदाहरणसमेत हो ।

















प्रतिक्रिया