काठमाडौं– नेकपा एमालेका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि राष्ट्रिय सहमति कायम गर्न सुझाव दिएका छन् ।
बुधबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले उच्चस्तरीय भ्रमणमा जानुअघि आन्तरिक रूपमा सर्वपक्षीय छलफल गरेर जाँदा भारतको उच्च तहमा नेपालले साझा धारणा बनाएर आएको सकारात्मक सन्देश जाने समेत बताए ।
उनले जेन–जी आन्दोलन, त्यसपछिका गतिविधि र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई तिहाइको सरकार बनेको परिवर्तित राजनीतिक अवस्थालाई भारतले नजिकबाट नियालिरहेको उल्लेख गरे ।
रास्वपा नेतृत्वको नयाँ सरकारले भारतसँग कस्ता विषय अघि बढाउन खोजेको हो भन्नेमा भारतीय पक्षको चासो रहेको भन्दै भट्टराईले प्रधानमन्त्री र अर्थमन्त्रीको अभिव्यक्तिले कूटनीतिक संवेदनशीलता नदेखिएको तर्क गरे ।
नेपालको तराईमा भारतका कारण हुने डुबान समस्या र असमान सन्धि–सम्झौता पुनरावलोकनका विषयमा रास्वपा सरकारको धारणा अझै स्पष्ट नभएको उनले बताए ।
भट्टराईले भोटेकोशी बाढीजस्ता प्राकृतिक विपद्पछिको पुनर्निर्माणका लागि पनि भारतबाट सहयोग जुटाउन प्रधानमन्त्रीको भ्रमणमा पहल गर्नुपर्ने सुझाव दिए ।














प्रतिक्रिया