काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनलाई ज्यान मार्ने धम्की दिइएको छ । लरेन्स बिश्नोई समूहसँग नजिक मानिने गोल्डी ढिल्लनले सामाजिक सञ्जालमार्फत दुवैलाई निशाना बनाउने चेतावनी दिएका हुन् ।
सोमबार फेसबुकमा पोस्ट गर्दै ढिल्लनले अमिताभ र अभिषेकलाई जतिसुकै कडा सुरक्षा दिए पनि आफूहरूले उनीहरूलाई मार्न सक्ने दाबी गरेका छन् । उनले बुलेटप्रुफ सिसा र सुरक्षित केबिनले समेत बच्चन परिवारलाई जोगाउन नसक्ने भन्दै धम्की दिएका छन् ।
ढिल्लनले आफ्नो पोस्टमा सन् १९८४ को सिखविरोधी दंगाको विषयसमेत उठाएका छन्। उक्त दंगामा दोषी ठहरिएका कसैलाई पनि नछाड्ने चेतावनी दिँदै उनीहरू जुनसुकै देशमा लुकेर बसे पनि खोजेर पत्ता लगाउने दाबी गरेका छन् ।
उनको यो अभिव्यक्तिले बलिउडमा सुरक्षा चिन्ता बढाएको छ । विशेषगरी सार्वजनिक जीवनमा सक्रिय रहने अमिताभ र अभिषेकलाई लक्षित गरेर यस्तो धम्की आउनुलाई गम्भीर रूपमा हेरिएको छ ।
यद्यपि, सामाजिक सञ्जालमा गरिएको उक्त धम्कीको सुरक्षा निकायले कसरी मूल्यांकन गरेको छ र बच्चन परिवारको सुरक्षामा कुनै थप व्यवस्था गरिएको छ वा छैन भन्नेबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन ।














प्रतिक्रिया