काठमाडौं– विलासी जीवनशैली, ग्ल्यामर र प्रेमका रमाइला उतारचढावले दर्शकको ध्यान खिचेको वेब सिरिज ‘कल मी बे’ फेरि फर्किने भएको छ ।
अभिनेत्री अनन्या पाण्डे अभिनीत सिरिजको दोस्रो सिजनको प्रदर्शन मिति सार्वजनिक भएसँगै यसपटक अभिनेत्री श्रुति हासनको प्रवेशले पनि चर्चा पाएको छ ।
प्राइम भिडियोले मंगलबार सार्वजनिक गरेको जानकारीअनुसार सिरिजको दोस्रो सिजन आगामी डिसेम्बर १७ (पुस २ गते) देखि विश्वभर स्ट्रिमिङ हुनेछ । आठ एपिसोडमा तयार पारिएको नयाँ सिजनमा पहिलो भागकै हास्य, ग्ल्यामर, प्रेम र मित्रताको स्वादलाई निरन्तरता दिइनेछ ।
कोलिन डी’कुन्हाको निर्देशनमा बनेको सिरिजमा अनन्या फेरि बेला ‘बे’ चौधरीकै भूमिकामा देखिनेछिन् । उनीसँगै श्रुति हासन, वीर दास, गुरफतेह पीरजादा, वरुण सूद, विहान समत, मुस्कान जाफरीलगायत कलाकारको अभिनय रहनेछ ।
पहिलो सिजनमा आफ्नो विलासी जीवनबाट बाहिरिएर नयाँ पहिचान बनाउन संघर्ष गरेकी बे दोस्रो सिजनमा करिअरको नयाँ उचाइतर्फ अघि बढेकी छन्। तर, उनको व्यावसायिक सफलतासँगै व्यक्तिगत जीवनमा भने नयाँ समस्या थपिनेछ ।
यसपटक उनी दुई प्रेमीबीचको भावनात्मक द्वन्द्वमा फस्नेछिन् । प्रेममा आउने उतारचढाव, आफ्नै गलत निर्णय र मित्रतामा देखिने चुनौतीसँग जुध्दै उनले जीवनलाई कसरी अघि बढाउँछिन् भन्ने कथा नयाँ सिजनमा देखाइनेछ ।
निर्माता करण जौहरले पहिलो सिजनलाई दर्शकले दिएको मायाले दोस्रो सिजन निर्माणका लागि हौसला मिलेको बताएका छन् । धर्माटिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिरिजमा करण जौहर, अदार पूनावाला र अपूर्व मेहता निर्माता छन् ।














प्रतिक्रिया