काठमाडौं– अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीको प्रेम, विवाह र त्यसपछि आउने सम्बन्धको उतारचढावलाई समेट्दै फिल्म ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक टिजरले फिल्म प्रेमकथामा मात्र सीमित नभई धोका, विछोड र पीडाको कथा पनि रहेको संकेत गर्छ।
परम्परागत संस्कृति र गाउँले परिवेशको झल्कोसहित सुरु हुने टिजरमा विजय र अञ्जनाबीचको प्रेम र वैवाहिक जीवनका खुसीका क्षण देखाइएको छ।
तर, उनीहरूको जीवनमा विनोद न्यौपानेको प्रवेशसँगै कथाले नयाँ मोड लिन्छ। त्यसपछि प्रेम र खुसीको माहोल विस्तारै तनाव, धोका र वियोगमा बदलिन्छ। टिजरको अन्त्यतिर विजय र अञ्जनाका भावनात्मक तथा पीडादायी दृश्यले दर्शकमा फिल्मको कथाबारे थप कौतूहल जगाउँछन्।
सरोज पौडेलको निर्देशनमा बनेको फिल्ममा विजय र अञ्जनासँगै कमलमणि नेपाल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ।
‘पूर्णबहादुरको सारंगी’पछि विजय र अञ्जनाले दोस्रोपटक एकसाथ काम गरेका हुन्। सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेलले नै तयार पारेका हुन्।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन्। फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, पदमबहादुर श्रेष्ठको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
गाउँले परिवेश, मौलिक संस्कृति र मानवीय सम्बन्धका विभिन्न पाटोलाई समेटेको ‘सिन्दुरे जात्रा’ आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।














प्रतिक्रिया