काठमाडाैँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघ (चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज) का अध्यक्ष याङ वानमिङले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल र चीनबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै उनले नेपाल ‘एक चीन नीति’ प्रति दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याएको बताउँदै अर्यालले शिक्षा, पर्यटन, संस्कृति, सूचना प्रविधि, कृषि तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे । उनले स्थानीय तह र चिनियाँ प्रान्तबीच भगिनी सम्बन्ध विस्तार, सांसद तथा युवा नेतृत्वको आदानप्रदानका साथै जलवायु परिवर्तन र हिमाली पारिस्थितिक प्रणाली संरक्षणमा सहकार्य आवश्यक रहेको बताए । विपद्का समयमा चीनले पुर्याउँदै आएको सहयोगप्रति उनले आभारसमेत व्यक्त गरे ।
सो अवसरमा चिनियाँ जनसंघका अध्यक्ष वानमिङले दुई देशबीचको परम्परागत मित्रता र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन आफ्नो संस्थाले निरन्तर भूमिका निर्वाह गर्ने बताए । उनले स्थानीय तह र समुदायबीच भगिनी सम्बन्ध तथा आपसी आदानप्रदानका कार्यक्रम विस्तार गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया