संयुक्त राष्ट्रसंघ – खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा आन्तरिक विस्थापन बढ्दै गएको छ । यसले देशको मानवीय संकटसमेत थप गहिरो बनाएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले जनाएको छ ।
ओसीएचएका अनुसार सोमालियाभर हाल ३३ लाखभन्दा बढी मानिस विस्थापित अवस्थामा छन्। विस्थापित हुनेमा अधिकांश महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायको तथ्याङ्क उद्धृत गर्दै कार्यालयले सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म मात्रै आठ लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएको जनाएको छ । तीमध्ये करिब ७० प्रतिशत मानिस खडेरीका कारण विस्थापित भएका हुन् ।
यसैबीच, एल निनोको प्रभावसँग सम्बन्धित सम्भावित बाढीका कारण आगामी डिसेम्बरसम्म थप लाखौँ मानिस विस्थापित हुन सक्ने चेतावनी दिइएको छ । गत महिना मात्रै बाढीका कारण १७ हजार पाँच सयभन्दा बढी मानिस विस्थापित भएका थिए भने एक लाख ७० हजारभन्दा बढी प्रभावित भएका थिए ।
त्यस्तै, बे र बारी क्षेत्रमा भएको हिंसाका कारण सेप्टेम्बर र अक्टोबरमा करिब नौ हजार पाँच सय मानिस विस्थापित भएको ओसीएचएले जनाएको छ । विस्थापनले विशेषगरी महिला, बालिका, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अल्पसङ्ख्यक समुदायलाई हिंसा, शोषण र दुव्र्यवहारको जोखिममा पारेको कार्यालयको भनाइ छ ।
अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)का अनुसार दक्षिण पश्चिम सङ्घीय राज्यअन्तर्गतका बे र बाकुल क्षेत्र खाद्य असुरक्षाबाट सबैभन्दा बढी प्रभावित छन् । मार्चदेखि बढेको सशस्त्र द्वन्द्वले खडेरीबाट प्रभावित समुदायको अवस्था थप कठिन बनाएको छ ।
खाद्यान्न अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच तथा सहायता कटौतीका कारण स्वास्थ्य केन्द्रहरू बन्द भइरहेका बेला सम्भावित वर्षाले प्रभावित परिवारको समस्या थप जटिल बनाउन सक्ने आईसीआरसीले जनाएको छ ।
ओसीएचएका अनुसार आर्थिक अभावका कारण खाद्य सहायता प्राप्त गर्ने मानिसको सङ्ख्या जनवरीमा ११ लाख रहेकामा जुनसम्म घटेर करिब छ लाखमा सीमित भएको छ । यस वर्ष आर्थिक स्रोतको अभावमा २३३ पोषण केन्द्र र ३८० स्वास्थ्य संस्थाले सेवा बन्द गरेका वा घटाएका छन् । सोमालियाको मानवीय सहायता योजनाका लागि आवश्यक ८५२ मिलियन अमेरिकी डलरमध्ये हालसम्म ३६ प्रतिशत रकम मात्र जुटेको छ ।














प्रतिक्रिया