निसीखोलामा पुतली नाचको रौनक « Khabarhub

निसीखोलामा पुतली नाचको रौनक


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ । यो नाच हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ । भल्कोटमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ ।

बाइसेचौबीसे राजाको पालादेखि नाचिँदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ । वर्षमा एकपटकमात्रै नाचिने यो नाच एक दशक अगाडिसम्म चर्चामा थिएन । तर पछिल्लो समय बागलुङमै चर्चित छ ।

विभिन्न कपडा पहिरिएर पुतलीजस्तै बनेका व्यक्ति नाच्ने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएर बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् ।

भल्कोट गाउँबाहेक अन्य कुनै पनि ठाउँमा यो नाच नाचेको पाइँदैन । बाइसेचौबीसे राज्यका सञ्चालनका समयमा राजा रानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नाच्न थालेका बूढाकापा बताउँछन् । स्थानीय नैनासिंह बुढामगरले माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाइएको र ३ गते नाच नाचिएको बताए ।

अघिल्लो दिन राजा, रानी र धाइमा गरी तीनवटा कपडाको पुतली बनाउने र बालक, युवा र वृद्धहरू पुतलीको पहिरन पहिरिएर बाजाको तालमा नाच्ने उनको भनाइ छ ।

पुतली नाच धेरै वर्ष पुरानो भए पनि अहिलेसम्म गाउँमा कुनै पनि दस्तावेज नभेटिएको बुढामगरले बताए । यो नाच भल्कोट गाउँमाथिको जौ बारीमा नाच्दै पुग्ने र उक्त ठाउँमा बन्दुक पड्काउने, पुलतीलाई डोलामा डुलाउने, नाच्ने र साँझ परेपछि निसीखोलामा पु¥याएर विर्सजन गर्ने उनको भनाइ छ ।

‘पुतली नाच धेरै वर्ष पुरानो हो, हामीनै बुढो भइयो, सानो हुँदादेखि नै नाच्दै आएको, हाम्रो अग्रज पुर्खाहरूले जोगाउँदै आएको संस्कृतिलाई हामीले पनि बचाउँदै आयौँ’, बुढामगरले भने, ‘यसको लामो कहानी छ, सयौँ वर्ष अगाडि धेरै राज्य थिए, त्यसमध्ये भल्कोटमा पनि एउटा राज्य सञ्चालन भएको भन्ने बूढापाकाले भन्ने गर्थे, उनीहरूले जे सिकाए हामीले पनि त्यही सिक्यौँ र अहिलेका युवालाई पनि त्यही नै सिकाइरहेका छौँ ।’

माघ ३ गते बिहानदेखि साँझसम्म पुतलीजस्तै बनेका व्यक्ति नाच्छन् । उनीहरूले फेटा, शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन् । पुतलीजस्तै बनेका उनीहरु दिनभर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । पुतली नाचसँगै माघ ३ गते भालुको पित्त देखाउने गरिन्छ । दिनैभरि पुतलीजस्तै बनेर नाच्ने व्यक्तिको बीचमा कापै खेल्ने १०–१२ युवाको टोली हुन्छ । उनीहरूले डम्फु, घाँडोलगायत थोत्रा भाँडा बजाउने गर्छन् ।

पुराना थाङ्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन् । उनीहरूमध्ये एक जनालाई पुरानो घुम (भेडाको रौबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई उनीहरूले भालु भन्छन् । कापै खेल्नेहरूले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्दिने गर्छन् भने बेलाबेलामा उत्तानो पारेर देखाइदिनेसमेत गर्छन् । त्यसरी यौनाङ्गा देखाउनेलाई स्थानीयले ‘भालुको पित्त’ भन्ने गरेका छन् ।

देख्दा अवास्भाविक जस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको चलन हो । कापै खेल्नेहरूले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर… लगायत सुन्न पनि अत्यन्तै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लील शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय ८२ वर्षीया भागी घर्तीमगरले बताए ।

घर्तीमगरले भने, ‘यो मेला त धेरै अचम्मको छ, पुतली नाच्दाको दिन त मुखमा आएको सबै बोल्छन्, खरानी छर्छन्, यसरी मनमर्जी बोल्दा र भालुको पित्त देखाउँदा देवता खुसी हुन्छन् भन्ने मान्यता छ, पहिलापहिलाको तुलनामा त अहिले केही कम भएको छ, मान्छे शिक्षित भए, लजाउन थाले, त्यही भएर पनि विस्तारै कम हुँदै गएको छ ।’

पुतली नाचसँगै पट्टा नाचसमेत नाच्ने गरिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्न र आफू बच्न खोज्छन् ।

अध्यक्ष्य घर्तीमगरले देशभरमा यस्ता मौलिक संस्कृति कमै भटिने हुँदा संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर स्थानीयलाई प्रेरित गरिरहेको बताए । बालकदेखि युवाले सबैले नाच्नका लागि रुचि देखाउने हुँदा संरक्षणका लागि कुनै समस्या नभएको उनको भनाइ छ ।

एक दशक अगाडिसम्म भल्कोट क्षेत्रमा मात्र सीमित रहेको यो नाचको पछिल्लो समय प्रचारप्रसार हुँदा हेर्न आउनेको आकर्षण बढेको अध्यक्ष घर्तीमगरले बताए । (रासस)

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ८ : ३४ बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा